दोहोरो नागरिकताधारी खोज्दै प्रहरी

दोहोरो नागरिकताधारी खोज्दै प्रहरी

विभिन्न किर्ते तथा झुठा विवरण देखाएर नेपाली नागरिकता लिएका भारतीयहरु माथि प्रहरीले निगरानी बढाएको छ । दोहोरो नागरिकता लिएर नेपाल तथा भारत दुबैतर्फ अपराधिक गतिविधिमा संलग्नहरु बढेपछि प्रहरीले दोहोरो नागरिकताधारीका उजुरी तथा मुद्धा खोतल्न थालेको छ । यसै वीचमा दोहोरो नागरिकता लिएर अपराधिक गतिविधिमा जोडिएका दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरी अनुसन्धान प्रकृयासमेत अघि बढाएको छ ।

मीटरव्याजी मुद्धामा पीडक बनेका मायादेवी १ का दुर्गेशकुमार सोनार तथा हुण्डी कारोबारमा संलग्न आरोपी कपिलवस्तु मायादेवी ६ का निरजकुमार मिश्रलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका मध्ये दुर्गेश भारत सिद्धार्थनगर जिलाको बर्डपुर थाना नौगढ तहसिल बस्ने भारतीय नागरिक भएको र उनले मायादेवी १ का बाबुराम सोनारलाई बाबु बनाई २०६६ सालमा वंशजको नागरिकता लिएका थिए । उनले ७ बर्षदेखि मीटरव्याजमा स्थानीय १७ जनाको घरजग्गा आफ्नो नाममा गराएको मुद्धा प्रशासनमा छ भने सुनचाँदीको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । दुर्गेशका भाइ विनोद सोनारले २०६३ सालको टोलीमा झुठा विवरण पेश गरी जन्मसिद्धको नागरिकता बनाएका छन् भने उनकै माध्यमबाट भारत सिध्दार्थनगरकी अन्जनी देवीले वैवाहिक अंगिकृत नागरिकता बनाएकी छन् । 

यसैगरी किर्ते विवरण बुझाएर नेपाली नागरिकता बनाएका उत्तरप्रदेश कप्तानगन्ज तिलकपुर बस्ने निरजकुमार मिश्र २०८१ माघ ३ गते १५ लाख अवैध रकम तथा नेपाली र भारतीय दुबै परिचय पत्रसहित पक्राउ परेका थिए । हुण्डी कारोबारमा ६० हजार धरौटीमा छुटेका मिश्रालाई पुनः प्रहरीले दोहोरो परिचय खुल्ने कागजात लिएको कसुरमा मंसिर २९ गते पक्राउ गरेको थियो । पक्राउ दुबैको भारतीय र नेपाली परिचय पत्र सक्कल भएको पुष्टी हुने पर्याप्त आधार भएको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता नायब उपरिक्षक रिपेन्द्र सिंहले बताए । किर्ते तथा अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको जानकारी दिए । 

दोहोरो नागरिकताधारी जनप्रतिनिधिमाथि छानबिन कहिले ?

कपिलवस्तु प्रहरीले दोहोरो नागरिकताको आडमा अवैध गतिविधि गरिरहेकालाई पक्राउ गरिरहँदा दोहोरो नागरिकता लिएका जनप्रतिनिधिहरु माथि भने छानबिन अघि बढाएको छैन । २ बर्षअघि तत्कालिन प्रजिअ विश्वप्रकाश अर्यालयकै कार्यकालमा सप्रमाण दोहोरो नागरिकताको विवरण तथा जाहेरी पेश गरेका कपिलवस्तुका २ वडा अध्यक्षमाथि छानबिन नै हुन सकेन । भुठा विवरण दिएर नेपाली वंशजको नागरिकता लिएका शुद्धोधन गाउँपालिका ४ का वडा अध्यक्ष रामनरेश अहिर तथा महाराजगन्ज नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामरुप बढईको उजुरी अहिलेसम्म पनि प्रशासन कार्यालयमा थन्क्याएर राखिएको छ । दुबै वडाध्यक्ष कांग्रेसबाट निर्वाचित हुन् । नागरिकता सिफारिश गर्ने जनप्रतिनिधि आफै भारतीय नागरिक भएपछि उनले गरेका सयौं  नागरिकता सिफारिश शंकास्पद हुने भन्दै कारवाहीको माग गरेका स्थानीय अहिले निराश छन् । तर यससम्बन्धमा कपिलवस्तु प्रहरीले अनभिज्ञता जनाएको छ । डिएसपी रिपेन्द्र सिंहले प्रशासनबाट छानबिनका लागि आफूहरु समक्ष आए तत्काल कारवाही अघि बढाइने उनले बताए ।

टिप्पणीहरू