भरतपुरमा खानेपानीको विशाल निर्माण

भरतपुरमा खानेपानीको विशाल निर्माण

मेयर रेनु दाहालको सक्रियतामा भरतपुरमा खानेपानीका थुप्रै आयोजना अगाडि बढेका छन् । तीमध्ये नेपाल सरकारको लगानीमा देशकै ठूलो खानेपानी ट्याङ्की निर्माण पनि एउटा आयोजनामा समेटिएको थियो । त्यस विशाल ट्याङ्कीको निर्माणकार्य अन्तिम चरणमा पुग्दै गर्दा महानगर प्रमुख दाहालबाट गत बिहीबार निरीक्षण गरियो । वनको जग्गामा आफ्नै पहलमा ठडिएको विशाल ट्यांकी देख्दा उनी खुशी देखिएकी थिइन् ।

जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तर्गत भरतपुर खानेपानी व्यवस्थापन बोर्डकै पछाडिपट्टि नौसय घनमिटरको ओभरहेड ट्याङ्की बनिरहेको छ । ९० प्रतिशत काम सम्पन्न भइसकेको र अबको दुई महिनाभित्रै निर्माण पूरा हुने बताइएको छ । यसलाई भरतपुर खानेपानी व्यवस्थापन बोर्डको पुरानो स्टिल ट्याङ्कीको विकल्पको रुपमासमेत लिइएको छ । २०/२५ वर्षअघि जाइकाले बनाइदिएको स्टिल ट्यांकी अहिले थोत्रिएको मात्र होइन, त्यसको क्षमता पनि कम भएको छ ।

बस्ती बढ्दै जाँदा पानीको माग पनि बढ्दो नै छ । चार लाख लिटर क्षमताको स्टिल ट्यांकीले नथेगेर कतिपय ठाउँमा बोरिङको पानी सीधै पाइपमा जोडेर वितरण गर्नु परिरहेको अवस्थामा नौ लाख लिटर क्षमताको नयाँ ओभरहेड ट्यांकी सञ्चालनमा आएपछि ग्राहकका धारामा पानीको प्रेसर पनि बढ्ने बोर्डका प्रशासन शाखा प्रमुख सञ्जय बरालले जानकारी दिए । उक्त बडेमाको ट्यांकीबाट भरतपुरको वडा नं. १०, ११, २, ३ र ४ का पनि केही क्षेत्रमा पानी वितरण हुने उनले जनाए । 

रेनु दाहाल सुरुमा मेयरमा निर्वाचित भएर आउँदा वडा नं. ९, ११ र १२ लाई समेटेर भरतपुर–१२ मा धनगाडा सहलगानी खानेपानी आयोजना निर्माणाधीन थियो । त्यसको उद्घाटन पनि मेयरबाटै गरियो । नेपाल सरकारको बोर्डसँग एकचोटिमा दुई वा दुई भन्दा बढी सहलगानीका आयोजना सञ्चालन गर्ने प्रावधान छैन । धनगाडा सम्पन्न भएपछि भरतपुर–११ मा जखडीमाई सहलगानी खानेपानी आयोजना सञ्चालन भएको हो । त्यसका विभिन्न घटकमध्ये बनिरहेको कंक्रीटको ठूलो ओभरहेड ट्यांकीको डिजाइन पनि नेपालमै पहिलो भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । 

भरतपुर–१० मा बोर्डहाताभित्रै रहेको स्टिल ट्यांकी जीर्ण भएर सिपेज, लिकेज हुन थालिसकेको र मर्मत पनि हामीबाट हुन नसक्ने, जापानबाटै सामग्री ल्याएर बनाउनुपर्ने हुँदा त्यसको विकल्पको रुपमा यसको परिकल्पना गरिएको उनले बताए । विस्तारकार्य भइरहेको बाइपास सडकको फुटपाथमा जीआई पाइप राखेर पाइपलाइन बिछ्याउने कार्य पनि ८०÷९० प्रतिशत सकिइसकेको जानकारी उनले दिए । जखडीमाई सहलगानीको यति काम मात्रै बाँकी रहेको र अबको डेढ–दुई महिनामा पूरा हुने पनि बोर्डका कार्यकारी निर्देशकले जनाएका छन् । बताइएअनुसार जखडीमाई सहलगानीको अर्काे ट्यांकी भरतपुर–११ मै बनाइएको छ चारलाख लिटरको ।  

संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको लगानीमा भरतपुरमा दुई दर्जनको हाराहारीमा खानेपानी आयोजनाहरु सञ्चालनमा छन् । कतिपय निर्माणाधीन अवस्थामा छन् भने कतिपय सम्पन्न भइसकेको र केही टेण्डरकै प्रक्रियामा छन् । यी सबै आयोजना सम्पन्न हुँदा  महानगरवासीले सर्वसुलभ रुपमा स्वच्छ खानेपानी पाउने कुराको ग्यारेन्टी भइसकेको मेयर दाहाल बताउँछिन् । अबको दुई वर्षपछि भरतपुरमा खानेपानीको समस्या नरहने उनको भनाइ छ । 

रामनगरमा पनि पछि त खानेपानीको छेलोखेलो नै हुनेछ । टोड्के खोलाको पानीले नपुगिरहेको अहिलेको अवस्थामा तत्काल अस्थायी समाधानका लागि विगत दुई वर्षदेखि ढ्यांग्रे खोलाको मुहानबाट पानी संकलन गरेर वितरण गर्न लागिएको छ । ठिमुरामा बोरिङबाट पनि दैनिक डेढ लाख लिटर खानेपानीको जोहो भइसकेको छ । अबको एक हप्ताभित्रै त्यसको उद्घाटन समेत हुने मेयरले बताएकी छिन् । त्यसो त रामनगरमा खानेपानीको दीर्घकालीन व्यवस्थापनसमेत हुँदैछ । महानगरको ढल व्यवस्थापन सँगसँगै रामनगरलाई जोडेर ठूलो एकीकृत खानेपानी आयोजनाको काम अगाडि बढिसकेको बताइरहन नपर्ला ¤

मेयर दाहाल भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष समेत हुन् । स्थानीय निर्वाचनपछि उनैको सक्रियतामा साढे तीन अर्ब भन्दा बढीको खानेपानी आयोजनाहरु भरतपुरमा सम्भव भएका हुन् । बिना मगर खानेपानी मन्त्री हुँदा यी आयोजनाहरुका काम अगाडि बढाउन धेरै सहज भएको रेनु दाहाल बताउँछिन् ।

जानकारीरहोस्, नेपालका २५ वटा मुख्य शहरहरुमा रहेका खानेपानी सेवा प्रदायक संस्थाहरुमा २०७३ मा गरिएको एक अध्ययन अनुसार भरतपुर खानेपानी व्यवस्थापन बोर्डबाट वितरित पानी शतप्रतिशत शुद्ध पाइएको थियो । अन्य सूचकहरु हेर्दा पनि भरतपुर खानेपानी व्यवस्थापन बोर्ड नम्बर वान नै देखिएको थियो । पछिल्लो समय बोर्डको सेवास्तर अझ बढेकै छ । 
 

टिप्पणीहरू