यसरी गरिँदैछ विमानमा ल्याइएका गाईको व्यवस्थापन

यसरी गरिँदैछ विमानमा ल्याइएका गाईको व्यवस्थापन

दक्षिण कोरियाले अनुदानस्वरुप प्रदान गरेका तीन दर्जन बढी कोरली बाच्छी र साँढे अस्ति साँझ काठमाडौंको गौचरण (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा आएका हुन् । कोरिया सरकारले नेपाललाई सहयोगस्वरुप दिएका ३६ वटा कोरली बाच्छी र छ वटा साँढेलाई एसियाना एयरको जहाज चढाएर काठमाडौं ल्याइएको हो ।

दक्षिण कोरियाको राजधानी सोलबाट गाई बोकेर उडेको जहाज बिहीबार साँझ सवा ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क चोङ्ग सुकले कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई ती गाई हस्तान्तरण गरेका हुन् ।  

नेपाल सरकारको लामो प्रयासपछि बल्लतल्ल एक सिफ्टमा ४२ बाच्छी र साँढे भित्रिएको हो । कोरियाले एक सय वटा कोरली बाच्छी र २० वटा साँढे दिने सम्झौता गरेको छ । 

तीन सिफ्ट गरेर गाई ल्याउने तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी डा. प्रदीपचन्द्र भट्टराईले बताए । लामो समयदेखि उन्नत जातको गाई भित्र्याउने प्रयास बल्ल पूरा भएको भन्दै उनले खुशीसमेत व्यक्त गरेका छन् ।  

‘नेपाल सरकारलाई उन्नत जातका गाई र साँढे चाहिएको थियो । विगत लामो समयदेखि प्रयास गरिरहेका थियौं । तर, सबैतिरको प्रयास असफल भइरहेको थियो’, उनले भने,‘१२० वटा बाच्छी र साँढे ल्याउन सक्नु ठूलो उपलब्धि हो ।’

अमेरिकी संस्था हेफर इन्टरनेशनल र नेपाल सरकारको संयुक्त पहलमा कोरिया सरकार गाई दिन राजी भएको हो । यो नेपालको दुग्ध क्षेत्रलाई रुपान्तरण गर्ने उद्देश्यले सञ्चालित ‘मिल्की वे’ परियोजनाको एक हिस्सा भएको उनले बताए ।

कुनै समय हेफर इन्टरनेशनलले कोरियालाई पनि सहयोग गरेको थियो । युद्धको चपेटामा परेको त्यतिबेलाको कोरियामा हेफर इन्टरनेशनलले नाओस आर्क फर कोरिया परियोजनाको अपरेशन शुरु गरेको थियो । 

आयस्रोत र डेरी उद्योगको विकास गर्ने उद्देश्यले गाईहरु उपलब्ध गराइएको थियो । कोरियाले त्यतिखेर एक हजार गाई सहयोगमा प्राप्त गरेको थियो । हेफरको सहयोगले कोरियालाई पशुपालन पुनःरुत्थानमा निकै सहयोग पुगेको बताइन्छ । 

हाल कोरिया विश्वका अन्य मुलुकमध्ये इजरायल, संयुक्त राज्य अमेरिका, क्यानाडा र स्पेनपछि दूध उत्पादकत्वको हिसाबले विश्वको पाँचौं राष्ट्र बनेको छ । हेफर इन्टरनेशनलले कोरिया सरकारसँग बारम्बार छलफल गरेर ती गाई नेपाल ल्याएको हो । अहिले ल्याएका कोरली गाईले दिनमा ३५ लिटरसम्म दूध दिने मन्त्रालयले बताएको छ ।

गाई व्यवस्थापन 

कृषि मन्त्रालयका सूचना अधिकारी भट्टराईकाअनुसार कोरियाबाट ल्याइएका गाई र साँढेलाई सरकारीस्तरमै राखिनेछ । ती साँढे र गाईबीच प्रजनन गराएर उन्नत जातका गाईको संख्या बढाउने उनको भनाइ छ । 

सरकारले पोखरा, लहान र गाईघाटमा राष्ट्रिय पशु प्रजनन कार्यालयको स्थापनासमेत गरेको छ । नश्ल सुधारका लागि साँढेबाट कृत्रिम गर्भाधानमार्फत वीर्य संकलन गरिने उनले जानकारी दिए । 

उन्नत जातका गाईवस्तु उत्पादन गर्ने यो सबैभन्दा प्रभावकारी माध्यम हो । धेरै दूध दिने गाई र साँढे व्यवस्थापन गर्न समस्या भइरहेको बेला वीर्य संकलन नेपालमा प्रभावकारी बन्दै गएको सरकारी पक्षको धारणा छ । नश्ल सुधारका लागि संसारभर यही प्रविधिबाट गर्भाधान गरिन्छ ।

कृत्रिम गर्भाधान 

कृषि मन्त्रालयका पशुविज्ञ टेकबहादुर ऐरकाअनुसार पहिले साँढेबाट वीर्य संकलन गरिन्छ । त्यसपछि वीर्यलाई ल्याबमा प्रोसेस गरेर राख्ने गरिएको उनको भनाइ छ । वीर्य माइनस १९६ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ । 

यो लिक्विड नाइट्रोजनमा मात्र सम्भव हुने पशुविज्ञ ऐर बताउँछन् । त्यसपछि ढुवानी गर्न सकिने ठाँउमा लगेर प्राविधिकको सहायताबाट वीर्य गाईमा गर्भाधान गराइन्छ । आर्टिफिसियल इन्सेमिनेशन गन नामक औंजारबाट गर्भाधान गराइने उनले जानकारी दिए । 

उनले प्राकृतिक माध्यमबाट पनि गर्भाधान गराउन सकिने बताए । साँढेलाई गाउँगाउँमा पुर्याएर प्राकृतिक रुपमा पनि गर्भाधान गर्न मिल्ने उनी बताउँछन् । यसो गर्दा स्थानीय जातका पशुमा ५० प्रतिशत उन्नत जात सर्छ ।

अन्य मुलुकसँग भइरहेको प्रयास 

दक्षिण कोरियापछि छिमेकी मुलुक भारतबाट राँगा र भैंसी ल्याउन निरन्तर प्रयास चलिरहेको छ । तर, अन्य मुलुकले उत्तम जीनका पशुहरु दिन नमान्ने सरकारी अधिकारीहरु बताउँछन् । ‘अन्य मुलुकले असल जातका पशु दिनै मान्दैनन् । अरु मुलुकको उत्पादन बढ्छ भन्ने सोचाइले गर्दा पनि पशु ल्याउन निकै अप्ठ्यारो छ’, एक अधिकृतले भने । 

५–६ वर्षको प्रयासपछि बल्ल गाई नेपाल आएको उनको भनाइ छ । अन्य पशुका लागि पनि प्रयास गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । हालको लागि यो नै सबैभन्दा उपलब्धि भएको मन्त्रालयका पदाधिकारीहरु सुनाउँछन् । दुग्ध क्षेत्रमा यसले निकै फड्को मार्नेमा मन्त्रालय विश्वस्त छ ।

दुग्ध क्षेत्र फस्टाउन नसक्नुको कारण 

हाल नेपालमा ७५ लाख दूध दिने गाई हुर्किरहेका छन् । तीमध्ये अधिकांश स्थानीय जातका छन् । कम आहारा, पशुचरण क्षेत्रको अभावले गर्दा दुग्ध क्षेत्र सोचेअनुरुप फस्टाउन सकिरहेको छैन ।

त्यस्तै, नेपालमा व्यवसायिक रुपमा पशुपालन हुन नसकेको पशुविज्ञहरुको ठम्याइ छ । एकाध गाई पालेर व्यावसायिक पशुपालन नहुने पशुविज्ञ ऐर बताउँछन् । 

अर्को प्रमुख कारण बजारको अभाव हो । दूध छिट्टै बिग्रिर्ने वस्तुमा पर्दछ । सडक र ढुवानी साधनको अभाव हुँदा गाउँघरमा उत्पादन भएको दूध त्यत्तिकै खेर गइरहेको छ । 

एकातिर स्थानीय जातका गाईले थोरै मात्र दूध दिन्छ भने अर्कोतिर उत्पादन भएको दूध पनि बिक्री गर्ने बजार छैन । त्यसैले किसानको दुग्ध क्षेत्रमा आकर्षण घटेको उनीहरुको बुझाइ छ ।

टिप्पणीहरू