संगठनको आचारसंहिता नटेर्ने प्रहरी बग्रेल्ती, वर्षेनी हजारौं कारबाहीमा

संगठनको आचारसंहिता नटेर्ने प्रहरी बग्रेल्ती, वर्षेनी हजारौं कारबाहीमा

आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी अधिकृतलाई कारबाही गरेको छ । संगठनको आचारसंहिताविपरीत काम गर्ने जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका ती अधिकृतलाई कारबाही गरिएको बताइएको छ । 

सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी निर्देशिकाविपरीत कार्य गरेको पाइएको हुँदा प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (४) बमोजिम उनलाई निलम्बन गरिएको कार्यालयले जनाएको छ । संगठनले बारम्बार निर्देशन र सूचना जारी गरेर कार्यरत कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगको ‘गाइड लाइन्स’ विपरीत कार्य नगर्न सचेत गराउँदै आएको छ । 

‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ मा समावेश भएको सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी ‘गाइड लाइन्स’ विपरीत कार्य गर्न नहुने कार्यालयको स्पष्ट निर्देशन छ । 

कार्यादेशअनुसार प्रहरी कर्मचारीले अनुसन्धान, शान्ति सुरक्षा, व्यक्तिको गोपनीयता आदिमा प्रतिकूल असर पार्ने, विवादित हुन सक्ने, राजनीतिक प्रकारका, अदालतमा विचाराधीन, अश्लीलता प्रदर्शन गर्ने, समाजमा भय उत्पन्न गराउन सक्ने, साम्प्रदायिक र धार्मिक सद्भावमा खलल पुग्ने र प्रहरी संगठनकै छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रषेण गर्न पाउँदैनन् । 

त्यस्तै, त्यस्ता सामग्रीहरु पोस्ट, लाइक, सेयर, ट्याग, कमेण्ट, लिंक सेयरिङ्ग, ट्वीट वा रि–ट्वीट गर्न निषेध गरिएको छ । कुनै प्रहरीबाट आचारसंहिताविपरीत कार्य भएको पाइएमा संलग्न प्रहरीसहित सुपरीवेक्षक कमाण्डरलाई समेत सो कार्यमा जिम्मेवार बनाई प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्म कारबाही गर्ने व्यवस्था छ । यद्यपि, प्रहरीमा कार्यादेशको खिल्ली उडाउने गरिएका कतिपय सन्दर्भमा रोक लाग्न सकेको छैन । 

टिकटक, फेसबुकलगायत मनोरञ्जनात्मक एपमा प्रहरी पोशाकको दूरुपयोग गर्ने कार्य उल्लेखीय रुपमा बढेको छ । पेस्तोल नचाएर प्रहरीहरु टिकटकमा थरिथरिका चर्तिकला देखाइरहेका हुन्छन् । ड्युटीको समय बर्दी लगाएर भिडियो बनाउनु कतिपयको निम्ति सामान्य बनिसकेको छ । 

प्रधान कार्यालयले जति नै कारबाहीको चेतावनी दिए पनि स्वयम् प्रहरी कर्मचारीले त्यसको पालना गरेको देखिँदैन । आचारसंहिता र मापदण्डले प्रहरीलाई पोशाकमा कुनै पनि किसिमको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । 

यता, प्रहरीहरु ड्युटीको समयमा मोबाइलमा झुत्तिँदा कतिपय अपराधिक घटनासमेत भएका छन् । मोबाइल लतका कारण प्रहरीबाट पटक पटक गल्ती भएका खबर बाहिरिएका छन् । ड्युटीको समय अफिसियल कामबाहेक प्रहरीलाई मोबाइल फोन प्रयोगमा निषेध छ । तर, उनीहरु नै ढुक्कसँग टिकटक र फेसबुकमा भुलिरहेका भेटिन्छन् । 

ड्युटीका प्रहरी मोबाइल चलाउनमा व्यस्त हुँदा यसअघि कैदी नै फरार भएको घटनासमेत छ । हत्या अभियोग पुष्टि भएर २० वर्ष कैद सजाय तोकिएका कैदी भोला बुढाथोकी गत भदौ ८ गते हतकडीसहित भागेका थिए । 

आँखामा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएका उनी प्रहरीहरु मोबाइल चलाइरहेको मौका छोपेर फरार भएका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयले अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको थियो । 

प्रहरीको ध्यान मोबाइलमै केन्द्रित हुँदा यस्ता घटनाहरु बेलाबखत घटिरहन्छन् । त्यसकारण प्रहरीमाथि कडा नियमन गर्न थालिएको हो । यता, नेपाल प्रहरीका सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल आचारसंहिताविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्ने बताउँछन् । प्रधान कार्यालयले तीव्र अनुगमन गरिरहेको उल्लेख गर्दै उनले नटेर्नेलाई जागिरबाट हटाउनसम्म पछि नहट्ने जानकारी दिए । 

कारबाहीले पनि रोकिएनन् प्रहरी 

प्रहरीमा आचारसंहिताविपरीत काम गर्ने क्रम रोकिएको छैन । प्रहरी प्रधान कार्यालयले त्यस्ता प्रहरीलाई कारबाही गरे पनि अन्यलाई कुनै प्रभाव परेको देखिँदैन । कारबाहीमा पर्नेमा धेरैजसो तल्लो दर्जाका रहेको पाइन्छ । 

त्यस्तो कार्य गरेकाले आर्थिक वर्ष २०७७–७८ मा एक हजार ९८२ जना कारबाहीमा परेका छन् । तीमध्ये १६६ जनालाई सेवाबाट हटाइएको छ । त्यस्तै, २७ लाई बर्खास्त, आठको पद घटुवा, १२७ लाई तल्लो टाइमस्केलमा घटुवा गरिएको छ । 

२५६ लाई निलम्बन र एक हजार ३९८ लाई अन्य कारबाही पनि गरिएको छ । आर्थिक वर्ष २०७८–७९ मा कारबाहीमा पर्नेको संख्या एक हजार ८६० रहेको छ । प्रधान कार्यालयले दिएको तथ्याङ्कअनुसार २८० लाई जागिरबाट निकालिएको छ । 

हालसम्म बर्खास्तमा पर्नेमा सात जना छन् भने पाँच जनाको पद घटुवा भएको छ । तल्लो टाइमस्केलमा घटुवा पर्नेमा ८५ र निलम्बन हुनेमा १८४ रहेको पाइन्छ । एक हजार २९९ जनालाई अन्य कारबाही गरिएको छ । 

चालु आर्थिक वर्ष २०७९–८० को माघसम्म ७७१ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ११५ जनालाई नोकरीबाट हटाइएको छ । त्यस्तै, एक जना बर्खास्तमा परेका छन् । १३ जनालाई पद घटुवा, २३ लाई तल्लो टाइमस्केलमा घटुवा, ७७ लाई निलम्बन र ५४२ लाई अन्य कारबाही गरिएको छ ।

टिप्पणीहरू