क्रिकेट खेलाडी भकाभक प्रहरी खोरमा

क्रिकेट खेलाडी भकाभक प्रहरी खोरमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दिप लामिछाने उमेर नपुगेकी किशोरीलाई बलात्कार गरेको आरोपमा दुई महिना जेल बसेर धरौटीमा छुटेका छन् । तर उनी विरुध्दको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ र महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा उच्चको २० लाख धरौटीमा छाड्ने आदेशविरुध्द पुनरावेदन गर्दैछ ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा उनीहरु समातिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि आलमलाई आज दिउँसो बिराटनगरबाट नियन्त्रणमा लिइएको हो । अन्सारीलाई भने सप्तरीको राजविराजबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । 

एक महिनाअघि कीर्तिपुरमा भएको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको आरोप लागेपछि उनीहरुमाथि अनुसन्धान थालिएको थियो । उक्त आरोपमाथि राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि छानबिन गरिरहेको बताइएको छ ।

टिप्पणीहरू