थालियो बुढासुब्वा गोल्डकपको तयारी

थालियो बुढासुब्वा गोल्डकपको तयारी

बुढासुब्वा टुबोर्ग गोल्डकपको २३ औं संस्करण आगामी फागुनमा हुने भएको छ । पछिल्लो दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं संस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्न लागिएको हो ।

२०५५ सालदेखि निरन्तर हुँदै आएको बुढासुब्वा गोल्डकप कोरोना महामारीका कारण विगत दुई वर्ष यता हुन नसकेको हो । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । 

प्रतियोगिता सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

पछिल्लो बिजेता मनाङ मस्र्याङ्दी क्लबले पुरस्कार राशी नदिएको भन्दै धरान फुटबल क्लबलाई सहभागी नगराउन लेखेको पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि क्लबले तीव्र आलोचना खेपेको छ । 

क्लबले कोरोना महामारीको कारण राखेपबाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको साथै प्रथम पुरस्कार राशी तत्कालिन १ नम्बर प्रदेश सरकारबाटसमेत प्राप्त नभएकाले पुरस्कार राशी दिन नसकेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

क्लबले २३ औं संस्करणको प्रतियोगिता अगावै पुरस्कार राशी सम्बन्धित क्लबहरूलाई उपलब्ध गराइने अखिल नेपाल फुटबल संघमार्फत जानकारी गराइसकेको बताएको छ ।

टिप्पणीहरू