जन्मदिनहरू

जन्मदिनहरू

देश रिभर्स गियरमा परिसकेको रहेछ । त्यसैले पुस २७ गते सार्वजनिक विदा दिने घोषणा भएको छ । पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा । किनभने देशका आदिवासी जनजातिको घाँटी निमोठेरै भए पनि उनले राष्ट्रिय एकीकरण गरे । 

अब पुस २७ मा राजा पृथ्वीनारायणको जन्मदिन मनाउने भए पुस १४ मा राजा वीरेन्द्रको जन्मदिन किन नमनाउने ? किनभने देशमा बहुदलीय व्यवस्था त उहाँले नै ल्याइदिएको हो । उहाँले नदिएको भने देशमा बहुदलीय प्रजातन्त्र कसरी आउँथ्यो ? 

त्यसरी नै कुन महिना कुन गते पर्छ होला, राजा महेन्द्रको जन्मदिन पनि किन नमनाउने ? आखिर उहाँले पनि देशलाई विदेशी चंगुलबाट मुक्त गर्नुभएकै हो । उहाँले प्रयास नगरेको भए यो नेपाल नेपालै पो रहने थियो कि थिएन ? 

ठीक त्यसरी नै राजा ज्ञानेन्द्रको जन्मदिन पनि मनाउनै पर्छ होला । उहाँ त झन् यो देशलाई गणतन्त्र दिलाउने राजा हुनुहुन्छ । उहाँले सत्ता छोडेकै कारण देशमा गणतन्त्र आएको हो । उहाँले सत्ता नछोडेको भए गणतन्त्र कसरी आउँथ्यो ? देशलाई गणतन्त्र बनाउने राजाकै जन्मदिन नमनाउने भए यो गणतान्त्रिक व्यवस्थाको अर्थ नै के रह्यो ? यसमा प्रधानमन्त्री कमरेड दाहाल के भन्नुहुन्छ ?
 

टिप्पणीहरू