आयुक्त जानुका पनि भत्काएरै छाड्ने तयारीमा

आयुक्त जानुका पनि भत्काएरै छाड्ने तयारीमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल पनि ‘एक्सन’ मा उत्रिएकी छन् । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै  ३५ दिनभित्र अनधिकृत संरचना हटाउन सम्बन्धित सबैलाई सूचित गरेको छ । 

सूचनामा काठमाडौं उपत्यकाभित्रका सरकारी,पर्ति,ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ । ‘खाली गराएको जानकारी यस प्राधिकरणलाई गराउनुहुन,’ सूचनामा उल्लेख छ । 

तोकिएको म्यादभित्र नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

उपत्यकाका नगरहरूको पुनर्निर्माण,विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको बताइएको छ ।

टिप्पणीहरू