मुम्बईमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख

मुम्बईमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख

गत बुधबार राति ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई लगाइएको भेन्टिलेटर हटाइएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएपछि भेन्टिलेटर हटाइएको बताइएको छ ।

आज बिहानदेखि उनलाई भेन्टिलेटरबाट हटाएर अक्सिजनको सहयोगमा उपचार सुरु गरिएको त्यहाँ रहेका योगराज कँडेलले जानकारी दिए । ‘खुशीको कुरा उनको ईटी ट्यूब निकालिएको छ । अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ । अहिले पनि ट्रयालमै राखिएको हो,’ उनले भने, ‘डाक्टरको योजनाबमोजिम १५ लिटरलाई घटाउँदै लगिने छ त सबै पारामिटर नर्मल छन् ।’

त्यस्तै, फोक्सोको तल्लो भागमा थोरै इन्फेक्सन देखिए पनि डराउनु नपर्ने डाक्टरबाट जानकारी प्राप्त भएको उनले बताएका छन् । कल्चर रिपोर्ट आज साँझसम्म आउने भएकाले सोबमोजिम इन्फेक्सनको पूर्ण जानकारीपश्चात् एण्टीबायोटिकको मात्रा थपघट हुने जानकारी चिकित्सकले दिएको उनले जनाए ।

सांसद भण्डारीको सुनिएको अनुहार पुरानो अवस्थामा फर्केको र उनको इसारा र सामान्य अवस्थामा झैँ बोल्न खोजिरहेको कँडेलले जानकारी दिए । चिकित्सकहरु डा.मुकेश मिश्रा र डा. अमोल मात्रे उपचारमा संलग्न छन् ।
 

टिप्पणीहरू