डलर अर्बपतिद्वारा काँग्रेसी मन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा, बुहारीको अरु गहना कता बेपत्ता ?

डलर अर्बपतिद्वारा काँग्रेसी मन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा, बुहारीको अरु गहना कता बेपत्ता ?

डलर अर्बपति विनोद चौधरी पनि चुनावी दौडमा छन् । उनलाई एमाले र काँग्रेसले पहिले पालैपालो समानुपातिक सांसद बनाए भने अहिले नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उठाइएको छ । नवलपरासीका गरिब किसानसँगै बसेर दाल–भात खाएको, टिशर्ट लगाउँदै मोटरसाइकलमा कुदेको, सर्वसाधारणको दुःख–अप्ठेरो हेर्दै धान खेतबाट देश निर्माणको ब्याख्यान दिएको फोटोसहित सामाजिक सञ्जाल रंगाइएको छ । मानौं उनी जन्मेदेखि गरिब र दुःखीहरूको सेवामा तल्लिन थिए,अहिले त्योभन्दा बढी गर्दैछन् ।

तर होइन, उनी उज्यालोमा जुन चटक गर्दैछन्,अँध्यारो परेपछिको उनका उद्देश्य र गतिविधिबारे धेरैलाई जानकारी छैन । स्वयम चौधरीको अघिपछि क्यामेरा र कलम बोकेर हिँड्ने सिजी ग्रुपका मासिक वेतनधारी कर्मचारीहरूले पनि लैनचौरस्थित भारतीय दूतावासमा तीन घण्टा बिताएर साँझ परेपछि उनी बर्दघाटमा कहाँ सुत्छन् र कस्तो भोजन ग्रहण गर्छन् भन्ने यथार्थ विवरण जान्न पाएका छैनन् । मुलुकबाट कसरी विदेशी मुद्रा बाहिर लैजाने, राजश्व र कर कसरी छल्ने तथा कसलाई मुद्दा हालेर रोक्ने भन्ने योजना राति बुनेपछि उनी दिउँसोको उज्यालोमा जनताको आँखामा छारो हाल्न व्यस्त हुन थालेको झण्डै एक महिना भएको छ । केही महिना नबस्दै आन्तरिक राजश्व बिभागबाट गत हप्ता नै लखेटिन लागेका महानिर्देशक रितेश शाक्य उनको करछली आतंकबाट कति पीडित रहेछन्– चुनावपछि उनैले बताउलान् ।

यसबीच चौधरीले धेरैलाई अदालती प्रक्रियामा अल्झाइदिने रणनीति कांग्रेस कपिलवस्तुका नेता तथा पूर्वमन्त्री वीरेन्द्र कनौडियामाथि पनि लादेको पाइएको छ । चार करोड रूपैयाँ कनौडियाले ठगेको भन्दै चौधरीले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । सम्झौताबमोजिम कनौडियाले कपिलवस्तुस्थित महालक्ष्मी सुगर मिल्सको सेयरवापतको रकम नदिएको सिजी ग्रुपले आरोप लगाएको छ । गत शुक्रवार पेसी चढेको उक्त मुद्दा झुठो भएको चुनाव प्रचारमा ब्यस्त कनौडिया स्वयंले जनआस्थालाई बताए । भने, ‘लेनादेना केही छैन तैपनि चौधरीले चार करोड बाँकी छ भनी झुुठो मुद्दा हालेको हो । जिल्ला र उच्च अदालतमा हारेपछि अहिले सर्वोच्च गुहार्न पुगेको छ ।’

कार्तिक १८ गते क्रम संख्या २ मै रहेको उक्त मुद्दा इश्वर खतिवडा श्रीमान कडा स्वभावको भएको र भनसुनबाट पार नलाग्ने बुझेपछि चौधरी आफैले लगातार तेश्रो चोटी हटाउन लगाएका थिए । ४–४ करोड लिन पर्ने मुद्दा यदि सक्कली मनशायको हुन्थ्यो भने छिटो सल्टाउँदा नै फाइदा हुने हो,आफैले हालेको मुद्दा पटकपटक आफैँ रोकाउनुको सोझो अर्थ के हुन्छ–दुनियाँले सजिलै बुझ्न सक्छ । हुन तः विनोद चौधरी हालका मितिसम्म काँग्रेसकै सांसद तथा खेलाडी व्यापारी छन् । कपिलवस्तुका वीरेन्द्र कनौडिया पनि काँग्रेसकै पूर्वमन्त्री र व्यापारी हुन् । आफूलाई सहज नहुँदा चौधरीले जसलाई पनि मुद्दा हाल्ने गरेका छन् ।जनआस्थासँगको कुराकानीमा कनौडियाले भने, ‘चौधरीको उक्त मुद्दा फर्जी छ, त्यसमा कुनै तथ्य छैन किनभने ऊ जिल्ला र उच्च अदालतबाट हारिसकेको छ । अहिले पुनरावेदन गराइपाऊँ भन्दै सर्वोच्च गएको हो । चौधरीले बदमासी गरेको छ तर अदालतले कानुनी उपचार दिनेमा विश्वस्त छु । उसले मुद्दा हाल्न पाउने अधिकारको दुरूपयोग गरेको छ ।’ बीचमा सामसुम भएको विनोदका जेठा छोरा र हाल पारपाचुके भइसकेकी जेठी बुहारीको मुद्दा पनि यही बेला सतहमा आएको छ ।

भर्खर भर्खर अर्बपति हुने दाउमा लागेका उनले भारतका खर्बपति लक्ष्मी मित्तलकी भतिजीसँग जेठा छोरा निर्वाणको विवाह गराइदिएर आफू झन् सम्पन्न र शक्तिशाली हुने योजना बुनेको एकताका चौधरीको निकट भएर काम गरेका एक जना प्रशासकले बताए । १५ वर्षअघि उक्त विवाह भारतको पर्यटकीय शहर गोवामा भएको थियो ।

आफू नेपालको डलर अर्बपति,भारत र बेलायतमा स्टील व्यवसायको साम्राज्य चलाएका लक्ष्मी मित्तलको परिवारसँग नाता जोडिएपछि त झन कसले छुने भन्दै छोराको विवाह गराउने प्रमुख भूमिका विनोदले नै खेलेको बताइन्छ । त्यतिबेला काठमाडौंबाट विमान चार्टर गरेर जन्ती लगिएको थियो । उक्त विवाहमा सलमान खानसहित बलिउडका चर्चित कलाकारहरूलाई बोलाइनुका साथै उक्त क्षणको खुब विज्ञापन र प्रचार गरिएबाटै डलर अर्बपतिको खास ‘मक्सद’ छताछुल्ल हुन पुगेको हो ।

तर, विवाह सकिएको एक महिना नपुग्दै छोरा–बुहारीको दाम्पत्य जीवनमा खटपट शुरु भएको सिजी निकट स्रोतले बतायो । ‘डेढ वर्ष जति टिकेको भनिएको सम्बन्धमा दुई जना मुश्किलले एकाध महिना सँगै बसे । बुहारीलाई पकेट खर्चसमेत दिइएन । तोकेकोबाहेकका ठाउँमा जान प्रतिवन्ध थियो । उनी कहिलेकाहीँ त दिनभर झम्सिखेलस्थित काका ससुराको सुजुकी बिल्डिङ्गअगाडि ‘ले सुन’ रेस्टुरेण्टमा बसेर रोइरहेकी हुन्थिन् । आफूलाई यसरी बन्धकजस्तै बनाइएपछि एक दिन अकस्मात माइती देश फर्कने निधो गरिन्,’स्रोतले भन्यो ।

हुन पनि मुम्बईमा जन्मेकी,बेलायत र युरोपमा हुर्केकी युवतीलाई रवि भवनको चौघेरोमै सीमित बनाइएपछि ती युवतीले राति आकाशको तारा गन्दै जबर्जस्ती निदाउन कोसिस गर्नुको विकल्प थिएन । राति २ बजेसम्म घुमेर बिहान ११ बजे उठ्ने मुम्बइया संस्कारमा हुर्केकी ती नवविवाहिता एकाध हप्तामै बिलखबन्दमा परिन् ।

नवविवाहिता बुहारी स्वस्ती मित्तललाई चौधरी परिवारले एउटा टोयोटा गाडी दिएको थियो । तर स्वच्छन्द भएर हिँड्ने डरले चालकको आवरणमा सुलसुले पनि खटाइएको दाबी उनै स्वस्तीले काठमाडौं छाड्नुअघि आफ्ना सहेलीहरूसँग शेयर गरेकी थिइन् । ‘बुहारी खोज्ने युरोपेली सँस्कारमा हुर्के, पढे, बढेकी तर पारिवारिक बन्धनचाहिँ परम्परागत मारवाडी पाराको भएपछि बिच्किइन्,’ स्रोतले भन्यो, ‘इकोनोमिकल्ली र इमोसनल्ली अप्ठेरोमा परेपछि उनले नेपाल मात्रै होइन,चौधरीको रवि भवनस्थित निवास छाड्ने निर्णय तत्काल गरिन् ।’

मित्तलकी छोरी र चौधरीका छोराबीच पारिवारिक जीवन टिक्न नसक्नुको खास कारण ‘अगाडिको चक्का ट्रकको, पछाडिको चक्का अल्टोको’ हुनु हो । नेपाल छाडेर बैंगलोर अदालतमा पुगी उनले पारपाचुकेको निवेदन हालिन् । तर चौधरीको कुनै सम्पत्तिमाथि दाबी गरिनन् । बरु चौधरीले उल्टै मित्तलको छोरी बिहे गर्दा आफ्नो करोडौं घाटा भएको एकोहोरो प्रचार गर्न थाले ।

सन् २००७ मा स्वस्तीसँग विवाह गरेका निर्वाणलाई भारतीय अदालतले बोलाएर २० करोड भारु. तिरी सम्बन्ध विच्छेद गर्न पाउने सहमति गराएको थियो । जसअनुसार १० करोड भारु नगद र १० करोड रूपैयाँ गहना फिर्तावापतको हो । ती सबै रकम बढीमा १० वर्षभित्र अर्थात् सन् २०१७ सम्ममा चुक्ता गर्नुपर्ने शर्त थियो । भारतमा रहेकी स्वस्ती निकट स्रोतले इमेल सँवादमा जनआस्थालाई बतायो, ‘डलर अर्बपतिले अलिकति गहना फिर्ता गरेका छन् । दुई किस्ता रकम बुझाए पनि बाँकी रकम तिरिएको छैन । सन् २०१७ मा चुक्ता गरिसक्नुपर्ने रकम म्याद गुज्रेकै ५ वर्ष भैसक्यो ।’

डलर अर्बपति भनिए पनि पारपाचुके गरेकी बुहारीको रकमसमेत नफर्काउने विनोद चौधरी समाज सेवा गर्छु भन्दै अहिले नवलपरासीका दुखी वस्तीहरूमा पसिना काढेर हात जोड्दै धाइरहेका छन् । उता यसवीच स्वस्तीले पनि यता निर्वाणलेझैँ अर्कैसँग विवाह गरिसकिन् । आफूभन्दा धनीकी छोरीलाई छोरासँग विवाह गराउनेले पैसा चिनेको तर देश, काल, परिस्थिति, युवाको मनोभावना बुझ्न नसकेको र यो उनको द्रव्यमोहको पराकाष्ठा भएको अर्थ लागेको छ ।

टिप्पणीहरू