चुनावी खर्च नबुझाउने सबैको पद जोगिने,सजायँ घट्ने

चुनावी खर्च नबुझाउने सबैको पद जोगिने,सजायँ घट्ने

निर्वाचन आयोगले तोकेको समयमा चुनावी खर्च विवरण नबुझाएका स्थानीय तहका ७५ जना उम्मेदवारले कारवाही मिनाहाका लागि राष्ट्रपति कार्यालयमा निवेदन हालेका छन् ।  

कानुनको जानकारी नभई भूलवश तोकिएको समयसीमाभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन छुटेको भन्दै उनीहरुले जरिवाना मिनाहाको प्रवन्ध मिलाइदिन राष्ट्रपतिलाई गुहारेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,र गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिइएको सो निवेदनमा ७५ जना उम्मेदवारले दस्तखत गरेका छन् । जसमा चार जना गाउँपालिका अध्यक्षका उम्मेदवार,दुई जना उपाध्यक्षका,सात जना वडाध्यक्ष र बाँकी सदस्य,दलित महिला सदस्य र महिला सदस्यका उम्मेदवार छन् । 

'नेपालको सामाजिक,भौगोलिक राजनीतिक र शैक्षिक परिवेशलाई न्यायिक दृष्टिमा राखी व्यावहारिक एवं परिस्थितिजन्य समस्याको समाधान गर्न एक पटकको लागि पुनर्विचार गरी निर्वाचन खर्च नबुझाएका र बुझाउन नसकेका हामी तपसिलमा उल्लेखित उम्मेदवारलाई तोकिएको जरिवाना मिनाहा हुने प्रवन्धका लागि सादर निवेदन गर्दछौँ',राष्ट्रपति कार्यालयमा दिइएको निवेदनमा भनिएको छ ।  

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम खर्च विवरण नबुझाउने उम्मेदवारलाई कम्तिमा डेढ लाखदेखि साढे ७ लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको थियो । निर्णयमा खर्च विवरण नुबझाउने महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने उल्लेख छ । त्यस्तै, महानगरपालिकाका वडाध्यक्ष,वडा सदस्य,महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने आयोगको निर्णय छ ।  

आयोगले उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ५ लाख ५० हजार र वडा अध्यक्ष,वडा सदस्य,महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई २ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसैगरी, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार,वडाध्यक्ष,वडा सदस्य,महिला वडा सदस्य र दलित महिला वडा सदस्यको हकमा डेढ लाख रुपैयाँका दरले जरिवाना लाग्ने आयोगको निर्णय छ ।  

आयोगले तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्ष कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेगरी रोक लगाउने निर्णय गरेपछि संघ तथा प्रदेशको चुनावमा प्रत्यक्ष टिकट पाएका र समानुपातिकको सूचीमा परेका कतिपयले तत्कालै रकम बुझाएका थिए । 

आयोगको निर्णयपछि केही उम्मेदवारले जरिवाना रकम बुझाए पनि सो निर्णयको अहिले पनि चर्को विरोध भैरहेको छ । काठमाडौँ महानगरका मेयर बालेन साहसहित केही निर्वाचित जनप्रतिनिधिले आयोगको निर्णयमाथि कानुनी चुनौती दिँदै सर्वोच्च अदालतमा रिटसमेत हालेका थिए । 

आयोगले ठूलो मात्रामा जरिवाना तोकेको भन्दै चुनाव जितेका बालेन, चिरिबाबु महर्जन,रेणु दाहाल जस्ता प्रभावशाली मेयरसमेत असन्तुष्ट बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेटबाट निर्णय गरेर सजाय घटाउने तयारी गरेको बताइन्छ ।

 

टिप्पणीहरू