हाम्रो पार्टी फुट्ने ? कसले भन्या’ यस्ता उडन्ते कुरा ?

हाम्रो पार्टी फुट्ने ? कसले भन्या’ यस्ता उडन्ते कुरा ?

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे उक्त पार्टीमा माधवपछिको वरियतामा पहिलो नम्बरका उपाध्यक्ष हुन् । जसपाको विभाजनपछि माधव नेपालको प्रधानमन्त्री हुने दौडमा समस्या आयोमात्रै हैन, विभाजनको लहरले उक्त पार्टीलाई पनि समात्ने चर्चा बजारमा छ । भन्न त सोमबारको संसदीय दलको बैठकपछि त्यस्तो भ्रममा नपर्न भनिएको छ । तर, राजनीतिक बजारमा एकीकृत समाजवादीलाई विभाजित गरिँदैछ भन्ने हल्ला सेलाउन सकेको छैन । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले आनाकानी गरिरहेको स्थितिलाई सत्ता गठबन्धनले अर्को मोड लिने पो हो कि भनेर पनि राजनीतिकबृत्तमा चर्चा छ । यिनै विषयको सेरोफेरोमा पाण्डेसँग कुराकानी गरिएको हो ।

– हरि गजुरेल

० जसपा विवादको बाछिटा एकीकृत समाजवादीमा पर्न लाग्यो भन्ने हल्ला राजनीतिक वृत्तमा व्यापक छ नि !

– त्यस्तो केही बाछिटा पर्ने सम्भवना छैन । हाम्रो पार्टीको अहित चिताउनेहरुले प्रचार गरेको कुरामात्र हो । 

० आइतबार नै ४० प्रतिशत नपुगेका कारण रोकिएको हल्ला थियो त ?

– कसैले पार्टी फुटाउने भनेर एक शव्द उच्चारण गरेका छैनन् । पार्टी कसले र किन फुटाउने ? हामी त माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्दछ भन्ने प्रस्ताव अगाडि बढाएर हिँडेका मान्छे हौं । प्रधानमन्त्री बन्नका लागि १ सय ३८ सीट चाहिन्छ । त्यो सिट ल्याउन हाम्रै पार्टी मजबुत हुनुपर्छ । हामीसँग विचार, कुराकानी, कार्यक्रम मिल्नेसँग सल्लाह गर्नुपर्छ भनेर हामी हिँडेका छौं ।

० के यही गठबन्धनबाट त्यस्तो सम्भावना होला ?

– व्यक्तिगत रुपमा म अहिलेको गठबन्धन काम छैन भन्ने मान्छे हुँ । यो गठबन्धन जन्मँदै षड्यन्त्रपूर्वक ढंगबाट जन्मियो । अहिले उपेन्द्र यादवको साथ लिएर उपेन्द्र यादवकै छातिमा छुरा हानियो । उपेन्द्रले साथ नदिएको भए यो गठबन्धन बन्दैनथ्यो । उहाँको साथ भएपछि हामी पनि त्यहाँ पुग्यौं । हामीलाई छोडेकै थिए, साथ लान खोजेका थिएनन् । रास्वपा, एमाले, जसपा र माओवादी मिलेपछि १ सय ३८ पुग्यो, पछि उपेन्द्रले नै एकीकृत समाजवादी पनि चाहिन्छ भने पछिमात्र हाम्रो पार्टी सरकारमा संग्लग्न हुन पुगेको हो । त्यसैले यो षड्यन्त्रपूर्वक गठबन्धनको काम छैन । मैले त दुईजनालाई मन्त्री बनाउनुभन्दा बाहिर बस्न ठीक हो भनेको छु । सरकारलाई समर्थन दिऔं, तर सरकारमा नबसौं भनेको हुँ । किनभने, यो सरकारमा बसेर हाम्रो भलो हुँदैन । माधव नेपाललाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हाम्रो दलभित्रका १८ जना सांसदकै एक मत छ । 

० मतलब, पार्टी फुटाउने कुरा हैन ?

– कहाँबाट हाम्रो पार्टी फुट्ने ? कसले भन्या’ यस्ता उडन्ते कुरा ? यस्तो उडन्ते कुरामा कहाँ तर्क छ ? हाम्रो पार्टीलाई सरकारमा नरहेका मान्छेहरुले फुटाइदिने होइन । संसदभित्र रहेका मान्छेले फुटाउन चाहँदा फुट्ने हो । कोही पनि यो पार्टी फुटाउने पक्षमा छैनौं भने पछि जसपा फुटको बाछिटा यहाँ पनि आइपुग्छ भन्ने कुरा आतंक सिर्जना गर्ने, हाम्रो पार्टीभित्र कन्फ्युजन सिर्जना गर्ने, एक–अर्काेमा शंका फैलाइदिने, नेता–नेताबीच अविश्वास पैदा गराइदिने षड्यन्त्रमात्र हो ।               

० जसपा केपी ओलीको इशारामा फुटेको हो ?

– अहिलेको गठबन्धनमा जसपा र एकीकृत समाजवादीको टिम नै बाहिर निस्कियो भने सरकार ढल्छ भन्ने एक प्रकारको हिसाबअन्र्तगत हाम्रो पार्टी फुटाउन सम्भव भएन । यही जसपालाई फुटाएर सात जनालाई अलग्गै बनाइदिने, सात जनालाई सरकारमा लगेपछि गठबन्धन टुट्दैन भन्ने योजनाका साथ काम भएको देखिन्छ । हरेक मान्छेको मुख मुखबाट वा राजनीतिक विश्लेषकले समेत प्रचण्ड र ओलीकै हात हो भन्ने गरेका छन् । उनीहरुकै षड्यन्त्रमा जसपा फुटेको हो भन्दा रहेछन् ।  

० निर्वाचन आयोगले  खारेज भइसकेको अध्यादेशमा टेकेर अशोक राईको पार्टी दर्ता गरिदिएको छ । अध्यादेश खारेज भइसकेपछि संसदले बनाएको कानुन नै सक्रिय हुनुपर्ने हो । पुरानै कानुन क्रियाशील भएको मान्ने हो भने नयाँ दल दर्ताका लागि संसदीय दल र केन्द्रीय समिति दुबैतर्फ ४० प्रतिशत सदस्य हुनु आवश्यक छ । संसदीय समितिबाहेक ४० प्रतिशत पुग्दैन । जसपा फुटमा निर्वाचन आयोगको खोट कतिको देख्दै हुनुहुन्छ ?

– निर्वाचन आयोग आफैंमा ओलीजीको छायाँजस्तो देखियो । अघिल्लो दिन दल दर्ता गर्ने, भोलिपल्टै प्रमाणपत्र पाइहाल्ने † एमालेसँग विद्रोह गरेर हामीले पनि अध्यादेशमार्फत नयाँ दल दर्ता गरेका थियौं । हामीले २ गते दर्ता प्रस्ताव गरेकोमा प्रमाणपत्र पाउन ९ गते कुर्नु परेको थियो । छानवीन हुनुपर्छ भनेर हामीलाई सात दिन लगाइयो । तर, जसपाको हकमा त्यस्तो भएन । अघिल्लो दिन दर्ता, भोलिपल्टै प्रमाण पत्र पाउने नाटकीय काम भयो । यो भनेको पहिल्यै निर्वाचन आयोगसँग सरसल्लाह भएको, विधि–विधानदेखि सबै कुराको व्याख्या विश्लेषण, क्रस चेक गर्ने सबै काम सकेर सेटिङमा यी सबै काम भएको जस्तो देखियो । 

० दलीय विभाजनको यो श्रृंखलाले मुलुकको राजनीति कहाँ पुग्ला ?

– मुलुकलाई पूर्ण रुपमा राजनीतिक स्थिरता दिने सम्भवना थियो, जो ओलीजीले नै अन्त्य गरे । दुई–दुई पटक संसद विघटन गराए । सर्वाेच्चको फैसलाविपरित पनि संसद विघटन गराए । यो अन्त्यहीन श्रृंखला चलिरहन्छ । एउटा यस्तो दिन आउँछ, यसरी गयौं भने देशै समाप्त हुन्छ भन्ने ठाउँमा पुगेको दिन हामीलाई रियलाइज होला । 

० ओलीसहितको अहिलेको गठबन्धन फलदायी भएन भन्ने निश्कर्षमा पुग्नुभएको हो तपाईंहरु ? 

– विश्वासयुक्त गठबन्धन भएन । चारवटा पार्टीले छोडेर गएपछि हाम्रो अध्यक्ष माधवकुमार नेपालको घरमा ओली, प्रचण्डहरु लावा–लस्करसहित पुगे । उनीहरुले ‘तपाईंले भनेका कुराहरु सबै हुन्छ, गर्छौं’ भनेका थिए । ‘समझदारीमा जान्छौं, सल्लाहमा हिँड्छौं’ भने । विश्वासको वातावरण त बनाए । तर, जब यो गठबन्धनमा हाम्रो पार्टी सामेल भयो, त्यसको भोलिपल्टैदेखि उहाँहरुले बोलेका कुराहरु उल्लंघन गर्दै जानुभयो । राष्ट्रियसभा उपाध्यक्ष दिने कुरा थियो, दिनुभएन । राष्ट्रियसभामा खालि भएको एउटा महिला सीट हामीलाई दिने कुरा थियो । त्यो पनि दिनुभएन । बागमती र सुदूरपश्चिममध्ये एउटा प्रदेशमा मुख्यमन्त्री माग्यौं । बाग्मती सुगम हुन्थ्यो, तर सुदूरपश्चिममा दिन्छौं भन्नुभयो । त्यहाँ पनि कचमच गरिरहनुभयो । दीर्घ सोडारी, हाम्रो दलको नेता । उहाँलाई हामीले अगाडि सार्‍यौं । ओलीजीले ‘उहाँ हुँदैन, अर्कै मान्छे लेऊ’ भन्न थाले । हाम्रो पार्टीभित्र सुँड छिराउने, हाम्रो पार्टीको दावेदार पनि उहाँले छानिदिनुपर्ने, उहाँहरु केन्द्रीय कार्यालय, हामी ब्राञ्च अफिसजस्तो ! बागमतीमा हाम्रै कारणले उहाँहरुले विश्वासको मत पाउनुभएको छ । हाम्रो एउटा साथीलाई बिनाविभागीय मन्त्री बनाउनुभयो । बिहान उहाँलाई बिनाविभागीय मन्त्री बनाउनुभयो, बेलुका एमालेका चार जनालाई मन्त्रालयसहित शपथ खुवाउनुभयो । महिना दिनसम्म उहाँ बिनाविभागीय भएर बस्नुभएको छ ।  केपी ओलीले पटक पटक ‘दश सीटेले प्रधानमन्त्री खोज्ने ? संविधानले नचिन्या’ मान्छे, स्वतन्त्रले प्रधानमन्त्री खोज्ने ?’  भनेर कूप्रचार, अपमान जारी राख्नुभएको छ । योभन्दा घोर अपमान के हुन्छ ? उहाँहरुले हामीमाथि अपमानै अपमान गर्ने, होच्याउने कारणले गर्दा अविश्वास छ । यस्तो अविश्वासयुक्त वातावरणमा बसेर कसरी हामी गठबन्धन भनेर हिँड्न सक्छौं ? यो गठबन्धनमा बसेर कसरी जाने भन्नेमा हाम्रो पार्टीभित्र भयंकर छलफल चलिरहेको छ । सहयात्रा कतिञ्जेल जाला ? जति दिन हामी गठबन्धनमा रहन्छौं । त्यतिञ्जेल हामीलाई नोक्सान हुँदै जान्छ । हाम्रो पार्टीमा समस्या पर्दै जान्छ । 

० सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले गरिरहेको आनाकानीभित्र कुन राजनीतिक स्वार्थ र अर्थ लुकेको छ ? 

– २३ गते अदालतमा मुद्दा थियो । दल को ? नेता को ? भन्ने बिषयमा । त्यही कुरालाई उहाँले पर्खेर बस्नुभएको हो कि जस्तो लाग्छ । म्याद छँदै छ । हतार नगरौं भनेर उहाँहरुले अल्झाइरहनु भएको छ । यो सबै घटनाक्रमले उहाँहरुले आफैं हामी निस्किएर गए हुन्थ्यो भन्ने व्यवहार गरिरहनुभएको छ ।

० एकातिर कम्युनिष्ट एकताको कुरा गर्ने, अर्काेतिर एमालेले एकीकृत समाजवादीको अस्तित्व नस्वीकार्ने, यस्लाई कसरी लिने ?

– हामी त्यो पार्टीमै विद्रोह गरेर आएका हौं । त्यसले कम्युनिष्ट आचरण गुमायो । त्यो पार्टीका नेताले गलत व्यवहार गरे । व्यक्तिवादी अंहकारमा लेनिनवादी सिद्धान्तविपरित गए । पार्टीको आदेशलाई मान्न छोडे, बहुमतको निर्णय लत्याएपछि यी व्यक्तिसँग बस्न सम्भव छैन भनेर हामीले विद्रोह गरेका हौं । हिजोको चरित्रमा आज पनि कुनै परिवर्तन छैन । ओली अहिले पनि दम्भी, अंहकारी र घमण्डी नै छन् । उनको अहिले राजतन्त्र फर्किएजस्तो छ । उनी राजा, सम्राट हुन् । उनको अनुहार हेरेर, उनले के भन्छन् होला भन्ने बुझेर अरु पछि लाग्नुपर्ने अवस्था छ । दुई दिन अगाडि भनेका पनि छन्, ‘मेरो जुँगा कालो भयो, अब कपाल कालो हुन्छ ।’ २० बर्ष कसैले चिहाउन पर्दैन भन्या’ सुनिन्छ । कम्युनिष्ट पार्टीको नेताको यस्तो शैली, बोलिबाट कम्युनिष्ट आन्दोलनलाई कति अगाडि बढाउलान् ? एकातिर जसपा फुट्यो, जसपा फुटाएकै समयमा वाम एकता सम्भव छैन । यो अहिलेको गठबन्धन पनि सहकार्य मात्र हो । वाम एकता सम्भव छैन भन्दै थिए । सोमबार फेरि अब वाम एकता गर्ने हो भनेर पासा फ्याकेका छन् । यी सबै घटनाक्रमले हाम्रो यात्रा सहज छैन, ओलीजीमा कुनै परिवर्तन पनि छैन । हामीले विद्रोह गर्नुपर्ने कारण जे थियो, हाम्रो विद्रोहका कारण वादशाहलाई घोडाबाट खसालेको जस्तो भयो । उनी प्रधानमन्त्री पदबाट ओर्लन परेको थियो । उनको हालीमुहाली घट्यो । फेरि प्रधानमन्त्री बन्न उनको चिढ्चिढाहट छ । त्यो पदमा कसरी पुगौं भन्ने चिन्ता छ । हिजोका दिनमा मेरो विरासत खोसिदिने एकीकृत समाजवादी, यही माधव नेपाल नेतृत्वको पार्टी हो भन्ने छ । त्यही कारण उनी हामीलाई सहन सक्दैनन् । वास्तवमा उनले जे गरिरहेका छन्, हिजोकै घटनाको बदलास्वरुप गरिरहेका छन् ।       

० जसपा फुटाइएसँगै पुरानै गठबन्धनलाई ब्युँत्याउने कुराको च्याप्टर क्लोज भयो भनिन्छ । त्यस्तो हो र ? 

– घटनाक्रमले बनाउने कुरा हो । मूल पार्टीहरुको व्यवहारले, नयाँ राजनीतिक परिस्थिति सिर्जना हुँदै जाने कुरा हो । यो पुरानो गठबन्धन कति ब्युँतिएला भन्ने कुरा संसदभित्र गणितको खेल हो । १ सय ३८ भएपछि सरकार बन्छ । घटनाक्रमले भन्दै जाला । 

० अहिलेको सरकारले सुशासन र समृद्धिको सवालमा केही गर्न खोजेको देख्नुहुन्छ  ?

– त्यस्तो त कल्पनै नगर्नुस् † किनभने, हिजो गिरिवन्धु टी स्टेट, ओम्नी, गोकर्णसहितका सारा कुरामा मुछिएका मान्छेहरु नै शासनसत्ताको वरिपरि छन् । प्रचण्डकै सवालमा भन्ने हो भने पनि सुनकाण्ड, नक्कली भूटानीकाण्डमा उनका सहयात्री नै मुछिएका छन् । यिनै अनुहारले नेपालमा सुशासन ल्याउँछ भन्ने कुरा ठट्टामात्रै हो । 

० नयाँ दल र स्वतन्त्रहरुले ठूला दल र व्यवस्थालाई चुनौति दिइरहेकोतर्फ के विचार गर्नुभएको छ ? 

– पुराना दलमा सुधार आएन भने आगामी निर्वाचनमा पुराना दलले धेरै ठूलो धोखा खानुपर्ने स्थिति आउँछ । स्वतन्त्र व्यक्तिले धेरै ठाउँमा निर्वाचन जित्न सक्छन् । झन् राजनीतिक अस्थिरता हुन्छ भन्ने लाग्छ । मूलतः हामी आजको परिस्थितिमा नयाँ नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरौं । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । बिनारक्तपात गणतन्त्र ल्याउन हामी सफल भएका छौं । हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकताअनुसार नेकपा एकीकृत समाजवादीले आउँदो असारमा महाअधिवेशन गर्दैछ । समाजवादी यात्राको कार्यक्रम ल्याउँछौं । देशका अरु कम्युनिष्ट पार्टीलाई समाजवादको झण्डामुनि गोलबद्ध गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गरेर अगाडि बढ्यौं भने नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र नयाँ ढंगको राजनीतिक शक्तिको जन्म हुनसक्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू