स्ववियु चुनाव,काङ्ग्रेसलाई तनाव

स्ववियु चुनाव,काङ्ग्रेसलाई तनाव

 स्ववियु चुनावमा उम्मेदवार उठाउने विषयलाई लिएर नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा आन्तरिक विवाद चुलिएको छ । 

अध्यक्ष डुजाङ शेर्पाले बिना छलफल एकलौटी ढंगले उम्मेदवार चयन गरेको भन्दै अर्को पक्ष असन्तुष्ट भएपछि चुनावको परिणाम नै प्रभावित हुनेगरी नेविसंघमा किचलो चर्किएको हो । 

मातृ पार्टीमा जस्तै नेविसंघमा पनि संस्थापन र इतर पक्षबीच बिगतदेखि नै विवाद रहँदै आएको छ । संस्थापन निकटका अध्यक्ष शेर्पाले इतर खेमाका विद्यार्थीलाई टिकट नदिएको आरोप छ । शेर्पाको सत्ता लिप्तता, जहाँनिया राणा शासन शैली र मनोमानीले संगठन क्षतविक्षत बनेको इतर पक्षले बताएका छन् । 

नेविसंघका काठमाडौं जिल्ला अध्यक्षका आकांक्षी अन्शुल केसीलगायतले विज्ञप्ति जारी गर्दै अध्यक्ष शेर्पाको 'कुकृत्य' एकदमै लज्जास्पद भएको उल्लेख गरेका छन् । स्ववियु चुनावको टिकट वितरणमा एकलौटी गरेका शेर्पाले आफ्नो खल्तीका मान्छेलाई उम्मेदवार बनाएको केसीको आरोप छ । 

उनको विज्ञप्तिमा भनिएको छ,‘जिल्ला जिल्लामा गरेको अराजक गुटको खेती दुजाङ शेर्पाको कुकृत्य स्ववियु निर्वाचनको टिकट वितरणसम्म सुधार नहुनु निकै निरासावादी र लज्जास्पद छ ।’ अध्यक्ष शेर्पालाई तत्काल पदबाट बर्खास्त गरी नेविसंघलाई चलायमान बनाउन ति विद्यार्थी नेताले माग गरे । 

‘असक्षम र धुर्त दुजाङ शेर्पालाई नेविसंघबाट तत्काल अपदस्च गरी नेविसंघलाई चलायमान बनाउन तत्काल अधिवेशन आयोजक कार्यसमिति ल्याउनुपर्ने हाम्रो माग छ’, विज्ञप्तिमा भनिएको छ,‘हाम्रो माग सम्बोधन नभए त्यसको ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी गर्दछौं ।’

सत्तारुढ गठबन्धन का दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूसँग उपत्यकाका ठूला २७ कलेजमा चुनावी तालमेल गरेको नेविसंघले १५ क्याम्पसमा सभापति पाएको छ । तर, आन्तरिक विवादकै कारण ति क्याम्पसहरुमा नेविसंघबाटै बागी उम्मेदवारी परेको छ ।
 

टिप्पणीहरू