सिधा कुराको टिमलाई बयानमा झिकाउने अदालतको आदेश

सिधा कुराको टिमलाई बयानमा झिकाउने अदालतको आदेश
सुन्नुहोस्

सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई बयानका लागि बोलाएको छ । न्यायाधीशद्धय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा उनीहरुलाई बयानमा झिकाउने आदेश दिएको हो । 

अदालतको अवहेलनाको मुद्दामा कारबाही र सजाय गर्नुपर्ने कुनै कारण नभए वैशाख २० गते बिहान १० बजेभित्र अदालतमा उपस्थित हुन र बयान दिन आदेशमा भनिएको छ । त्यस्तै, वैशाख १४ गते सम्प्रेषण भएको ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेशन’  शीर्षकको सामग्री २४ घण्टाभित्र हटाउन र अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण र पुनः प्रशारणलगायत सार्वजनिक गर्ने कार्य गर्न/नगराउन पनि आदेश दिइएको छ । 

अनलाइन र त्यसमा कार्यरत सञ्चारकर्मीविरुद्ध हिजो सर्वोच्चमा अवहेलनाको मुद्दा दायर भएको थियो । अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले उक्त मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध सबै न्यायाधीशको सल्लाहबमोजिम अवहेलना मुद्दा दर्ता गरेका हुन् ।  

रिटमा ‘चार सय मुद्दा हराउने गोप्य डिल,सर्वोच्चका न्यायाधीश,कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा लगातार  प्रशारण गरेको भिडियो रिपोर्टमा उल्लेख गरिएको विषय भ्रामक, नियोजित र कपोकल्पित रहेको जिकिर गरिएको छ ।

रिटमा भनिएको छ, ‘नियोजित ढंगबाट प्रशारित सामग्रीले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत निवेदन पेश गरेको छु ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जिबी राईद्धारा सञ्चालित ‘ग्यालेक्सी फोर के’ मा प्रसारित हुने गरेको सीधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सीधा कुरा डटकम’ ले पछिल्लो समय ‘द डार्क फाइल’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको ‘स्टिङ अपरेशन’ को फैसला गर्नुअघि सेटिङ्ग भएको एक शंकाश्पद अडियोसमेत  सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू