हप्तौं प्रहरी हिरासतमा रहेकी महिलाले बयान नदिएपछि…

हप्तौं प्रहरी हिरासतमा रहेकी महिलाले बयान नदिएपछि…

केही समयदेखि मुलुकभर बच्चा चोर सलबलाएको भन्दै हल्लीखल्ली भयो । भारतीय मूलका मानिस विभिन्न भेषमा नेपाल आएर कलिला केटाकेटी चोर्न उद्यत रहेको भन्दै सामाजिक सञ्जालका भित्ता भयभीत हुनेगरी रंगिए । यसले अभिभावकमा गहिरो सन्त्रास फैलिन थालेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक सूचना नै निकालेर नेपालमा कहीँकतै पनि बच्चा चोरी भएको उजुरी नपरेको भन्दै भ्रममा नपर्न जनसमुदायलाई सूचित गरेको थियो ।

‘भारतबाट जोगी र माग्नेको भेषमा नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत पुर्याए मिर्गौला, आँखालगायत शरीरका विभिन्न अंग झिकी बिक्री गर्ने गरेको’ व्यहोरा लेखेर विभिन्न व्यक्तिका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको,’ जनाउँदै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले गत भदौ २७ गते निकालेको सूचनामा लेखिएको थियो, ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभरका कुनैपनि प्रहरी कार्यालयमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजुरी/सूचना प्राप्त भएको छैन । तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गर्दछौं ।’

तर यो सूचना प्रकाशित भएको केही दिनमै चितवनमा एउटी महिला बच्चा चोरको अभियोगमा समातिइन् । असोज ४ गते दिउँसो साढे १२ बजेतिर भरतपुर–१७, गुञ्जनगरमा स्थानीय चार वर्षीय बालकलाई ललाइफकाइ गरेको अवस्थामा भारत घर भएकी अनिता पाललाई नियन्त्रणमा लिइएको थियो । ३८ वर्षीया उनी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छिन् । अपहरण मुद्दामा उनीमाथि प्रहरीले अझै पनि अनुसन्धान गरिरहेको छ तर प्रस्ट बयान नआएको बताइन्छ ।

‘उनी राम्रोसँग बोलेकी नै छैनन्, यो उनको नाटक पो हो कि ?,’ प्रहरी स्रोतले भन्यो, ‘पहिले त हामीलाई पनि नाटक नै हो कि जस्तो लागेको थियो ।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार अहिलेसम्मको गतिविधि हेर्दा नाटक जस्तो छैन । उनी साँच्चिकै बोल्न नसक्ने लाटी, लठेब्री जस्तै देखिएकी अधिकारीको भनाइ छ ।

बताइएअनुसार अर्काको बच्चालाई केही खान दिँदै गर्दा उनलाई बच्चा चोरको आशंकामा पक्राउ गरिएको हो । सानो बच्चालाई मायाले पो खानेकुरा दिएकी हुन् कि ! उनको आफ्नो बच्चालाई केही भएर वा त्यस्तै कुनै घटनाको कारण बच्चाहरु देख्दा मोहमा पग्लिने भएकी पो हो कि ! न साँच्चिकै बच्चा चोरेर लानै खोजेकी हो ! केही प्रष्ट हुन नसकिरहेको अवस्थामा अब उनलाई जिल्ला अदालतमा पेश गरिने तयारी गरिएको छ । दशैं बिदा सकिएर अदालत खुलेपछि उनलाई अदालतमा पेश गरिने डीएसपी अधिकारीले बताए । अदालतबाट उनले सफाइ पनि पाउन सक्छिन् अथवा कसुर प्रमाणित भएमा अपहरण मुद्दामा सातदेखि १० वर्षको कैद सजायसम्म हुने प्रनाउ अधिकारीले जानकारी दिए ।

टिप्पणीहरू