वामदेवको भाउ फेरि ह्वात्तै बढ्यो

वामदेवको भाउ फेरि ह्वात्तै बढ्यो

एक नेतामाथि दुईतिरको तानातानी, जति गरे पनि आनाकानी ! यो हो, वामपन्थी नेता वामदेव गौतमको बाध्यता । गत बिहीवार, अर्थात् १८ गते एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भैंसेपाटी पुग्नुभयो । वामदेवलाई लाग्यो, राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न आउनुभएको होला । तर, ओलीले भेट्नेबित्तिकै भन्नुभयो, ‘भोट माग्न होइन, घर फर्किनुस् भन्न आएको हुँ ।’ त्यसबेला वामदेवनिकट नेता डीबी कार्की, छोरा हरिशहरू सँगै थिए । यसपछि ओलीले एक्लै कुरा गर्न चाहनुभयो र अरु बाहिरिए । भित्र एक घण्टा कुराकानी चल्यो ।

ओली गएपछि वामदेवले परिवारका सदस्यहरूलाई सुनाउनुभयो, ‘पार्टी जोगाउनुप¥यो भन्न आएका रहेछन् ।’ ओलीको भनाइ थियो, ‘तपाईंहरूले बनाएको पार्टी हो, त्यसबेला म त जेलमा थिएँ । अब यो पार्टी सम्हालिदिनुप¥यो, आउनुस् ।’ वामदेवले भन्नुभयो, ‘आउन भन्नुहुन्छ, म आउँला पनि । तर, मेरो समूहमा रहेका सबै साथीहरू आउने हो भने तपाईंले पास गर्नुभएको ७० वर्षे उमेरहदको प्रावधान हटाउनुस् ।’ उहाँले कम्युनिष्ट पार्टीको सिद्धान्तमा हरेक मान्छे संगठित हुन पाउँछ, हरेक सदस्य कार्यकारी हुन्छ भन्दै ७० वर्षे प्रावधानले जीवनभर पार्टीमा काम गरेर अन्तिममा सदस्य नै नरही मर्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो ।

‘यो प्रावधान संविधानविपरित छ, संविधानको मौलिक हकविपरित, दलगत ऐनको विरोधी छ । सक्नुहुन्न भने अध्यक्ष र महासचिवको हकमा लागु हुने छ, अन्यका हकमा हुँदैन भनेर लेख्नुस्’, वामदेवले भन्नुभयो, ‘विधानमा रहेको बाधा अड्काऊ–फुकाउको व्यवस्थाबाट त्यसो गर्न सकिन्छ ।’ उहाँले ती कुरामा तयार भएपछि संगठनात्मक संरचना र जिम्मेवारीको प्रश्न आउँछ भन्दै ‘अनि कुरा गरौँला’ भन्नुभयो । तर, केपीले ‘म गर्छु’ भन्नुभएन । मुन्टो मात्रै हल्लाउनुभयो । वामदेवले सोध्नुभयो, ‘मलाई पार्टी अध्यक्ष चाहिएन । तर, देशभरिका कमिटी र सदस्यहरूलाई परिचालन गर्ने अधिकार दिन सक्नुहुन्छ ?’ ओलीले मुन्टो हल्लाएर मुखचाहिँ खोल्नुभएन । वामदेवले ‘वामपन्थीबीच एकताको विरोधी हामी हैनौँ’ भन्दै ‘एकताका आधार खोजेर जाऔँ’ भन्नुभयो । जबजपक्षीय जनमत एमालेमै भएको उहाँको भनाइ थियो । भन्नुभयो, ‘अहिले त्यहाँ जबजको ओंठेभक्तिमात्रै भए पनि, त्यसको कार्यान्वयन नभए पनि जबजवालाहरू त्यहीँ छन् ।’ अन्तिममा राष्ट्रपतिको उम्मेदवारका रुपमा सुवासका लागि भोटै त माग्नुभएन । भन्नुभयो, ‘सुवासलाई तपाईं राम्रै मान्नुहुन्छ । भोट दिइहाल्नुहुन्छ, मैले किन माग्नु !’ 

ओलीसँग भेट भएको कुरा बाहिर जानासाथ माधव नेपालको सचिवालय हेर्ने उहाँका भाञ्जा नितेश पौडेलले डीबीलाई फोन गरेर ‘वामदेव कमरेडलाई फोन दिनुस् त’ भने । तर, डीबी त्यहाँबाट हिँडिसकेका कारण सीधै माधवले वामदेवलाई फोन गर्नुभयो । त्यसपछि माधव–वामदेवबीच दुई घण्टा कुरा भयो, निश्कर्ष केही आएन । माधवसँगको कुराकानीमा वामदेवको भनाइ थियो, ‘केपी भेट्न आए भन्दैमा उनको पछिपछि म किन लाग्छु र ? लाग्ने भए पहिल्यै पनि भनेकै थिए, लागिसक्ने थिएँ ।’ माधवले ‘यता न उता भएर धेरै नबस्नुस्, यसले तपाईं र साथीहरूलाई पनि अप्ठेरो पारेको छ’ भन्नुभयो । वामदेवले जवजबारेको स्पष्टता, आफ्नो एकता अभियानबाट एकतामा आउने केन्द्रीय सदस्यका जिम्मेवारीबारे लिखित रुपमा प्रष्ट्याउन माग गर्नुभयो । 
 

टिप्पणीहरू