विश्वकप फुटबलमा सेन्सर जडान, मैदानको सबै जानकारी कन्ट्रोल रुममा

विश्वकप फुटबलमा सेन्सर जडान, मैदानको सबै जानकारी कन्ट्रोल रुममा

आइतबारदेखि कतारको राजधानी दोहामा फिफा विश्वकप फुटबल प्रतियोगिता भइरहेको छ । विश्वभरका फुटबलप्रेमीको ध्यान दोहातर्फ छ ।

फुटबल विश्वमा सर्वाधिक रुचाइने खेलमध्ये एक हो । तर, हामीले खेल्ने फुटबल के–के मिलेर बनेको हुन्छ ? यसबारे धेरै जनालाई थाहा नहुन सक्छ । 

साधारण फुटबलभित्र रबरको ब्लाडर प्रयोग हुन्छ । यसको प्रमुख कार्य हावा थेग्नु हो । त्योभन्दा बाहिरको भागमा छाला, प्लास्टिक, पीभीसी प्यानल वा पोलियुरेथिनजस्ता सामग्रीको प्रयोग हुन्छ ।

तर, विश्वकपमा खेलिने फुटबल साधारण फुटबलभन्दा विशेष खालको हुने गरेको छ । यस पटकको प्रतियोगितामा फुटबलभित्रै विशेष सेन्सर जडान गरिएको बताइन्छ ।

एडिडास कम्पनीले उत्पादन गरेको फुटबल झट्ट हेर्दा सामान्य देखिन्छ । तर यसमा उच्चस्तरको प्रविधिको प्रयोग भएको छ । अहिले दोहामा खेलाइएको प्रतियोगितामा प्रयोग भएको फुटबललाई एडिडासले गत मार्चमा सार्वजनिक गरेको थियो ।

एएल रिह्ला विश्वकपका लागि बनाइएको पहिलो आधिकारिक बल हो । यसले भिडियो असिस्टेन्ट रेफ्रीलाई वास्तविक समयमा सटिक बलको डेटा उपलब्ध गराउँछ । बलमा भएको सेन्सरले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमार्फत् खेलाडी उभिएको स्थानको डेटा ट्रयाक गर्छ ।

मोसन सेन्सरका कारण बललाई खेलाडीले छुँदा प्रति सेकेण्ड पाँच सय डेटा उपलब्ध हुन्छ । यसले सेमी–अटोमेटेड अफसाइड प्रविधिमा सहयोग पुर्याउने बताइन्छ । बलमा राखिएको सेन्सरबारे खेलाडीलाई कुनै महशुस नहुने र सेन्सर विशेष ब्याट्रीबाट चार्ज हुन्छ । 

अस्ति अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा बलको सोही बलमा रहेको सेन्सरले जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डाटा सेन्सरले भीएआर टिमलाई पठाउने भएकोले विश्वकप प्रतियोगितामा मैदानमा भइरहेका एक एक घटना र क्षणको जानकारी कन्ट्रोल रुममा आइरहेको हुन्छ ।

टिप्पणीहरू