महिलामाथि यौन दुव्र्यवहार गर्ने महिला जेल चलान

महिलामाथि यौन दुव्र्यवहार गर्ने महिला जेल चलान

के पुरुष, के महिला या तेस्रोलिंगी, पशुपन्छीलाई समेत हुन्छ यौनचाहना । तर मानव समाजमा यसलाई यति बडेमाको र बन्धित विषय बनाइएको छ कि कैयौं मानिस कुण्ठित छन् । धेरैजसो यौन अपराध यही उकुसमुकुसकै नतिजा हुन् । बलात्कार, यौन दुव्र्यवहारजस्ता घटनामा पुरुषलाई मात्रै दोषी देख्ने समाजको आम नजरिया छ । महिलालाई खासै यस्तो बात लाग्दैन । महिलाले भनेपछि निर्दाेष पुरुष पनि डामिने डरलाग्दो अवस्था विद्यमान छ । तर यसैबीच चितवनमा एउटी महिला यौन दुव्र्यवहारको कसुरअन्तर्गत जेल परेकी छन् । त्यो पनि पुरुषलाई होइन महिलाले महिलालाई नै ! ३३ वर्षीया महिलामाथि कक्षा पाँचमा पढ्ने १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।

गत असोज २ गते पूर्वीचितवनको रत्ननगरमा सासूले बुहारीमाथि यस्तो दोषारोपण गरेकी हुन् । वल्लो–पल्लो घरका आरोपित महिला र बालिका साथीजस्तै थिए । प्रायः सँगै हिँड्ने, बस्ने, खेल्ने गर्थे । त्यो दिन दिउँसो बालिकाका आमाबाबु मजदुरी गर्न गएका बेला महिलाको घरकोठामा बसेर खेल्दै थिए । यसैक्रममा उनले बालिकाको यौनांग छुने, चलाउने गर्दागर्दै एक्कासि उत्तेजित भई ओछ्यानमा पल्टाएर बच्चीको शरीरमा आफ्नो यौनांग दलेको अभियोग अदालतमा पेश भएको छ । त्यसो गर्दा बच्ची चिच्याएपछि सासू आमाले थाहा पाएको बताइएको छ । सासूले तत्काल छरछिमेक डाकेकी थिइन् । त्यसपछि प्रहरी नै बोलाएर बाल यौन दुव्र्यवहार मुद्दा चलाइएको हो । किशोरीका बाबुको तर्फबाट जाहेरी दिइएकोमा सासू र केही छिमेकीले पनि महिलाको विपक्षमा बयान दिएका छन् ।

बुझिएअनुसार सासूसित सम्बन्ध राम्रो थिएन । सासू–बुहारीबीच बारम्बार लडाइँ–झगडा भइरहन्थ्यो । महिलाको असामान्य हर्कतका कारण ती छिमेकी पनि आजित थिए । सकेसम्म उनलाई त्यहाँबाट पन्छाउनै पाए हुन्थ्यो भन्ने कैयौंको चाहना थियो । दिनभर बच्चाहरू लिएर हिँड्थिन्, काम गर्थिनन् । एकपटक छिमेकीको आठ बोतल रक्सी चोरेर खाइदिएकी थिइन् । रक्सीले मातेपछि जहाँ पनि सुत्ने, जे पनि बोल्ने गर्थिन् । कतिपय छिमेकी उनलाई आफ्नो दैलोमा पर्न पनि दिन्थेनन् । झगडा पर्दा सासूलाई नै जगल्टाइदिन्थिन् । डेढ वर्ष जति भयो उनी त्यो ठाउँमा बसेको । तर यसभन्दा अगाडि त्यहाँका कुनै पनि पुरुष वा महिला तथा बच्चाबच्चीमाथि उनले यसरी अनुचित यौन व्यवहार गरेको चाहिँ बुझिएन ।

जेहोस्, यो मुद्दामा गत असोज २८ गते थुनछेक बहस हुँदा १० हजार तिरेर छुट्नसक्ने आदेश भएपनि धरौटी राखेर लैजाने मान्छे नहुँदा उनी कारागारभित्रै छिन् । मुद्दा लडिदिने कोही नभएपछि अदालतकै वैतनिक वकिलले यो मुद्दा हेरेकी छन् । उनी एक्टिभ महिला नभएकी भन्दै यस्ता मान्छेलाई जेलमा थुनेर राख्नुको कुनै औचित्य नभएको र राज्यलाई फाइदा पनि नहुने जिल्ला अदालत चितवनकी वैतनिक वकिल शोभा भट्टराई बताउँछिन् । कतिपय छिमेकी पनि उनलाई थुन्नु बेकार भएको बताउँछन् । केही दिनअघि घटनास्थलमै पुगेर बुझ्दा एक जना स्थानीयले भने, ‘पागल हो के त्यो, बेकारमा लगेर थुने !’

स्थानीयका अनुसार उनका पति पनि वर्षमा ४÷५ वटी श्रीमती ल्याउने मान्छे हुन् तर कोही पनि नटिक्ने । पछिल्लो समय यिनै महिला अलि धेरै टिकेको बताइन्छ । बताइएअनुसार यसअघि महिलाको पनि अर्कै श्रीमान् थिए । सरकारी वकिलको तर्फबाट अदालतमा पेश भएको अभियोगपत्रमा महिलाले कसुर कबुल गरेको भनिएपनि अदालतमा आरोप स्वीकारेकी छैनन् । वैतनिक वकिल शोभाको भनाइमा महिलाले आफूलाई सासूले देखीनसहने र त्यो दिन बच्चाबच्चीसँग खेल्दै गर्दा नचाहिँदो आरोप लगाएको बयान अदालतमा दिएकी छिन् । महिलाको भनाइ छ, ‘सासू छुच्ची छ ।’

पीडित भनिएकी बालिकासँग बुझ्दा बालिकाको सानो भाइ पनि त्यतिबेला उनीहरूसँगै खेलिरहेका थिए । ती महिलाले आफ्नो छातीमा समातेको, माथि चढेको र आफू चिच्याएको बालिकाले बताइन् । तर, गुप्तांगमा भने नचलाएको बताउँदै त्यस समयमा आफूहरू दुवैको कपडा नखोलिएको र महिलाले स्तन समाउन कपडाभित्र हात पनि नहालेको बालिकाको भनाइ छ । यसभन्दा अगाडि महिलाले कहिल्यै त्यसो नगरेको बालिका बताउँछिन् । बालिका र घटना विवरण कागज गर्नेहरूको बकपत्र अब चुनावपछि मात्रै हुने अदालतले बताएको छ ।

टिप्पणीहरू