चिठीमार्फत् निजी क्षेत्रको चीत्कार

चिठीमार्फत् निजी क्षेत्रको चीत्कार

कोरोना कहरले थला परेका उद्योगी, व्यवसायीहरु तङ्ग्रिन खोजिरहँदा फेरि ढाड खुस्किने गरी थोपरिएको आर्थिक भारले मर्माहत छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको निजी क्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार, नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकूलका प्रावधानहरुले निजी क्षेत्र धराशायी बनेको बताइन्छ ।

कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्र नै धरापमा परेको छ । मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने बेला पछिल्लो समय भएको ब्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत पुगेको भन्दै उद्योग वाणिज्य संघ चितवनले हिजो सरकारलाई दर्दले भरिएको चिठी पठाएको हो । प्रमुख जिल्ला अधिकारीमार्फत् अर्थ मन्त्रालयमा अनि नेपाल राष्ट्र बैंक र समन्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई पनि ज्ञापनपत्र पठाइएको छ ।

‘नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पुँजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा वर्तमान आर्थिक मन्दीको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा गरेको ब्याजदर वृद्धिप्रति उद्योग वाणिज्य संघ चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ज्ञापनपत्रमा लेखिएको छ, ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा वृद्धि गरिएको ब्याजदरले उद्योग व्यवसाय नै बन्द गरी विस्थापित हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरेको महसुस गराएको छ ।’

विश्वव्यापी रुपमा अकासिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाइसकेको छ । विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मूल्य वृद्धि हुँदै जानुले विश्व अर्थतन्त्रमा थप थुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भइरहेको वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको एकतर्फी र मनोमानी ब्याजदर वृद्धिले व्यवसायिक क्षेत्र धराशायी बन्ने देखिएको संघले जनाएको छ । मनोमानी रुपमा वृद्धि भएको ब्याजदर र दैनिक रुपमा बैंक तथा वित्तीय संस्थाबाट किस्ताको लागि दिइने मानसिक तनावका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको बताइएको छ ।

यसले एकातर्फ उद्यमी, व्यवसायी मर्कामा परेका छन् भने अकासिएको महँगीको कारण सर्वसाधारण जनताको दैनिक जीवनसमेत कष्टकर बन्ने देखिएको वर्तमान जटिल परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर एक अंकमा ल्याउन, वर्तमान चालु पुँजी मार्गनिर्देशनलाई यथावत् राखी नयाँ व्यवस्थापन गर्न, साथै कर्जाको किस्ता बुझाउनुपर्ने समयावधि थप गरी व्यवसायीलाई धराशायी हुनबाट बचाउनका लागि सम्बन्धित निकायलाई उद्योग वाणिज्य संघ चितवनको तर्फबाट जोडदार माग गरिएको छ । माग सम्बोधन नभएमा निजी क्षेत्र चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने समेत ज्ञापनपत्रमार्फत् जानकारी गराइएको छ ।

संघको तर्फबाट ज्ञापनपत्र बुझाउन अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, शिरिष पन्त, कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक निलबहादुर केसी लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हिजै सम्बन्धित निकायमा संप्रेषण गर्ने बताएका थिए ।

टिप्पणीहरू