राजाको गीतले एसकेको टाउको टनटनी

राजाको गीतले एसकेको टाउको टनटनी

गत हप्ता जनआस्थामा प्रकाशित ‘खोरमा जानुअघि राजाको गीत’ शीर्षक मेरो लेखले धेरै पाठकमा रहेको ‘राजा’ भ्रम हट्यो । केहीले फोनमा भने, ‘सही लेख्नुभयो, आजको युगमा लोकतन्त्रको विकल्प अझ जनआधारित लोकतन्त्र हो ।’ पोखरा घर भई आरआर क्याम्पसमा मानविकी शास्त्रअन्तर्गत एमएमा पढ्ने प्रकाश आचार्यको ठम्याइ थियो, ‘राजतन्त्रको वकालत गर्नेहरू प्रतिगामी नोकर नै हुन् ।’ उनलाई मेरो लेख ‘ट्वाक्कै अमिलो, पिरो मिलेको’ लाग्यो ।

यद्यपि, केहीलाई त्यो लेखले ओठमुख सुकाएको अनुभूति भयो । केहीले मप्रति छुट्टै धारणा पनि बनाए । भीडको पछाडि लागेर होहो गर्ने खास लेखक र विश्लेषक हुन सक्दैन । धेरैलाई ‘स्वाद लाग्ने’ कुरा केहीलाई चर्काे वा ‘खरो’ पनि हुन सक्छ । राजनीति र सामाजिक विश्लेषणका कुरा विज्ञान वा हिसाबजस्तो दुई दुई जोड्दा चार हुन्छ भन्ने जस्तो पनि हुँदैन । भीड, हुल वा युट्युबरले बोल्यो वा लेख्यो भन्दैमा ‘वाहियात’ कुराको पछाडि लेखक र विचारक लाग्दैन, लाग्नुहुँदैन ।

‘बानेश्वरमा राजा ल्याउने’ भन्दै केही मान्छेले जुलुस लगाएपछि मैले तत्काल त्यो लेख लेखेको थिएँ । बानेश्वरको पेटीमा बसेर अधिवक्ता एवं विश्लेषक एस.के. तिमिल्सिनाले मेरो सो लेखबारे तत्कालै प्रतिक्रिया दिए, ‘बानेश्वरमा कति मानिसको भीड छ, तपाइँ कहाँ हुनुहुन्छ ?’ प्रश्न थियो, ‘के यही पाराले गणतान्त्रिक संविधान रहन सक्छ ?’ मैलै उहाँजस्तो बुद्धिजीवीलाई धेरै सम्झाउनुपर्ने भन्दा पनि प्रष्ट कुराचाहिँ किटानी गरेँ, ‘राजतन्त्र भनेको पेजर हो, जो हामीले पहिल्यै फालिसक्यौँ, अब हामीसँग आधुनिक मोबाइल छ ।’

उहाँले अझै मलाई धेरै खालका राजनीतिक–संवैधानिक सवाल राख्नुभयो । मैले भनें, ‘राजतन्त्रको युग नै समाप्त भयो ।’ तिमिल्सिनासँग लामो कुराकानी भयो । उहाँको अर्काे तर्क थियो–‘२०६२/०६३ सालको जस्तै जुलुसले गणतन्त्रको विरोध गरे के हुन्छ ?’ अर्थात् उहाँको आशय ‘जुलुसले ल्याएको गणतन्त्र फेरि जुलुसबाटै सकिन्छ’ भन्ने थियो । म हाँसें मात्र ।

२०६२ सालको जस्तै १९ दिन वा त्योभन्दा बढी समय सडकमा विरोध भए गणतन्त्र के हुन्छ ? संविधानसभाद्वारा निर्मित संविधानको भविश्य के हुन्छ ? के संविधान खारेज हुन्छ ? फेरि कसले, कस्तो संविधान बनाउँछ ? प्रश्न धेरै छन् ।

प्राचीन किराँत काल ९२७ वर्ष चल्यो । त्यहाँ पनि राजाहरूकै शासनकाल रह्यो । लिच्छवि काल, मल्ल काल, शाह काल, राणाकाल, छोटो प्रजातान्त्रिक काल, पञ्चायतकालदेखि ०४७ सालको संविधानपछिका २०६२ साल अघिसम्मका काल र शासन अवधिमा नेपालमा शासनको केन्द्रमा को थियो ? पूरै राजैराजा । त्यस अवधिमा नेपालमा के भयो ? नेपालको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत पक्षमा के–कति सुधार र परिवर्तन भए ?

राजा २०६२ सालको आन्दोलनबाट गएको भए पनि इतिहासदेखि नै राजतन्त्रको नेपाली समाज र राजनीतिक शक्तिले तीव्र विरोध गर्दै आएको देखिन्छ । संवैधानिक र कानुनी दृष्टिले पनि अब अगाडि बढ्ने युग हो । संविधानको धारा २७४ मा संशोधनको प्रावधान छ । जसमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिताजस्ता कुरा परिवर्तन गर्नै नसकिने भनिएको छ । संविधान बच्चाले लगाएको भोटो र जामा होइन । संसदको दुई तिहाईले पनि ‘बेसिक स्ट्रक्चर’ भत्काएर संविधान संशोधन गर्नै सक्दैन । राजावादीले संसदमा दुई तिहाई जिते (केवल कल्पना मात्र) पनि राजा र राजतन्त्र फर्कंदैन ।

समाज भनेको गतिशील हुन्छ, प्रगतिशील हुन्छ । अगाडि जाने हुन्छ । समाज, विकास र परिवर्तन पछाडि फर्कंदैन । पहाडमा समेत हलोको ठाउँमा ट्रयाक्टर आइसकेको बेला फेरि राजा ल्याउनु भनेको प्रतिगामी हड्बडाहट मात्र हो । एस.के. तिमिल्सिनाजस्ता बुद्धिजीवीको टाउको जति नै टनटन गरे पनि गणतन्त्रको विकल्प अझ समावेशी, समृद्ध र उन्नत गणतन्त्र मात्र हो । अब राजतन्त्र र राजाको वकालत गरेर समय फाल्ने कामले तिनलाई समेत परनिर्भर र दास मात्र बनाउने प्रष्टै छ ।

टिप्पणीहरू