बिहेभोजले निम्त्याएको बेमोज: खानेहरु सिकिस्त, ब्रान्डेड होटल सिल

बिहेभोजले निम्त्याएको बेमोज: खानेहरु सिकिस्त, ब्रान्डेड होटल सिल

    ठूलो ब्रान्डेड होटल भनेर महँगो पैसा तिरेर के गर्नु ? खाना स्वस्थकर नहुँदो रहेछ ¤ दुलहीका परिवारले सकेसम्म पाहुनालाई राम्रै, मीठै ख्वाउन ठूलै ब्रान्डेड होटल रोजेका थिए । भरतपुर विमानस्थल पछाडि रहेको चितवन गार्डेन रिसोर्टमा ५२६ जनालाई खानामात्रै सात लाखको अर्डर गरिएको थियो । 

    गत मंसिर २३ गते भरतपुरकी केटी र गैंडाकोटका केटाबीच चितवन गार्डेन रिसोर्ट (सिजीआर)मा बिहे हुँदा पाहुनालाई भोजमा जीरा राइस, दाल मखनी, मिक्स भेज करी, मटर पनिर, साग, मटन करी, चिकेन रोस्ट, माछा, रोटी, प्लेन नान, तीन किसिमको सलाद, दुई किसिमको अचार, पापड, दहीसहितको लालमोहन अनि कोल्डड्रिंक र आइसक्रिमको पनि व्यवस्था गरिएको थियो । यो बिहेभोज खाने धेरैजना बिरामी भएर ढलेपछि जिल्ला प्रशासन कार्यालय चितवनले रातारात होटल नै सिल गरिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा गएको टोलीले अस्ति बेलुकी करिब साढे सात बजे होटलको किचनमा तालाबन्दी गरिदिएको हो । 

    बिहेभोज खाएर सिकिस्त भएकाहरु थुप्रैलाई अस्पताल भर्ना गर्नुपरेको छ । कति अस्पतालमा जँचाएर घरमै बसी औषधि खाने पनि छन् । रिसोर्टले पठाएको भरतपुरकै नेशनल सिटी हस्पिटलमा मात्रै हिजोसम्म ४५ जनाजति भर्नै गरेर उपचार गरिएको बताइन्छ । स्वास्थ्य समस्या लिएर ओपिडीमा जँचाउन त थुप्रै गए– सय भन्दा बढी । यो बाहेक अन्य अस्पताल र मेडिकलहरुमा पनि उक्त बिहेभोजले बिरामी भएकाहरुको उपचार भएको बुझिएको छ ।

    घटना हेर्दा फुड पोइजनिङ भएको देखिन्छ । पेट दुख्ने, बान्ता र पखाला हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता उस्तै किसिमका लक्षण सबैमा पाइएको छ । २३ गते भोज खाएकी गैंडाकोटकी कमला सापकोटा ढकाल हिजो पनि नेशनल सिटी अस्पतालको बेडमै थिइन् । ‘भोज खाएकै दिन रातिबाट पेट दुख्यो । बिहान एकदम जाडो भयो, कामज्वरो आयो’, उनले भनिन्, ‘पखाला र बान्ता पनि हुन थाल्यो । मुखभित्र घाउ आएर पाछेको छ ।’ सुरुमा गैंडाकोटकै एक स्वास्थ्य संस्थामा १५÷१६ हजार खर्च गरी उपचार गराउँदा ठिक नभएपछि उनी नेशनल सिटी हस्पिटलमा भर्ना भएकी हुन् । आन्द्राको नसा पनि फुलेको, पेटमा पानी जमेको र यो इन्फेक्सन एक महिनासम्म पनि रहनसक्ने डाक्टरको भनाइ उद्धृत गर्दै उनले बताइन् । 

    बिहेभोजले दुलहा र दुलहाका बाबु पनि बिरामी भएको बुझिन्छ । बताइएअनुसार दुलहीलाई पनि अलिअलि समस्या भएको थियो । दुलहाका काका हिजो पनि नेशनल सिटी अस्पतालको बेडमै भेटिए । २४ गते बेलुकीदेखि बिरामी परेको, घर अगाडिको मेडिकलबाट औषधि खाँदा ठिक नभएपछि २५ गते यहाँ भर्ना भई उपचार गराइरहेको उनले बताए । उही टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, शरीर दुख्ने जस्ता समस्याका साथै रगत र मृगौलामा पनि समस्या देखिएको उनी बताउँछन् । आन्द्रासमेत सुन्निने र कसैकसैको नाकमुखबाट रगत पनि आएको बताइन्छ । 

    घटनापछि जिल्ला बजार अनुगमन समितिले गत मंगलबार दिउँसो चितवन गार्डेन रिसोर्टमा छापा पनि मारेको थियो । होटलको किचन, खाद्यसामग्री, कटिङ बोर्ड, स्टोर, फ्रिज, पानी सबै निरीक्षण गरियो । त्यहाँ प्रयोग भइरहेको अवि फ्रेस मिनिरल वाटर र ट्यांकीको पानी परीक्षणका लागि नमूना लिइयो । स्टोरमा म्याद गुज्रेका खाद्य सामग्रीसमेत भेटिए । डेट एक्स्पायर्ड र ननएक्सपायर्डलाई एकै ठाउँमा राखिएको अवस्था थियो । त्यत्रो ठूलो होटलमा फ्रिजको तापक्रम पनि ठिक देखिएन । तरकारी र फलफूलमा भुसुना भन्किरहेको थियो । खाना पकाउने र भाँडा माझ्ने ठाउँ एकैसाथ खुल्ला पाइयो । जाली लगाएपनि किचनको ढोका खोलिरहने अवस्था हेर्दा त्यसबाट पनि ब्याक्टेरिया तथा संक्रमण भित्रिनसक्ने देखियो । सलाद पखाल्न प्रयोग गर्ने भनिएको केमिकलको म्याद गुज्रिएको थियो । अनुगमन टोलीले म्याद गुज्रिएका सामग्रीहरु बराबद पनि गरेको छ ।    

    २३ गते सिजीआरमा भोज खाएकाहरु २५ गतेमात्रै बिरामी भएको खबर आफूले पाएको र २४ गते गैंडाकोटकै नारायणी रिसोर्टमा दुलहाको भोज थियो भन्दै चितवन गार्डेन रिसोर्टका सञ्चालक जनार्दन रिजालले ठ्याक्कै आफूहरुकै गल्ती, कमजोरी हो भनेर स्वीकार्न चाहेनन् । तर नारायणीमा नखानेहरुसमेत बिरामी भएको पत्ता लागेपछि सिजीआरमा सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘सिजीआरको समस्या हो कि नारायणीको भन्ने पहिले क्लियर थिएनौं’, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले भने, ‘मंगलबार साँझ क्लियर भयो ।’

    घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सिजीआरबाट ल्याइएको पानी अनि मसला र तेलको मिश्रण परीक्षणका लागि हिजो केन्द्रीय खाद्य प्रयोगशालामा पठाइएको छ । ‘बिरामीको रिपोर्ट पनि कलेक्सन गर्दैछौं’, सहायक प्रजिअ शर्माले भने । 

    जानकारीरहोस्, सिजीआर होटलमा २४ गते र २५ गते अरुको पनि पार्टी थियो । त्यहाँ भोलिपल्ट र पर्सिपल्ट खानेहरु पनि बिरामी भएर अस्पताल धाइरहेको पाइएको छ । २५ गते बिहेभोज खाएका भरतपुर–१० का कलाधर पौडेल हिजो नेशनल सिटी अस्पतालमा उपचारका लागि गएका थिए । भोज खाएपछि क्रमशः पेट फुल्न थालेको ७० वर्षीय वृद्धले बताए । – अजय गोर्खाली  
 

टिप्पणीहरू