ओलीले ‘बाटो लाग्नुस्’ भन्नुअघि...

ओलीले ‘बाटो लाग्नुस्’ भन्नुअघि...

ओलीले भन्नुभयो, ‘मैले तपाईंको भावनाको कदर गरेरै निर्णय फेरेँ !’ प्रचण्डले सोध्नुभयो, ‘नाम भन्नुस् त ?’ ओलीले नाम भन्नुभयो, त्यसपछि झस्किँदै प्रचण्डले भन्नुभयो, ‘यो त झन् भएन !’ राष्ट्रपतिको उम्मेदवारीबारे निर्णायक कुराकानी गर्ने उद्देश्यसहित शनिबार एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले झस्काउने गरी सुनाउनुभएको नाम थियो, ईश्वर पोखरेलको ।

त्यसअघि ओलीले निरन्तर एउटा नाम लिइरहनुभयो, विष्णु रिमालको । बालकोट भेटपछि बालुवाटार पुगेर पार्टीका मुख्य–मुख्य नेतासँगको छलफलमा प्रचण्डले भन्नुभयो, ‘ओलीजी त यसरी पेश भए कि, मैले ठूलै चमत्कार गरेँ, फलानोलाई छाडेर अर्कै मान्छे तयार पारेँ भन्न थाले । लु, नाम भन्नुस् त भनेको, ईश्वर पो भन्छन् !’ नेताहरू कुरा सुनेर गलल हाँसे, प्रचण्डले थप्दै जानुभयो, ‘कालोको ठाउँमा गोरो ल्याए पनि कुरा त उही हो, विष्णु रिमाल भने पनि ईश्वर पोखरेल भने पनि...!’ एक जना नेताले सोधे, ‘ओली गल्दैन भन्ने थाहा भई–भई तपाईं किन जानुहुन्छ त ?’ प्रचण्डको जवाफ थियो, ‘गल्दैनन् भन्ने त थियो नै, तैपनि यत्रो गठबन्धन नै तल–माथि हुने कुरा, फ्यास्स एकतर्फी गरिहाल्न पनि भएन । अलि–अलि गन्ध दिएर, म तिम्रो कुरा मान्दिनँ है भन्ने पारेर जाने हो नि !’ 

‘ओलीलाई चाहिएको राष्ट्रपति मात्रै छैन’ प्रचण्डले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी पनि उनले रोजेकै पार्टी हुनुपर्ने ! कांग्रेसलाई नै हो भन्दा कहाँ हुन्छ भनेर कराउँछन् ! सभामुखले अहिलेसम्म प्रमुख प्रतिपक्षी तोक्ने कागज रोकेर राख्नुको कारण यही हो । गृह मन्त्रालय रविलाई नै दिनुपर्छ, दिँदै नदिने भए आफ्नै पार्टीले पाउनुपर्छ भन्नेछ ।’ निश्कर्ष सुनाउने शैलीमा उहाँले भन्नुभयो, ‘उनले भनेका सबै कुरामा हुन्छ–हुन्छ भन्दै गएको भए यतिबेलासम्ममा उनका सबै काम सकिएका हुन्थे र राष्ट्रपतिमा भोट हालेको भोलिपल्ट प्रचण्डजी तपाईंको काम सकियो, अब बाटो लाग्नुस् भन्ने रहेछन् !’

कुरा सुनेर नेताहरू हाँस्न थाले, प्रचण्डचाहिँ बोलिरहनुभयो, ‘त्यसैले अब मुखै खोलेर भन्ने कुरा भएन तर ओलीका मान्न सकिने कुराहरू केही छैनन् । दिएका कुरा (मुख्यमन्त्री, मन्त्री, सभामुखसहितका) हामीले हाम्रो तर्फबाट नखोसौँ, खोस्नेखालको व्यवहार गरे भने हामीले भन्नै पर्दैन, कांग्रेस, समाजवादीले नै एमालेलाई मान्दै मान्दैनन् ।’
 

टिप्पणीहरू