विद्युत महसुल, यसरी पनि गर्नुपर्छ असुल

विद्युत महसुल, यसरी पनि गर्नुपर्छ असुल

नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रले गत बिहीबार १९ जना ग्राहकको विद्युत लाइन काटिदिएको छ । महशुल नतिरेका सेवाग्राहीहरुको लाइन काटिएको बताइएको छ । ती १९ जना ग्राहकबाट ३८ लाख ६९ हजार १२ रुपैयाँ ७८ पैसा उठ्न बाँकी रहेकोे दाबी गरिएको छ ।

उक्त केन्द्रका आय प्रमुख मुकेश सिंहका अनुसार आठ वटा उद्योग, छ वटा व्यापारिक र पाँच वटा घरायसी प्रयोजनको विद्युत सेवा अवरुद्ध गरिएको छ । प्राधिकरणले निजी ट्रान्सफर्मरमा राखिने ड्रप आउट फ्युज नै निकालिदिएको उनीहरुको भनाइ छ । अरु समयमा आलटाल गर्ने धेरैजसो ग्राहकहरु लाइन काटिएपछि भने बाध्य भएर बक्यौता बुझाउन जाने गरेका छन् ।

सिंहका अनुसार चालु आर्थिक वर्षको भदौ २३ गतेसम्म विद्युत महशुलको बक्यौता नबुझाएका २०८ जना ग्राहकको लाइन काटिएको छ । उनीहरुबाट ८६ लाख दुई हजार पाँच सय ९३ रुपैयाँ ३१ पैसा असुल हुनुपर्ने देखिन्छ । गत आर्थिक वर्षकोसमेत गरेर गत बिहीबारसम्म दुई सय २६ जना ग्राहकले बक्यौता तिरेर विद्युत सेवा पुनः जडान गराएका छन् । उनीहरुबाट ७० लाख ४२ हजार ९८ रुपैयाँ ६४ पैसा संकलन भएको उनले जानकारी दिए ।

गत बिहीबार चार महिनाभन्दा बढी अवधिको ५० हजार रुपैयाँभन्दा माथि बक्यौता भएका ग्राहकको लाइन काटिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ अनुसार बिल जारी भएको ६० दिनसम्म पनि विद्युत महसुल नबुझाउने सेवाग्राहीको प्राधिकरणले कुनै पनि बेला लाइन काट्न सक्ने प्रावधान छ ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बढी नै मौका मिलिरहेको बताइन्छ । तर पनि विद्युत जस्तो अत्यावश्यकीय सेवाको महशुल नबुझाउने ग्राहकको बाध्य भएर प्राधिकरणले लाइन काट्नु परेको प्राधिकरणको भनाइ छ ।

जनशक्ति अभावबाट यस्ता सबै ठाउँमा बेलैमा पुगेर लाइन काट्न प्राधिकरणलाई कठिनाइ भइरहेको आय प्रमुख बताउँछन् । यस सम्बन्धमा इन्जिनियर पौडेल भन्छन्, ‘२० वर्ष अगाडि १९ हजार ग्राहक हुँदा पनि एक सय छ जना कर्मचारी थियौं । अहिले ग्राहक संख्या ६३ हजार नाघिसक्दा एक सय १० जना कर्मचारी छौं ।’, उनले थपे, ‘पछिल्लो समय प्रविधिले कार्यालयका कामहरु छिटो र सजिलो त भएको छ । तर पनि लाइन काट्न कर्मचारी सम्बन्धित घर नजिकै जानैपर्छ । दूरसञ्चारको जस्तो कम्प्युटरबाट मिल्दैन ¤’

लाइन काटिएको छ महिनासम्म पनि महशुल नबुझाउने ग्राहकलाई कालोसूचीमै राखेर कारबाही अगाडि बढाइने व्यवस्था छ । महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखी पैसा नतिरेसम्म मिटर नामसारी गर्न, नयाँ मिटर जोड्न रोक्का गर्ने, अन्त भएको मिटरको लाइनसमेत काटेर विद्युत सेवाबाटै वञ्चित गरिने बताउँदै कार्यालयका सूचना अधिकारी अच्युतराज विष्ट भन्छन्, ‘उद्योग कालोसूचीमा छ भने त्यो व्यक्तिको घरको लाइन पनि काट्छौं । तीन पुस्तालाई नै गाह्रो पर्छ ।’

उनका अनुसार नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रअन्तर्गत अहिले दुई सय ७१ जना ग्राहक कालोसूचीमा छन् । उनीहरुबाट ७९ लाख ३९ हजार छ सय ९० रुपैयाँ २० पैसा उठाउनुपर्ने देखिएको छ । कालोसूचीमा रहेका दुई सय ८१ ग्राहकमध्ये १० वटाले हिसाब राफसाफ गरेको र अरु केहीले किस्ताबन्दीमा पनि पैसा तिरिरहेको उनले जनाए ।

टिप्पणीहरू