दिउँसो घुससहित समातिएका प्रहरीहरु राति कागज गरेर छुटे

दिउँसो घुससहित समातिएका प्रहरीहरु राति कागज गरेर छुटे

घुस लिँदालिँदै हिजो रंगेहात समातिएका प्रहरी जवानहरु मुक्त भएका छन् । पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ऋषि कँडेलले उनीहरुलाई राति नै छाडेका हुन् । पश्चिम नवलपरासीको बर्दघाट र दक्षिणी सीमा क्षेत्रमा खटिएका दुई जना प्रहरी घुमुवा हिजो अपरान्ह पैसा उठाउँदा उठाउँदै समातिएका थिए ।

स्थानीयको सहयोगमा प्रहरीद्वारा पक्राउ गरिएका जवान सन्दिप धवल र जीतेन्द्र रजकलाई हिजो राति नै छाडिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ । पक्राउपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । तर,कसैले सुइँको नपाउने गरी कागजात गराएर राति नै रिहा गरिएको स्रोतको दाबी छ ।

दोषी देखिएका जवान धवल यसअघि त्यस्तै काण्डमा परेर बर्खास्त भएका थिए । भर्खरै  उनको जागिर थमौती भएको हो । गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीले अति नै जोडबल गरेपछि धवलको पुनर्वहाली भएको बताइन्छ । 

चुनावको रिण तिर्न गाह्रो भो भन्दै हैरान पारिएपछि उनीहरु पैसा उठाउन गएको स्रोतको दाबी छ । एसपी कँडेलले माथिको दबाब खेप्न नसकेपछि उनीहरुलाई छाडेका हुन् । नवलपरासीका प्रहरीहरुले हिजै एसपी ऋषिले उनीहरुलाई छोड्न सक्ने अनुमान लगाएका थिए । जुन सत्य साबित भएको छ । 

बर्दघाटमा यसअघि इन्स्पेक्टर कपिल ज्ञवाली सडकमा गाडीले हानेर मारिएका थिए । मोबाइल तस्करीलगायत विभिन्न काण्डमा मुछिएकै बेला गाडीले हान्दा उनी बितेका हुन् । पछि प्रहरीले गरेको अनुसन्धानबाट धवलले तस्करीको रकम ज्ञवालीलाई बुझाउने गरेको तथ्य खुलेको थियो । 

कानुन पढेका डिआइजी मुकुन्द आचार्य र नयाँ दिल्लीबाट आएका डिआइजी प्रकाश अधिकारीले उनलाई पुनर्वहाली गर्न मानेका थिएनन् । तर अहिले पुनर्वहालीपछि दक्षिणी बोर्डरमा धवल र रजकलाई रकम उठाउने कार्यमा पठाइएको बताइन्छ ।

अनियमितता रोक्न, अवैध कार्यलाई निरुत्साहन गर्न र सर्वसाधारणलाई सुरक्षा दिलाउन खटिनुपर्ने प्रहरीहरु पछिल्लो समय विभिन्न काण्डमा मुछिन थालेका छन् । शान्तिसुरक्षा गर्न छोडेर प्रहरीहरु घुमुवाका रुपमा खटिएका छन् । अवैध कार्यमा प्रहरीकै संलग्नता देखिन थालेको छ । प्रहरीहरुले आफ्नो बर्दीको दुरुपयोग गर्न थालेका छन् । अन्य क्षेत्रमा मात्र नभई सुरक्षा क्षेत्र पनि दण्डहीनता प्रवृत्तिको थलो बनेको छ । एसपी झुर हुँदा उनीहरु छुटेको आरोप

नवलपरासीका एसपी कँडेलसंग निर्णायक क्षमता नभएको बताइन्छ । नुवाकोटमा रहँदा उनीमाथि विभिन्न आरोप लागेको थियो । सबैले पूर्वाग्रह साँध्दा त्यतिबेला उनको प्रमोशन हुन सकेन । दुईचोटि प्रमोशन छुटेका उनलाई आफूभन्दा पछिल्लो ब्याचका रमेश थापाले उछिने । पछि उनको भक्तपुरको जगातीमा सरुवा भयो । 

एमाले नेता महेश बस्नेत र तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई हात लिएपछि बल्लतल्ल उनको पदोन्नति भएको थियो । पदोन्नतिको एक नम्बरमा भुवनेश्वर तिवारी र दुई नम्बरमा उनी परेका थिए । पर्वतमा पोस्टिङ हुँदा बालुवा काण्डमा मुछिएका तिवारी पनि लामो समयसम्म एकै ठाँउमा खुम्चिएर बसे । 

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ऋषिलाई पश्चिम नवलपरासी लगेका हुन्  ।  आफ्नो कार्यसम्पादनले नभई अर्कोको जोडबलमा त्यहाँसम्म पुगेका एसपी कँडेल आफ्नो धारणा राख्न सक्दैनन् यसर्थ घुस्याहालाई कागज गराएर छाडिरहन्छन् ।

टिप्पणीहरू