केही पनि भएन भनेर सराप्ने काम मात्रै नगरौं
अहिले पुराना दल र उमेर खाएका नेताले केही काम गर्न सकेनन् भन्ने भाष्य खडा गर्न जोडदार प्रयत्न भइरहेको छ । युवावस्थादेखि नै राजनीतिमा लागेका, देशको निम्ति ज्यान बलिदान दिन तत्पर भएकाहरूविरुद्ध नियोजित रूपमैं नयाँ पुस्तालाई भड्काउने प्रयास भइरहेको छ । आजसम्म पनि राजनीतिबाहेक दायाँबायाँ अर्थोक केही नगरेका, त्यसैमा समर्पित नेतालाईसमेत मुठ्ठीभर भ्रष्ट नेतासँगै राखेर खुइल्याउने प्रयत्न भइरहेको छ ।
हाम्रो देश जलस्रोतमा धनी छ । झण्डै डेढ लाख हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने अवस्था छ । नेपालले ठूल्ठूला परियोजना आफैं निर्माण गर्न सक्दैन भन्ने प्रचार विगतमा चलाइएको थियो । डा. रामशरण महतजस्ता नेताले यस्ता ठूला परियोजना विदेशी सहयोग र लगानीमा सञ्चालन गरिनुपर्छ भन्थे । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली पूँजी परिचालन गरी आफ्नै बलबुतामा ठुल्ठूला जलविद्युत आयोजना सञ्चालन गर्न सक्षम छन् भन्ने देखाए । चन्द्रागिरीमा केबलकार बनाउन उनैले सहजीकरण गरे ।
केपी ओलीले कर्मचारी सञ्चय कोष, सैनिक कल्याणकारी कोषलगायत विभिन्न संघसंस्थामा बचत रहेका, सही सदुपयोग हुन नसकेका रकमहरूलाई जलविद्युत आयोजना सञ्चालनका निम्ति लगानी गर्ने वातावरण ०४८ पछि तयार भएको हो । हाइड्रोपावरमा इन्जिनियरिङ गरेका नेपाली प्राविधिकहरू जस्तोसुकै जलविद्युत परियोजना निर्माण गर्न सक्षम छन् भन्ने कुरा सावित गर्न तामाकोशी जलविद्युत् परियोजना शुरु गर्ने यिनै पुराना नेता थिए । खाडी मुलुकले पेट्रोल, डिजेललगायत खनिजमा आधारित इन्धनको आपूर्ति गरी आफ्नो देशलाई सम्पन्न बनाएजस्तै जलविद्युत क्षमताको पूर्ण उपयोग गरी नेपाललाई आर्थिक सम्पन्नतातर्फ अघि बढाउन सकिन्छ भन्ने मान्यता स्थापित गरिएको बहुदलकालमै हो । बंगलादेशका प्रधानमन्त्रीले २५ हजार मेगावाटको लागि लगानी गर्ने र उत्पादित बिजुली किन्ने प्रस्ताव गरेका थिए । यसैगरी भारतका विभिन्न राज्यले पनि नेपाली बिजुलीको माग गरेका थिए । अहिले बल्ल बंगलादेशलाई ४० मेगावाट बेच्न सकिएको छ ।
काम केही हुँदै नभएको होइन तर जुन गतिमा जलविद्युत क्षेत्रको विकास हुनुपथ्र्यो, त्यो कुरामा पक्कै कमी भएको छ । यस्तो हुनुका पछि भ्रष्टाचार, कमिशन र बिचौलियाहरूको खेललाई नजरअन्दाज गर्न मिल्दैन । नेताले जनताका लागि केही गरेनन् भन्नेहरूले ‘जनता आवास’ कार्यक्रमतर्फ नजर लगाउँदा त्यो कुरा गलत सावित हुनेछ । घर नभएका हजारौं गरीव र दलितको निम्ति घरहरू सरकारले बनाइदिएको छ । केही नगरेको भन्ने दावी सही होइन भन्ने स्पष्ट देखिन्छ ।
नेपालमा घरबारविहिनहरु छन्, उनीहरूका लागि गाँस, बास र कपास जुटाउने कुरामा सरकार गम्भीर बन्न सकेको छैन । त्यसमाथि स्रोत र साधनको पनि अभाव छ । यसका लागि सिपयुक्त जनशक्ति आवश्यक पर्छ । तर घर नै नभएका दलितहरूको लागि तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थसचिव रामेश्वर खनालका पालामा जनता आवास कार्यक्रम शुरु भएको थियो । सप्तरी, सिराहा र कपिलवस्तु गरी तीन जिल्लामा पाइलट प्रोजेक्टका रूपमा शुरु भएको यो कार्यक्रमअन्तर्गत दलित र गरीवहरूका लागि एक एक हजार घर हस्तान्तरण भए । त्यसपछि लगातार यो कार्यक्रम देशभर लागु गरिएको छ । माधव नेपालकै पालामा युवा रोजगार कोष स्थापना गर्नुका साथै सीप सिकाउनेदेखि ऋण सहयोग उपलब्ध गराउने कामको शुरुवात भएका थिए । युवाहरूलाई उत्पादनमा जोड्ने काम त्यही बेला थालियो । उनकै पालामा सन् २०१० लाई पर्यटन वर्ष घोषणा गर्दै भिजिट नेपालजस्ता महत्वपूर्ण कार्यक्रमहरू थालिए । विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ, लुम्बिनी, बौद्ध, चितवन सफारी, मुगुको राराताल, पाथिभरा (मुक्कुमलुङ), बडिमालिकालगायतका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यापर्यटनको प्रवद्र्धन गर्ने काम उनकै पालाको देन हो ।
बहुदल कालमै कृषिक्षेत्रको विकासका लागि अलग्गै योजना अघि सारिए । घरेलु हिंसाका घटनाहरू न्यूनिकरण गर्न महिला सेल स्थापित गरिए । प्रधानमन्त्री कार्यालयबाट सोझै महिला सेलमाथि निगरानी हुने काम थालियो । जातीय भेदभाव र छुवाछुत अन्त्यका निम्ति दलितसँग वैवाहिक सम्बन्ध राख्नेहरूलाई एक लाख रूपैयाँ पुरस्कारसमेत दिन थालियो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ र ‘नौ स’ को अभियान अझै स्मरणीय छन् । वृद्ध र बिधवा भत्ता पनि नमूना सामाजिक योगदान हुन् । तरार्ईको हुलाकी राजमार्ग निर्माण, काठमाडौंलाई तरार्ईसँग जोड्ने फास्ट ट्रयाकको शिलान्यास र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन नयाँ पुस्ताले बिर्सन नहुने पक्ष हुन् ।
मध्यपहाडी राजमार्ग, स्मार्ट सिटीको अवधारणा, सर्लाही र रौतहटमा युवाहरूका लागि विशेष तालिम केन्द्रहरू सञ्चालन, काठमाडौं, हेटौंडा र सुदूरपश्चिममा पोलिटेक्निकल इन्ष्टिच्यूटहरू स्थापना, युवा जनशक्तिहरूलाई प्रशिक्षण चानचुने कुरा थिएन । राजमार्गमा हुने डकैती रोक्न सशस्त्र प्रहरी परिचालन, बर्दियाको हाइवेमा रहेका कजवे, निजगढको भत्किएको पुल निर्माण, बाँके जिल्लामा आफ्नै भूमि जान पनि भारत हुँदै आउने पर्ने बाध्यताको अन्त्य, के यी काम हुँदै नभएका हुन् ? यसको श्रेय कसलाई दिने ?
चतरा पुल, सिन्धुली भिमानसम्मको मदन भण्डारी राजमार्ग जस्ता सम्झनायोग्य कामबारे अहिलेका अर्थमन्त्रीले जेनजीहरुलाई जानकारी दिनु जरुरी छ । जेनजी पुस्ताले इतिहास अध्ययन गर्नुपर्छ । यस्ता कामहरूको स्मरणले मात्रै अग्रजलाई सत्तोसराप गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने काम कम हुन सक्छ । इतिहासलाई इतिहासकै रूपमा बुझौं, गरेको कामलाई नगरेको भन्दै नकारात्मक भाष्य खडा नगरौं । अफवाहमा रमाउने, सामाजिक सञ्जालमा आफ्नै अगुवाहरूलाई गाली गर्ने बानीव्यहोरालाई अन्त्य गरौं । थुप्रै नेता प्रधानमन्त्री हुँदा देशलाई अग्रगमनतर्फ लैजाने कतिपय काम भएका छन् । शिक्षा, स्वास्थ्य, समावेशीता, आरक्षण, वैदेशिक तालिमका अवसर केही नभएका हैनन् ।
देशैभर प्राविधिक, व्यावसायिक शिक्षालयहरू खोलिएका छन्, विश्वविद्यालयहरू स्थापित भएका छन्, सडक र विद्युतिकरण विस्तार हुँदैछ । हरेक सदरमुकामसम्म कालोपत्रे रोड र पालिकामुकाममा पुग्न कच्ची सडक निर्माण भएका छन् । देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि अनेक थरी उद्योगधन्दा खोल्न निजीक्षेत्रलाई प्रोत्साहित गरिएको छ । इन्धनमाथिको निर्भरता घटाउन पेट्रोलियम पदार्थ अन्वेषण गरिएको छ । गरिएका कामहरूको पनि लामो फेहरिस्त तयार गर्न सकिन्छ । हो, केही नेता भ्रष्ट भए, जनताले सोचेअनुरूपको गतिमा काम हुन सकेन, यो कमजोरीलाई स्वीकार्नुपर्छ । तर गलत भाष्य खडा गर्नु हुँदैन, निराशाको खेती गर्नु हुँदैन ।
(जनआस्था साप्ताहिकको कात्तिक १२ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू