ब्यालेटको बक्समा माओवादीको मृत्युवरण

ब्यालेटको बक्समा माओवादीको मृत्युवरण

– जानुका धमला

ब्यालेट बक्समा मृत्युुहरू पनि अनेकौँ प्रकारका हुन्छन् ती मृत्युुले कसैलाई दुख्छ, कसैलाई दुख्दैन । ०६४ देखि ७९ सम्मको चुनावी यात्रा झेलेको माओवादी, म आफैँ सहभागी भएको १० वर्षको जनयुद्ध र त्यसपछिका १६ वर्ष । ०६४ सालको संविधानसभा पहिलो चुनावमा प्रत्यक्षतर्फ १२० सिट हासिल गरेको माओवादी आज किन १८ सिटमा खुम्चिएको होला ? जीवनको आहुति दिन तयार भएका हजारौँ कार्यकर्ताको हालत के छ ? सिंगो विश्वलाई टाउको दुखाइको विषय बनेको जनसेना कहाँ होला ? युद्धमोर्चामा घाइते र अपांग योद्धाहरूको अवस्था के होला ? आफूले जन्माएका सन्तानलाई कत्लेआम गर्न उद्यत गुट–उपगुट भएपछि हुने यही हो । भाइ फुटे गँवार लुटे भन्ने नेपाली उखानै छ ! सर्वहारावादी चिन्तनबाट पुँजीबादतिरको ऐंजेरु पलाएपछि यो नभएर के हुन्छ त ? यो अवस्थाले चहकिलो संकेत गरेको छ– सच्चिने वा सकिने ? म असभ्य र प्रहारक भाषाको समर्थन गर्दिनँ । तर्कका कुरा गर्छु । परिणाम हेर्दा माओेवादी पार्टीमा समेत विचारधारा शून्यता देखियो । 

लोकप्रिय कवि मणि काफ्लेले लेखेका थिए – एउटा जनमुक्ति सेनाको सुसाइड नोट । ओराली झर्ने सँग जे अनुभव हुन्छ नि, उकाली चढ्दै गरेकोसँग त्यो अनुभव हँुदैन । अवस्था र व्यवस्थाबीचमा नमिलेको तालमेल पनि यही हो । माओवादी पार्टीको रणनीतिक कार्यदिशा र दीर्घकालीन योजना यस्तो हुनुपर्ने होइन र ? पुँजी निर्माणले, उद्योग–व्यापारको विकासले, त्यहाँबाट भएको उत्पादनले, विज्ञान–प्रविधि, सूचना–सञ्चारको विकासले, भौतिक पूर्वाधार विस्तारले, शोध–अनुसन्धानले सर्वहारावर्गको उत्पत्ति र वृद्धि भएको हैन र ! समाजका सबै समस्या त्यही निजी स्वामित्वका कारण जन्मिएको हो । अशान्ति र हिंसात्मक घटना पनि त्यसैको उपज हुन् । ओछ्यान चिसिएर ब्युँझिँदा लाज, घीन, अप्ठ्यारो र सकस भयो त भयो, अब के गर्छौ ? अर्कोतिर पछिल्लो पटक हात लागेको इन्सास पनि पुलिसले फर्काइसकेको अवस्था छ । अब गर्ने के ? चुनाव संसदीय राजनीतिक व्यवस्थाको निरन्तरता हो, नवीकरण हो । नयाँ प्रणालीको व्यवस्थाको स्थापना त आन्दोलन, विद्रोह वा क्रान्तिले गर्छ । 

पुष्पकमलहरूलाई माओवादी भनेर संबोधन गरिराख्नु आवश्यक छैन । अदालतले राखिदिएको नामबाट उनीहरू अप्ठ्यारोमा परेका छन्, अब केही दिनमै त्यो बिल्ला पुनः हटाउनेछन् । अब बल प्रयोगको सार्वभौम सिद्धान्त अपनाउनेहरूले मात्र माओवादी भनेर बोली र व्यवहारबाट चिनिनुपर्छ । त्यतातिर सोच्न छाडेर कम्युनिष्टका नाममा एकता गर्न खोज्ने नियत अवसरवाद हो, माओवादी त्यसरी एकता गर्ने सवालमा सावधान रहनुपर्छ । अहिले राजनीतिमा तीन वटा प्रवृत्ति देखिँदै छन् । 

१. यो देशको नेतृत्व गर्न असफल, ४० वर्षदेखि निरन्तर असफल, राजनीतिलाई पोयाबटारेझैँ बटार्न माहिर खेलाडीहरू नै राजनीतिमा कायम रहन फेरि पनि कसरत गरिरहेका छन्। उनीहरू अहिले पनि राजनीतिलाई आफ्नो बिरासत ठानिरहेका छन् । 

२. अर्को समूह तयार हुँदै छ, उनीहरूबाट सत्ता खोस्न । तर, सोच र प्रवृत्ति उस्तै छ । ऊ पनि मालिकबाट मुक्त छैन। 

३. जो देशको समृद्धि चाहने देशभक्त छन्, उनीहरू रनभुल्ल पुँजीवादी आख्यानको दास बनेका छन । उनीहरू मदारीको खेल हेरेर ताली बजाउँछन् ।

०६३ सालमा गणतन्त्र आउँदा जन्मेका केटाकेटी अहिले १६ वर्षका भए । कम्तीमा ०५८ तिर जन्मेकाहरूलाई पनि सशस्त्र द्वन्द्वकालीन समस्या वा तत्कालीन समयका नेताको त्याग याद छैन । झन् त्योभन्दा अगाडि ०४६ को आन्दोलनबारे त थाहा हुने कुरै भएन । त्यसैले पञ्चायतकालमा संघर्ष गर्नेहरूको कथा अब बिरानो भइसक्यो । त्यो अघिको झापा विद्रोह, राणाविरोधी आन्दोलन, जनमतसंग्रह त इतिहासमा फाट्टफुट्ट पढ्ने मात्रै हो । अधिकांश युवा मतदातालाई राजनीतिक त्याग भनेको जेल बस्नु हो, प्रहरीको ज्यादती भोग्नु हो वा सामन्तसँग लड्नु हो भन्ने परेकै छैन । विकसित विदेशको प्रगति र राजनीति देखेको यो पुस्ताले पत्याउँछ त नयाँ पुस्तालाई नै ! कांग्रेसमा गगन, विश्वप्रकाश, प्रदीपलाई खोज्छ, एमालेमा गोकर्ण बिष्ट, योगेश भट्टराई, माओवादीमा लेखनाथ न्यौपाने, दीपशिखा, सरल, शरद, सुवोधजस्ता युवा खोज्छन् । ती अगाडि आउन नपाउँदा नयाँ पुस्ताले बालेन खोज्यो । पुराना पार्टीले बुझेनन् । अहिले तोसिमा, सोविता, रञ्जिता वा सिके राउतहरूलाई  खोजेको छ । अब ५ वर्षमा ०६३ पछिका मतदाताको संख्या भारी हुनेछ । हेर्दै जानुहोला – ठूला पार्टीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याएनन् भने ५ वर्षपछि यी कुनै पार्टी ठूला रहन्नन् । राष्ट्रिय दल अरू नै बन्नेछन् ।

आजको राजनीतिमा नेता भनेकै आफू ठूलो देखिन अरूलाई गिराउने तिकडम जानेको मान्छे हो । कुर्सीमा कोही गएर बसोस्, फूलमाला लिएर जाने कोही नहोस्, उसको पछि हिँड्ने कोही नहोस् । कसैले जयजयकार पनि नगरोस् । अघिपछि कोही नखटियोस् अनि को नेता हुन खोज्छ ?
 

टिप्पणीहरू