अचेलका बोइलररुपी कच्चा प्रेम सम्बन्धहरू

अचेलका बोइलररुपी कच्चा प्रेम सम्बन्धहरू

भन्ने गरिन्छ, डा. रामशरण महतको निर्वाचन क्षेत्रका कोही युवा बेरोजगार छैनन्, जसले प्रमाणपत्र तह उत्तीर्ण गरेको होस् । कोही सेना–पुलिस त कोहीलाई बंैक तथा वित्तीय क्षेत्रमा जागिर लगाइदिएका छन् । तर, अछुतो पात्र हुन् ऋषि । जागिर खानका लागि मुख्य कुरा योग्यताभन्दा पनि राजनीतिक आस्था ठूलो हुँदोरहेछ । त्यही आस्था नमिल्दा उनले भेटेनन् जागिर । नेपालजस्तो मुलुकमा योग्यता र दक्षतालाई ओझेलमा पार्दोरहेछ, नातावाद, कृपावाद र फरियावादले । 

नुवाकोटको गाउँबाट एसएलसी उत्तीर्ण गरेपछि ऋषि राजधानी झरे । पढाइमा अब्बल थिए, प्राविधिक विषय पढेर देश सेवा गर्ने उत्कट चाहना थियो । गोंगबुस्थित विनायक प्राविधिक शिक्षालयमा भर्ना भए । विषय थियो अहेव । बिहानै उठेर कलेज जानु, मध्याह्न कोठामा फिर्नु, आफैँ खाना बनाउनु र खानु दैनिकी थियो । विद्यार्थी जीवनकालका ती प्रिय तर कष्टकर क्षण थिए । मनभरि उत्साह थियो, पढेर केही गरौं भन्ने जोश र जाँगर थियो । दिन–रात सधैँ अध्ययनमै व्यस्त हुन्थे । ७० सालताका अहेबको पढाइ अन्तिम चरणमा थियो । ओजेटी गर्नका लागि उनीहरू पुगेका थिए काठमाडौंको माथिल्लो बस्ती झोरको एउटा हस्पिटलमा । करिब एक महिनाको क्लास थियो । ५ जनाको समूह थियो– दिप्ती, महिमा, ऋषि, दीपेन्द्र र दामोदरको । अर्थात् तीन पुरुष, दुई महिला ।

भन्छन् पनि अक्सर मान्छे जे चिजसँग भाग्न खोज्छ, त्यही चिजले खेद्छ र त्यहीं ठोक्किन्छ । ऋषि साथीहरूलाई तारन्तार भन्थ्यो– यो करिअर बनाउने समय हो । अहिले प्रेम सम्वन्धमा रहनु उचित होइन । अझै थप्थ्यो– ‘यो त मान्छे सिद्धिने मेसो हो । बर्वादीको बाटो हो ।’ गाउँमा जन्मिएर हुर्किएको ऊ केटीसँगको सम्बन्धलाई कहिल्यै राम्रो नजरले हेर्दैनथ्यो । तर, प्रेम भन्ने चिज गर्छु भनेर गरिने चिज थोरै न हो ! यो त आफसे आफ हुन्छ । त्यसैले त प्रेमलाई अन्धो भन्छन् मान्छेहरू । वास्तवमा प्रेम आफैंमा अन्धो हँुदैन, प्रेम गर्नेहरूचाहिँ अन्धा हुन्छन् । उनीहरूलाई लाग्छ संसारमा प्यार मात्रै सत्य हो र बाँकी सबै झूठ । बुवा–आमा र आफन्तका कुरा झुट लाग्छ र सत्य लाग्छ छोटो समयमै नजिकिएकी प्रियसीको बोली । 

यस्तै भयो ऋषिको जीवनमा । त्यो ओजिटीले उसको जीवन पनि युटर्न भयो । प्रेम र स्त्रीलाई झुटो भन्ने ऋषि एकाएक दिप्तीको तारिफ र प्रशंसा गर्न थाल्यो । नजानिँदो पाराले दिप्तीको मन ऋषितिर सरिसकेको थियो । ओजेटीमा त जम्मा ५ जना मात्र थिए तर एक कान, दुई कान, मैदान । यो हल्ला यसरी फैलियो कि कलेजभर छपक्कै । कसले र के स्वार्थले हल्ला फिँजाए ? कलेजको ट्वाइलेटको भित्तामा समेत आर प्लस डी भनेर कसले र किन लेखे ? समूहका ५ जना नै सबै तैँ चुप मै चुप । 

वर्ष दिनसम्म चल्यो ऋषि र दिप्तीको प्यार । जब प्रेमलाई विवाहमा रूपान्तरण गर्ने समय आयो तब पैदा भयो समस्या । भर्खरै १९ वर्ष पूरा भएर २० टेक्दै गरेकी, गालामा डिप्पल परेकी दिप्ती, जसको एक हाँसोमा फिदा हुन्थे केटाहरू । 

सिटिइभिटिइबाट नतिजा आएपछि एक पटक विदेश गएर केही धन कमाउने र विवाह गर्ने योजना थियो ऋषिको । तर दिप्ती मान्ने पक्षमा थिइनन् । विदेश जाने भए पनि उनको शर्त थियो ‘प्र्रेमिकाबाट आफ्नो श्रीमती बनाऊ, अनि दुःख सुख सँगै बाँडौंला ।’ मान्ने पक्षमा रहेनन् ऋषि । भन्छन् नि बालहठ, राजहठ र नारीहठको अघि कोही कसैको केही जोर चल्दैन । हठ लागेपछि लाग्यो लाग्यो । 

दिप्तीको चेतावनी थियो– विवाह नगरी विदेश हान्निए परिणाम जे पनि आउन सक्छ । र, त्यसपछिको परिणामको भागिदार ऋषि नै हुनुपर्छ । एउटै धम्कीपूर्ण शब्द बारम्बार आइरह्यो । रिजल्ट आयो । ४० परीक्षार्थीमध्ये २४ उत्तीर्ण र १६ जना अनुत्तीर्ण । संयोग पास हुनेको सूचीमा अटाए दिप्ती र ऋषि । 

नतिजा सार्वजनिक भएको दिन दिप्तीकै जिद्धीमा दरबारमार्ग पुगेर रमाइलो गरे । त्यहाँ पनि उस्तै जिद्धी थियो मलाई छिट्टै आफ्नो बनाऊ । हुर्के–बढेकी छोरी–चेली जे पनि हुनसक्छ । भन्छन् नि, समस्या समस्यामा हुँदैन, मान्छेमा हुन्छ, मान्छेको मनमा हुन्छ । दिप्ती काठमाडौंको रैथाने, ऋषिको काठमाडौंमा आफ्नो सम्पत्ति भन्नु एक अञ्जुली माटो पनि थिएन । नेपाल टेलिकमका अफिसर दिप्तीका पिता चाहन्थे– काठमाडौंमा घर भएको र सरकारी जागिरदारलाई नै आफ्नो ज्वाईं बनाउँ । बाबुआमाको एक्ली छोरीको विवाह धुमधामसँग गरुँ तर छोरीको जिद्धीको अगाडि बुबा–आमाको पनि केही जोर चलेन । दिप्तीले आफ्नो राजकुमार ऋषिबाहेक अरु कोही नभएको र अरुसँग विवाह गरिदिए परिणाम जे पनि हुनसक्ने भन्दै धम्क्याएपछि अभिभावक पछि हट्न बाध्य भए । नुवाकोटे केटो हुँदै हुँदैन भन्ने बुवा–आमा, अन्त्यमा ‘तिमीहरूको मन मिल्छ भने हाम्रो केही लाग्दैन’ भन्ने स्थितिमा पुगे । ०७४ वैशाखमा दिप्ती र ऋषिको विवाह भयो । विवाहको केही समयपछि नै मेडिकल खोले, बसुन्धराको इशान हस्पिटलनजिकै । कमाइ राम्रै थियो । ससुरालीको अलि बढी लगानी थियो । 

तर मान्छे आफ्नो दुःखले कम र अरुका सुखले बढी जल्छ । सँगै पढेका साथीहरू वैदेशिक रोजगारीका लागि चोर बाटो हुँदै इराकतिर हान्निएको र मासिक ५ देखि ७ लाखसम्म कमाइ गरिरहेको देखेपछि ऋषिको मन पनि त्यतै मोडियो । बाँचे धनको थुप्रो, मरे हाडको थुप्रो भन्दै दलाललाई ५ लाख कुझाएर इराक पुगे । त्यहाँ स्वदेशमा जस्तो हल्लिएर र अरुको कुरा काटेर खान पाइँदैन थियो । जति काममा जोतिन सक्यो उत्ति डलर झर्दथ्यो । मासिक कमाइ डेढ लाख हाराहारी । ७८ सालसम्म त्यहाँ बस्दा झण्डै ३५ लाख रकम दिप्तीको खातामा आइसकेको थियो । 

यो अवधिसम्म टेलिफोन सम्पर्कमा माया, प्रेम र भविष्यका योजनाहरू बुनिरहेका थिए ऋषि । च्याटमा कुराकानी हुँदा भन्थे– तीन बर्ष आर्जन गरेको रकमले काठमाडौंमा एउटा घडेरी लिनुपर्ला अनि त्यही जग्गा धितो राखेर घर बनाइएला । ससुरालीको अगाडि आफ्नो घर बनाएर देखाउने प्रण थियो । यसर्थ तीन वर्षसम्म लगातार दिप्तीको खातामा पैसा पठाउँदै गयो । आफ्नी जीवनसाथीप्रति शंका गर्नुपर्ने कुनै कारण पनि त थिएन । घर फर्कने समय जति–जति नजिकिँदै थियो, दिप्ती र ऋषिबीचको दोहोरो वार्तालाप टुट्दै गयो । अन्त्यमा उताको फोन यताबाट रिसिभ हुन छाडेकै थियो । कालान्तरमा ब्लक नै हानिदिइन् दिप्तीले । मात्र ०७९ साल भदौमा ऋषि स्वदेश फर्किए । एयरपोर्टबाट सिधै बसुन्धरा पुगे । महिना दिनअघि नै मेडिकल बेचेको जानकारी मिल्योे । ससुराली पुगेर सोध खोज गर्दा उल्टै ससुराले झपार्दै जवाफ फर्काएछन्– ‘तिमीलाई नै भनेर तिम्रै जिम्मा लगाएकी मेरी छोरी कहाँ गई तिमी नै जानौला ।’ उनले दिप्तीको चारैतिर खोजी गर्दा पछि चाल पाए कि उनी कान्ती हस्पिटलका एउटा डाक्टरको पछि लागेर अहिले त्यहीं जागिर खान थालेकी छन् । 

भन्छन्– संसारको जग प्रेम र विश्वासमा अडिएको हुन्छ । तर घात र प्रतिघातको यो दुनियाँमा कसको मनमा को नै पो पस्न सक्छ र ? उनले दिप्तीलाई अनुनय विनय गरे आफूसँगै हिँड्न । उल्टै ह्यारेसमेन्ट गरेको भन्दै प्रहरी लगाइयो । श्रीमती हो तर विवाह दर्ताको कुनै कागजात छैन । विदेशबाट एकाउन्टमा पैसा हालेको विवरणसहित ऋषि अहिले प्रहरीकोमा पुगेका छन्, न्याय खोज्दै । दिप्तीलाई बुझ्न र चिन्न नसक्दा ऋषिको हालत न रह्यो बाँस न बज्यो बाँसुरीको बन्न पुगेको छ । न त कमाएको ३५ लाख रकम हातमा छ न हिजो प्राणभन्दा प्यारो ठानेर जीवन साथी बनाएको र सिन्दुर हालेर बिवाह मण्डपमा सात फेरो मारी सात जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएकी श्रीमती नै साथमा छ । न्यायको नौ सिङ भएको मुलुकमा प्रहरी–प्रशासनबाट न्याय पाइएला ? हेर्न बाँकी नै छ । हिजो शून्यबाट उठेर संघर्ष गरेका ऋषि आज शून्यकै स्थितिमा छन् । हातमा बचेको छ त उही अहेब उत्तीर्ण गरेको एउटा सर्टिफिकेट मात्र । 

– दीपेन्द्र पुडासैनी, ऋषि र दिप्तीको क्लासमेट 
 

टिप्पणीहरू