भारतीयको कम्मरमा सात राउण्ड गोलीसहित दुई वटा पेस्तोल

भारतीयको कम्मरमा सात राउण्ड गोलीसहित दुई वटा पेस्तोल

सशस्त्र प्रहरी बल नेपालको टोलीले कम्मरमा दुई वटा पेस्तोल राखेर नेपाल छिरेका भारतीयलाई पक्रेको छ । सशस्त्रको पैदल टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारतीयको साथबाट हिजो साँझ उक्त हतियार बरामद गरेको छ ।

बाराको पचरौता नगरपालिका ४ स्थित बिओपी बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले स्थानीय गुलरियास्थित नाकाबाट नेपालतर्फ आउँदै गरिरहेका ती व्यक्तिलाई नियन्त्रणमा लिएर चेक जाँच गरेको हो । भारतीय चन्दन कुमारको हाउभाउमाथि आशंका भएपछि चेकजाँच गर्ने क्रममा ती हतियार फेला परेको बताइएको छ ।

भारतको पूर्वीचम्पारण,मोतिहारी १६ बस्ने ४० वर्षे चन्दनको दाहिने कम्मरमा मोडल नम्बर २०२२ आरएफआई पेस्तोलमा तीन राउण्ड गोली लोड भएको अवस्थामा र ४ राउण्ड गोली राखिएको केएफ ७६.५ पेस्तोल समातिएको हो । सशस्त्रको टोलीले उनको साथबाट म्याग्जिन १ र उक्त हतियारमा लाग्ने गोली ७ सहित भारु ११ हजार दुई सय सत्तरी पनि बरामद गरेको छ ।

साथै उनले बोकेको आफ्नै,श्रीमती र दाइको नामको भारतीय आधार कार्ड  इएएइ मोबाइल सेट सीमसहित एक थान पनि प्रहरीको नियन्त्रणमा छ । उनलाई हिजै इलाका प्रहरी कार्यालय सिम्रौनगढमा थप अनुसन्धानका लागि बुझाइएको छ ।

टिप्पणीहरू