सबै इमान्दार भैदिए धेरैथोक हुनसक्छ

अहिले बजारमा राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समिकरणमा परिवर्तन आउने दाबी गर्नेहरू धेरै देखिएका छन् । यो चुनाव कटे पनि जेठ १५ को बजेट नकट्ने हल्लासमेत उत्तिकै छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले साना पार्टीलाई दरकिनार गरेर दुई ठूला पार्टीको संयुक्त सरकार निर्माण गर्ने समाचारहरू आएका छन् । यसले अहिलेको ८ दलीय गठबन्धनमाथि निकै दबाब सिर्जना भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव जसोतसो सम्पन्न होला । त्यसपछि सरकारले लिनुपर्ने विश्वासको मतको बेलामा यही गठबन्धन कायम हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेको छ । यस्तो बेला माओवादी केन्द्रका नेता प्रचण्डविरुद्ध दर्ता गरिएको मुद्दा कसरी पार लगाउने र सरकार गठनको प्रक्रिया के कस्तो हुने भन्ने विषयहरू पनि जटिल बन्दैछ । यसैगरी संवैधानिक नियुक्तिहरूको जटिलता र मुख्यमन्त्रीहरूको हेरफेरका विषय पनि पेचिलो बन्न सक्ने अवस्था छ । 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सम्पन्न गर्नु पर्ने कामको सूचीमा यिनै विषयहरूले प्राथमिकता पाउने निश्चित छ । र, आठ दलीय गठनबन्धनका कुनै एक दलले पनि सहमति तोडेको अवस्थामा गठबन्धनप्रतिको विश्वासमा दल र तिनका नेता मात्रै होइन नागरिकहरूको विश्वास पनि टुट्न जाने सम्भावना प्रवल छ । एमालेको सत्ता बहिर्गमन भएर कांग्रेसले सत्तासाझेदारी गर्ने अहिलेको अवस्था कायम भएमा त खासै समस्या नहोला ।

नयाँ अवस्था सिर्जना भयो भने सरकार संकटमा फस्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यस्तो अवस्थाबाट जोगाउने दायित्व गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसकैं हुन्छ । कांग्रेसले अति लोभ गर्दा र वचनप्रति इमान्दार नहुँदा एमालेको स्वभाविक चलखेल सफल भएकै हो । त्यसो त दलहरूबीचको सहकार्यले प्रधानअन्तरविरोध र प्रधानशत्रु जस्ता वामपन्थीले रटिरहने सैद्धान्तिक प्रश्नहरू गौण बन्न पुगेका छन् । कांग्रेस र कम्युनिष्टबीचको अन्तर पनि देखिन छाडेको छ ।

नेपाली कांग्रेसले अन्य दललाई उपयोग गर्दै लैजाने र आपूmलाई मात्रै सुढृढ बनाउने रणनीति जारी राख्यो भने यो गठबन्धनको आयु दुई वर्षभन्दा बढी जाने छेकछन्द देखिँदैन । कांग्रेस उदार बनेको अवस्थामा भने यही गठबन्धनले निरन्तरता पाउने निश्चित छ । किनभने गठबन्धनभित्र रहेका अन्य साना दलहरू कांग्रेसको नीति र कार्यशैलीमैं गठबन्धन निर्भर रहने वा नरहने ठहरमा देखिन्छन् । तसर्थ मुलुकमा राजनीतिक स्थायित्व र गठबन्धनप्रतिको बढ्दो वितृष्णालाई रोक्न सबै राजनीतिक दल इमान्दार हुनुको विकल्प छैन । 

गठबन्धनका नाममा अनेक गठबन्धन र कित्ताकाट वा विरोधका नाममा पटके विरोधले व्यवस्थाप्रति वितृष्णा मात्रै बढाउँछ । देश विकास हुनै पाउँदैन । यसर्थ रचनात्मक सुझाव, विरोध, सहकार्य नै प्रजातन्त्रको सुन्दर गहना हो । नेताहरु र दलहरु यस्ता कुरामा इमान्दार भइदिए त्यो जस्तो रामे कुरा अरु हुनै सक्दैन ।

 

टिप्पणीहरू