नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने समझदारी भएको छ । उक्त कोष सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ ।

अक्षय कोष स्थापनाका लागि बैंकले २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । सो सम्बन्धी चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेर समझदारीपत्र आदानप्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेलले हस्ताक्षर गरेका छन् ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध गराइने छ । विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख छ ।

टिप्पणीहरू