बैंकले समात्नुअघि राजतन्त्रको र्‍याईर्‍याई

बैंकले समात्नुअघि राजतन्त्रको र्‍याईर्‍याई

अर्बौं रकम बैँक र बजारबाट नियतवश ठगी गरेका (वीलफुल डिफल्टर) मान्छे मुलुकमा ‘राजा ल्याउने गीत’ गाउँदै हिँड्न थालेका छन् । केही दर्जन मान्छे संवैधानिक, राजनीतिक, सामाजिक, व्यावहारिक, नैतिक र भूराजनीतिक परिस्थिति र दृष्टिबाट खरानी भइसकेको राजतन्त्रलाई ब्युँताउने उरन्ठेउलो, हुर्दूंगे, उटपट्याङ गफ बेच्न दौडेका छन् । भीड जम्मा गर्दै ‘नेता बन्ने भूत’ सवार भएर तिनै बैंकमारा एवं लुटाहा अघि सरेका छन् । राजनीतिक जीवन र संस्कार नभएका तिनैको सोखमा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुँदै छन् । ज्ञानेन्द्रलाई तिनले ‘गद्दीमा राख्देलान्’ भन्ने बालभ्रम अझै देखिन्छ । आजको समय, समाज, चेतना, भूराजनीतिक अवस्था तथा नेपालको राजनीतिक वास्तविकता, संवैधानिक प्रबन्ध तथा घटनाक्रमले फेरि राजा ल्याउने कुरा आफैँमा बौलठ्ठीपूर्ण तर्क मात्र हो । 

कसले राजा ल्याउने ? किन राजा ल्याउने ? कसले कसरी कुन संवैधानिक र कानुनी प्रबन्धअनुसार गद्दीमा बसाउने ? कुन राजनीतिक शक्तिले समर्थन गर्ने ? जस्ता यावत् प्रश्न ज्युँदै छन् । राजाको गीत गाएर उफ्रेपछि बैंकको र बजारको खाएको तिर्नु नपर्ने हो ? चर्का कुरा गर्दै भीडले कराएपछि २० लाखभन्दा कमको ऋण तिर्नु नपर्ने हो ? भीडले बैंकलाई ‘ब्याजदर घटा’ भन्यो भने घट्ने हो ? बैंकले लुटेका छन् । त्यो सत्य हो । तर, बैंक ब्याजदर राज्यको बैंकिङ नीति, बजारमा नगद प्रवाहको माग र आपूर्ति, राज्यको आर्थिक नीति एवं राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणले घट्ने–बढ्ने हुन्छ । कसैले भनेर वा केही दर्जन मान्छे कराएर घट्दैन । झुन्डी मर्ने प्रेमप्रसाद आचार्यले आफ्नो ‘डेथ नोट’ मा के कुरा लेखे भन्ने आधारमा बैंकले ब्याजदर घटबढ गर्दैन । अर्थतन्त्र र बैंकिङ नीतिको यस्तो नियमलाई राजाको गीत गाएर बदल्न सकिन्छ ? अर्काे कुरा भनेको राजाको गीतको मकसद भनेको नै बैंकबाट र बजारका अन्यबाट लिएको ऋण तथा कर्जाबाट भाग्ने एवं जनताको ध्यान अन्यत्र मोड्ने दुस्प्रयासबाहेक केही होइन, देखिन्न ।

राजाकाे गीत गाएर उफ्रेपछि बैंककाे र बजारकाे खाएकाे तिर्नु नपर्ने हाे ? भीडले बैंकलाई 'ब्याजदर घटा' भन्याे भने घट्ने हाे ?

 करिब दर्जन उग्र खालका बुद्धिजीवी, वकिल, पूर्व सेना–प्रहरीका कर्मचारी र केही गठको सोच राजाको गीत गाएरै आफ्नो धन्दा चलाउने, भ्रष्टाचारबाट आर्जेको धन सुरक्षित पार्ने, अन्य तरिकाबाट ठग्ने र युट्युबमा अन्टसन्ट गाली गरी चर्चामा आउने बाहेकको कुनै अर्थ देखिन्न । जनविरोधी, प्रतिगामी, पूर्वपञ्च, आसेपासे, तत्कालीन राजाका नोकर–चाकर तथा दास मानसिकताका तत्वहरू नेपालमा भर्खर स्थापित हुँदै गरेको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि विष बमन गर्दै छन् । युट्युबका कुनामा भुक्नेहरूले एउटा बैंकमारा ठग भेटे । उनीहरू त्यसले गीत गाएको भरमा राजा आउने सपनामा अघि बढेका छन् । प्रजातन्त्रको विकल्प समृद्ध प्रजातन्त्र हो । लोकतन्त्रको विकल्प समुन्नत, सभ्य, नागरिकमैत्री र जनताको लोकतन्त्र हो । जसरी खानेपानीको विकल्प अझ सफा, स्वादिष्ट, उमालेको वा छानेको, फिल्टर गरेको वा प्युरिफाइड पानी मात्र हो । पानीको मात्रा भएका मुला, गाजर, प्याज, काँक्रा आदि पानीको उत्तम विकल्प हुन सक्दैनन् । अब हाइटेकको कुरा गर्ने हो भने मोबाइलको विकल्प अझ सुविधा भएको, टिकाउ र बलियो मोबाइल हो । अर्थात् पेजर विकल्प हुनै सक्दैन । मोबाइलमा जतिसुकै विकृतिका फोटा आउन् वा खर्चालु होस् हामीले पेजर उहिल्यै फालिसक्यौँ । सिधै भन्नुपर्दा राजतन्त्र र राजा भनेका पेजर हुन् । लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र भनेको अनेकाँै सुविधा, अवसर र सम्भावना भएका आधुनिक मोबाइल हुन् । यसर्थ मोबाइलको विकल्पमा पेजरको वकालत गर्ने दास मात्र हुन् । त्यसैले आज पनि कोही राजाको गीत गाएर हिँड्छ भने त्यो कि मूर्ख हो, कि नोकर मानिसकता भएको मान्छे हो । कि त्यस्तै बैैंक र बजारका अर्बाैं तथा करोडौं ठगी हिँडेका ठग मात्र हुन् । सच्चा, देशभक्त, प्रगतिशील, सचेत, देशप्रेमी र परिवर्तनशील मानिसले राजाको गीत गाउनै सक्दैन ।

२ सय ४० वर्ष नेपालमा सक्रिय राजतन्त्र थियो । त्यसभन्दा अघि पनि २ हजारभन्दा बढी वर्ष राजाहरूकै शासन थियो । किरात काल, लिच्छविकाल, मल्ल काल, शाह काल, राणा काल, प्रजातन्त्र काल, पञ्चायतकालदेखि प्रजातन्त्र कालसम्म सबैमा राजा नै शासनको केन्द्रमा थिए । राजाको हुकुम चल्थ्यो । राजतन्त्रकालमा विकास कहाँ के भयो ? सामाजिक–राजनीतिकदेखि कुन क्षेत्रमा के–कति परिवर्तन भयो ? राजनीतिक द्वन्द्व र संघर्ष घट्यो कि बढ्यो ? अन्तर्राष्ट्रिय सहयोग बढ्यो कि घट्यो ? वैदेशिक रोजगारी र व्यापार बढ्यो कि घट्यो ? यस्ता अनेकौं सवालको जवाफ कसले दिने ? राजतन्त्र आवश्यक थियो भने नेपालमा निरन्तर राजतन्त्र, निरंकुशता र तानाशाही शासनविरुद्ध किन त्यतिका राजनीतिक–सामाजिक आन्दोलन, द्वन्द्व र संघर्ष भए ? १० वर्षे सशस्त्र संघर्ष किन भयो ? तसर्थ राजाको गीत गाउने विषय पटमूर्खले गर्ने वाहियात कुरा मात्र हो । कसैलाई अहिले पनि राजा मन पर्छ भन्दा वा राजाको गीत गाउँदा स्वाद लाग्छ भने केही बात छैन । भन्न दिए हुन्छ । गाउन दिए हुन्छ । २००७ सालमा १ सय चार वर्षको राणाशासन अन्त्य भयो । त्यसपछि राणाशासन कहिल्यै फर्केन, फर्कंदैन । यद्यपि केही दर्जन राणाजी साहेबजीहरूका घर–परिवारमा र तिनका नोकर–चाकरहरूले ती राणाजीहरूलाई अहिले पनि ‘राजा साहेब’ भन्छन् । राणाका स्वास्नीहरूलाई ‘रानीसाहेब’ भन्छन् । अब के तिनले राजा सम्बोधन गर्दैमा राणाजीहरू फेरि राजा बन्न सक्छन् ? कदापि, सक्दैनन् । 

एउटा सत्यचाहिँ के हो भने लोकतन्त्र र गणतन्त्रका नाममा नेता, दल वा शक्तिमा भएकाले आफूखुशी गर्न पाउने छुट कसैलाई छैन । संविधानवाद, कानुनी शासन र लोकतान्त्रिक प्रणालीका स्थापित मूल्य–मान्यताअनुसार शासन प्रणाली सञ्चालित हुनुपर्छ । कुनै अमुक दल वा नेता वा व्यक्तिले गर्ने गल्ती, भ्रष्टाचार, कुशासन र विकृति रोक्नुपर्छ । कानुनभन्दा माथि कोही छैन । विधिको शासनको मान्यता नै यही हो । दल वा शक्तिको नाममा कसैलाई कुनै अलग्गै छुट छैन, हुँदैन । त्योचाहिँ हो । त्यसरी छुट कानुनतः छँदा पनि छैन । विगतमा पनि तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारमा जेल परेकै हो । चिरञ्जीवी वाग्ले, जेपी गुप्तादेखि प्रहरीका तीन जना पूर्वमहानिरीक्षक सुडान काण्डमा जेल बसेकै हुन् । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका नाममा कसैलाई पनि कानुनभन्दा माथि जाने अधिकार तथा छुट हुँदैन । कानुनको शासनमा सबैभन्दा माथि कानुन नै हुन्छ । विधि र प्रणाली हुन्छ, हुनुपर्छ । राष्ट्रपति पनि कानुनभन्दा माथि हुदैन, छैन । कानुनको व्याख्याता सर्वाेच्च अदालत र न्यायाधीशहरू सबै–सबै संविधान र कानुनअनुसार हुन्छन्, छन् । यसर्थ लोकतान्त्रिक प्रणाली यसका आधारभूत मूल्य–मान्यता, संविधानवाद, विधि तथा राजनीतिक मूल्यबाट मात्र अघि बढ्न सक्छ । अबको विकल्प भनेको राजतन्त्र, राजा वा अनिर्वाचित शक्ति वा व्यक्तिको हुकुमी शासन तथा सत्ता हुनै सक्दैन । केही बैंकमारा जो खोरमा जाने अवस्थामा पुगेका छन्, तिनैले राजाको गीत गाएर राजा आउने होइन । 

 

टिप्पणीहरू