मारपिट उक्लियो मधेसबाट पहाडतिर

मारपिट उक्लियो मधेसबाट पहाडतिर

निर्वाचनहरू फरक–फरक परिणामका लागि मात्र हुँदैनन्, निर्वाचनपिच्छेका प्रवृत्ति पनि भिन्दै हुन्छन् । अघिल्ला निर्वाचनमा सबभन्दा बढी मारपिट तराईतिर हुन्थे, यसचोटि यो रोग पहाडमा सरेको छ । उम्मेदवारहरू चुनाव सकिँदा खर्चले हरितन्नम हुन्थे, आजकल जिते पनि, हारे पनि ‘नाफा’ मै चल्ने गरेको छ  !

यसचोटि निर्वाचनका क्रममा दोलखा, बाजुरामा बढी झडप भए । यसमध्ये बाजुरामा त एकजना एमालेसम्वद्ध युवाले ज्यान गुमाउने तहको घटना भयो । पार्टीहरूमा गठबन्धनलाई सशक्त बनाउने भयंकर ठूलो दबाब हुँदा त्यस्तो घटना भएको केही प्रहरीको विश्लेषण छ । भन्छन्– उनीहरूले आफ्ना कार्यकर्तामार्फत सक्दो हतकण्डा प्रयोग गरे, हार्ने–हार्नेजस्तो ठाउँमा अन्तिमसम्म मिले । 

प्रहरी रिपोर्टका अनुसार घण्टीलाई आएको मत रवि लामिछानेलाई नभएर कांग्रेस र एमालेप्रतिको वितृष्णा हो । यसलाई नागरिकस्तरबाट भएको शान्तिपूर्ण क्रान्ति पनि भन्न सकिने केही व्यक्तिको ठम्याई छ । दलहरूको कार्यशैलीका कारण उत्पन्न वितृष्णाले जनता यसचोटि ढुंगामुढा, शालिक, लाठीलाई भए पनि मत दिने, तर पुरानालाई नदिने मनस्थितिमै थिए ।

तर, मत खसेकै कम भयो । लोकतन्त्रमा कम मतदान हुनुलाई गम्भीर मानिन्छ । स्थानीय तह निर्वाचनको तुलनामा पनि कम मतदान भएको छ । स्थानीय तह स्थानीय विषयमा काम गर्ने ठाउँ हो । तर, प्रतिनिधिसभा भनेको राष्ट्रियस्तरको कानुन निर्माण गर्ने र मुलुकलाई आगामी पाँच वर्षसम्म नेतृत्व दिने निकाय हो । यति संवेदनशील निर्वाचनमा पुराना दल र तिनका उम्मेदवारलाई पत्याइएन । ‘नयाँ’ खोज्ने रन्कोमा जनताले उम्मेदवार नै नचिनी ‘घण्टी’ मा मतदान गरिदिए । यस्तो हुँदा कांग्रेसले आफ्ना मतदातालाई समेट्नै सकेन । अर्कातिर, लामो समय सत्तामा राज गरेका दलहरूले युवालाई समेट्ने कार्यक्रम ल्याएनन् । 

उम्मेदवारलाई प्रदेशसभाको चासो नै छैन । त्यस्तो हुँदा कतिपय प्रदेशसभाका मतपत्र खालि–खालि बाकसमा हालिएका छन् । सबभन्दा गम्भीर विषय हो, निर्वाचनको खर्च कम भएन । उम्मेदवार हार्ने हुन् वा जित्ने, दुबैले गाडी वा घर कमाउने माध्यम चुनाव हुन थालेको छ । चन्दा माग्न कसैलाई छाडिएन । चुनावमा टिकट पाएपछि पैसा माग्ने बहाना भयो । तराईमा केही रकम पाएका नेताले पैसा पाउनासाथ सीमा पारी घर, पेट्रोल पम्पलगायत सम्पत्ति जोडेका छन् । पहाडका उम्मेदवारले त वारि नै राख्ने भए ।
 

टिप्पणीहरू