स्वतन्त्र मेयरका जुँगाको लडाईंमा दलका नेता तथा कार्यकर्ता दर्शक

स्वतन्त्र मेयरका जुँगाको लडाईंमा दलका नेता तथा कार्यकर्ता दर्शक

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित दुई मेयरको सामाजिक सञ्जालमा छेडखानी भएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक अर्कालाई छेडाछेड गर्दै पेचिलो ‘स्ट्याटस वार’ थालेका हुन् ।

धराने मेयर हर्क चरा दिनको काठमाडौँ बसाइमा विभिन्न राजनीतिक दल, तिनका नेता र मन्त्रालयको भेटघाटमा व्यस्त रहे । साँझ परेपछि सामाजिक सञ्जालमा मनको कुरा लेखिहाल्ने हर्कले काठमाडौंमै हुँदा ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको बिजोग’ भन्दै स्ट्याटस लेखे । ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ उनले लेखेको स्टाटस यहि हो ।

उनको उक्त स्ट्याटसले काठमाडौंका मेयरलाई मात्रै गिज्याएको थिएन, राजनीतिक दलका नेता र तिनका जनप्रतिनिधिहरूको पनि शेखी झारिरहेको थियो । मेयर हर्कलेले लेख्न छाडेनन् र अझै अगाडि बढेर अर्को स्ट्याटस लेखे , ’जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’

त्यसपछि मेयर बालेन पनि बोल्न बाध्य भए । उनको त्यही स्ट्याटसको तुरुन्तै जवाफ फर्काए र भने, ’हो नि तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले पनि चुनाव जितेको हो नि ।’

बालेनले सोही समयमा संघीय सरकारसँगको सहकार्यमा प्रहरी परिचालन गरेर कष्टका साथ काठमाडौँको फोहोर उठाउन सुरु गरेका थिए । तर, हर्कले आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन भन्दै गर्दा समस्यामा मजाक गरेको भन्दै मानवीयतामाथि खेलबाड गरेको साह निकटस्थहरुको बुझाइ छ । बालेनले फोहोर उठाउन सुरु गर्नु र जस हर्कले लिन खोज्नु भनेको मजाकको पनि हद भएको टिप्पणी सामाजिक सञ्जालमा पाइएको छ ।

हर्कले आफू काठमाडौं आएकै कारण फोहोर उठेको भन्ने स्ट्याटसमा बालेनले जे जस्तो प्रतिक्रिया दिए त्यसपछि उनले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि हर्कले भने बालेन लक्षित स्ट्याटस धेरै लेखिसकेका छन् । उनले पछिल्लो पटक, ’आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ भनेर घोचपेच गरेका थिए ।

उनको एक्त स्ट्याटसमा केहीले गाली गर्दै सल्लाह र सुझाव दिएका छन् भने कतिपयले निम्नस्तरको टिप्पणी नगर्न सुझाएका छन् । हर्कले सामाजिक सञ्जालमा लेख्दै जाँदा कतिपयले उनको एकाउन्ट ह्याक भएकोसम्म पनि भन्न भ्याएका छन् । उनको पछिल्लो स्ट्याटसमा यस्तो भनिएको छ, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरू हो, तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम, हावा तालका हो ।’ उनको यो अभिव्यक्ति कहाँ कसलाई लक्षित छ भन्ने कुरा लुकेको छैन । उनले भन्न खोजेको विषय पनि ‘ओपन सेक्रेट’ नै देखिन्छ ।

एउटै चुनाव चिन्ह लौरो लिएर चुनाव जितेका उनीहरू एक अर्काविरुद्ध स्ट्याटस लेख्ने र कमेन्ट गरेर उछित्तो काढ्न थालेको देख्दा उनीहरूका मतदाताले पनि निको मानेको देखिँदैन ।

मेयर हर्कले राजधानीमा बसुञ्जेल उठ्न नसकेको फोहोरलाई व्यङ्ग्यवाण हानिरहे । काठमाडौँको फोहोर विसर्जन गर्ने स्थानमा स्थानीय जनताले अवरोध गरेपछि करिब एक महिनादेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन । यही मौकामा काठमाडौं छिरेका धराने मेयरले मन्त्री, प्रधानमन्त्री बस्ने ठाउँमा चिल्ला सडकको छेउमा फोहोर थुप्रिएको, काठमाडौँभन्दा खाल्डाखुल्डी भएको आफ्नै धरान प्यारो भन्नु स्वाभाविक पनि हो ।

फोहोर व्यवस्थापनको लागि बालेनले गरेका हरेक कसरत असफल भइरहेको अवस्थामा असक्षमको रुपमा अभिव्यक्ति आउँदा आक्रोशित बन्नु अस्वाभाविक नहोला । तर, छताछुल्ल हुने गरी गरिएका टिकाटिप्पणीले उनीहरू कै उचाइ घटेको बताउनेहरु पनि बग्रेल्ती भेटिएका छन् ।
उनका पछिल्ला अभिव्यक्ति काठमाडौँका मेयर बालेनप्रति लक्षित थिएन भन्ने कुनै आधार छैनन् । आफूले धरानलाई सम्पन्न गराएको र बालेनले फोहोर पनि उठाउन नसकेको जस्ता स्ट्याटसले अन्ततः धराने मेयरको सद्भाव र सहयोगी भावनामा खडेरी परेको साह समर्थितहरुको टिप्पणी छ ।

यसबीचमा भएका लेखाइबाट उनीहरूको एक अर्काप्रतिको बुझाइको स्तर खुलेको भनिएको छ । एउटै चुनाव चिन्हमा निर्वाचन लडेका उनीहरूले लोकप्रिय मत पाएर चुनाव जिते पनि एक अर्काप्रति हार्दिकता भने नदेखाएको सोसल मिडियामा भएको प्रतिस्पर्धाले नै प्रमाणित गरिदिएको छ ।

मेयर हर्कले आफूले घोचपेच गरेको स्वीकार्दै भनेका छन्, ’सत्य स्वीकार्न गाह्रो हुन्छ । तर सत्य सत्य नै हो ! अब बिस्तारै काठमाडौं तातिएर फोहोर व्यवस्थापन गर्नेछ ! यी सब घोचपेच नभएको भए हुँदैन थियो !’ उनले, काठमाडौँ जाँदा फोहोरको कारण शहरमा दुर्गन्ध भयो फोहोर उठाऊ भन्न खोजेको आशयका लेखाइ आफ्नो फेसबुक एकाउन्टमा पोष्ट गरेका हुन् ।

जनताले अघिल्ला जनप्रतिनिधिहरूको काम कर्तव्य र जिम्मेवारीलाई मन नपराएर नयाँ जोश र चाहना राखेका यी दुई युवालाई छानेका थिए । नागरिकको अपेक्षा पूरा गर्ने जिम्मेवारी बोकेर पदमा पुगेका यी दुई मेयर एक आपसमा भाले जुधाई गरेको देख्दा सर्वसाधारण जति दुःखी छन् त्योभन्दा धेरै राजनीतिक दलहरू खुशी र मख्ख देखिन्छन् ।

हर्क र बालेनका लेखाइले स्वतन्त्र–स्वतन्त्र बीचको टकरावलाई उजागर गरिदिएको छ । सामाजिक सञ्जालमा हर्कको लेखाइलाई केटाकेटीपन भन्नेहरू पनि छन् । तर एउटा जिम्मेवार पदमा बसिसकेपछि पदीय दायित्व र मर्यादाको ख्याल गर्नुपर्ने कुरालाई उनले बुझ्न नसकेको आरोप लगाउनेहरु पनि प्रशस्तै भेटिएका छन् ।

यी दुई मेयरले सामाजिक सञ्जालमा रमिता देखाएर एक अर्काको उछितो काढ्नुको रहस्य बाहिर नआए पनि दुवै जनाको जनताप्रतिको गम्भीर गैरजिम्मेवारीपूर्ण काम भएको विश्लेषकहरुको टिप्पणी छ । आ–आफ्नो क्षेत्राधिकार मिचेर अनावश्यक आलोचनामा उत्रँदा राजनीतिक दलहरूलाई मसला बनेको उनीहरुको निचोड हो ।

टिप्पणीहरू