जब गोकुल नै ट्वाल्ल परे...

जब गोकुल नै ट्वाल्ल परे...

एमालेका तर्क पनि कस्ता भने, मान्छे मरेर १३ दिने जुठो परेको बेला चुनाव गर्नु हुँदैन भन्दै एउटा संगठनको महाधिवेशनबाट एक जनालाई अध्यक्ष घोषणा गरियो, बाँकी सबैलाई ‘धन्यवाद’ भन्दै बिदा गरियो । यसरी एउटाका लागि सब सोत्तर हुने गरी एमालेमा अर्को ‘सौराहा काण्ड’ मच्चियो, विराटनगरमा । जसरी अखिलमा आरसी लामिछानेलाई अध्यक्षको चुनाव हराउन नेतृत्व नै हात धोएर लाग्यो, विराटनगरमा सम्पन्न खेलकुद महासंघको महाधिवेशनमा पर्शुराम बस्नेतलाई अध्यक्ष घोषणा गर्दै अरू पदाधिकारी छिट्टै टुंगो लगाइनेछ भन्दै महाधिवेशन नै समापन गरेर प्रतिनिधिहरूलाई बिदाबारी गरिएको छ ।

महाधिवेशनका लागि ७, ८ र ९ गतेको मिति निर्धारण गरियो । पहिलो दिन उद्घाटन भयो । दोस्रो दिन छोटो बन्दसत्रपछि उम्मेदवारहरूलाई नामावली दर्ता गर्न सूचना जारी गरियो । दर्ता पनि भयो । तर, दर्ता सकिनेबित्तिकै मञ्चमा उभिएर एमाले मोर्चा संगठनका प्रमुख भानुभक्त ढकालले भने, ‘साथी हो, हामीलाई जुठो परेको छ । यस्तो बेलामा १३ दिनसम्म कुनै शुभकार्य गर्न नहुने हाम्रो परम्परा छ । त्यसैले कमरेड पर्शुराम बस्नेतलाई यस खेलकुद महासंघको अध्यक्ष घोषणा गर्दै यो महाधिवेशन यहीँ समाप्त भएको जानकारी गराउँदछु ।’

यसरी ‘जुठो परेको’ भन्ने बहाना कसरी निस्कियो भने, अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको महाधिवेशनमा जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर निधन भयो । स्वाभाविक हो, आफ्नो संगठनका कार्यकर्ताको निधन हुँदा सबै दुःखी भए । तर, महाधिवेशनबाट अध्यक्ष घोषणा गर्ने र बाँकी पदाधिकारी चयन नगरी दोस्रो दिन कार्यक्रम स्थगन गर्नुपर्ने तहको दुःख थिएन । खेलाडीको चुनाव, त्यसमा पनि एमालेका भनेपछि प्रहरीले तीन गाडी पुलिस राखेको थियो । उद्घाटनकै बेला काठमाडौंबाट पार्टीको केन्द्रीय निर्वाचन कमिटीका तर्फबाट विजय सुब्बाहरू पुगिसकेका थिए ।

उम्मेदवारी दर्ता गर्न भनिएपछि अध्यक्षमा मोरङका विवादास्पद पृष्ठभूमिका पर्शुराम बस्नेत र जुम्लाका तेक्वान्दो खेलाडी चेतन गिरीले नाम दर्ता गराए । उपाध्यक्षमा राखेपका पूर्वसदस्य उपेन्द्र पौडेल, कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक ओमकृष्ण प्रसाईंसहित १९ जनाले नाम दर्ता गरे । महासचिवमा जुडो खेलाडी धर्म श्रेष्ठ, चेसका धर्मवीर लामा, चेसकै उमेश केसी, युवा संघका पूर्वनेता रामकृष्ण खड्काको उम्मेदवारी  पर्‍यो । सचिवमा २० जना थिए । अरू थुप्रैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । ‘१० बुँदे’ भनिने पूर्व माधव नेपालपक्षीय मानिसहरूको हालत कस्तो थियो भने, अध्यक्षमा उम्मेदवारी दिन लागेका उपेन्द्र पौडेललाई स्वयं उनका नेता पुरुषोत्तम पौडेलले रोके ।

उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएर पार्टी काममा लाग्न दबाब दिइँदै थियो । उम्मेदवारी फिर्ता नलिए अध्यक्ष मण्डलले उम्मेदवारी रद्द गरिदिने भनिँदै थियो । जब उम्मेदवारी दर्ताको काम सकियो, तब भानुभक्तले विजय सुब्बालाई तानेर आफूतिर ल्याए । भने, ‘हौ लुंगा, यहाँ त केही पनि काम छैन त हौ, किन बसेको ?’ विजयले कड्किएर भने, ‘किन काम छैन ? यत्रा मान्छेले नोमिनेशन गरिसके, अब चुनाव गर्नुपरेन ?’ भानुले ‘पर्दैन हौ, पर्दैन’ भन्दै पर्शुरामतिर धकेलिदिए । उनले विजयलाई ‘दाजु गाडी चढौँ’ भन्दै एयरपोर्टतिर पठाइदिए ।

गोकुल बाँस्कोटा पार्टीका युवा तथा खेलकुदका इञ्चार्ज हुन् । तर, भानुले गोकुलको कुरा सुन्न पनि चाहेनन् । गोकुलको भनाइ थियो, ‘कि पूरै महाधिवेशन स्थगन गरौँ, हैन भने प्रक्रियामा गइसकेपछि प्रक्रियाबाटै सबै कुराको टुंगो लगाऔँ ।’ भानु ‘ए, कुरा त्यस्तो हो’ भन्दै मञ्चमा उक्लिए, माइक अन गरे, पर्शुरामलाई अध्यक्ष घोषणा गरे, महाधिवेशनका सम्पूर्ण कार्यक्रम समाप्त भएको जानकारी दिए, अनि ओर्लिएर गोकुललाई भने, ‘अब तपाईं पनि फर्किए भयो नि त ! ’ उनी ट्वाल्ल परेर हेरिरहे, केही बोल्न सकेनन् ।

टिप्पणीहरू