कम्युनिष्ट नेताको भान्छामा नपाकेको दुईथरी तरकारी र भाइरल फोटा

कम्युनिष्ट नेताको भान्छामा नपाकेको दुईथरी तरकारी र भाइरल फोटा

हिजोदेखि सामाजिक सञ्जालमा दुईथरी तरकारीको प्रसङ्ग चलिरहेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै आफू पटक पटक मन्त्री भएको,अहिले पनि सांसद रहेको तर आफ्नो भान्छामा दुईथरी तरकारी पकाउन मुस्किल रहेको अभिव्यक्ति दिएका थिए ।

उनको यो अभिव्यक्ति सेलाउन नपाउँदै उनै ज्ञवालीले धेरैथरी तरकारीसहित खाना खाइरहेको फोटो भाइरल भयो । उक्त फोटोमा धेरै किसिमका तरकारी वरिपरि राखेर खाइरहेको देखिन्छ ।

एमालेले एम. अधिकारीलाई सार्वजनिक गर्न नसके पनि ज्ञवालीले चौरासी व्यञ्जनको भोजन गरिरहेको फोटो भने सबैले चिन्न सक्ने गरी सार्वजनिक भएको छ ।

उनको फोटो र अस्तिको अभिव्यक्ति आफैंमा विरोधाभाषपूर्ण देखिएको कारण यथार्थ बाहिर आएको बताइन्छ । एमालेभित्र शालीन नेताको छवि बनाएका उनी बौद्धिक पनि मानिन्छन् । तर आफ्नै अभिव्यक्तिलाई माथ खुवाउने गरी चौरासी व्यञ्जन खाइरहेको फोटो भाइरल हुँदा नेताहरुको वास्तविकता हात्तीको दाँत जस्तै भएको अर्थ लगाइएको हो ।

यस सन्दर्भमा उनको प्रतिक्रिया बाहिर आइसकेको छैन । फोटोमा प्रविधिको दुरुपयोग भएको भन्ने रेडिमेड जवाफको सम्भावना पनि उत्तिकै देखिन्छ ।

केही वर्षअघि मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईँले आफ्नै निवासमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर मार्सी चामलको भात खुवाएको फोटो निकै चर्चामा आएको थियो । अहिले सोही चामलको नामले प्रसाईँलाई सबैले चिन्छन् । प्रसाईँको घरमा पार्टी एकताको निम्ति छलफल गर्न ओली र प्रचण्ड जुटेको अवसरमा मार्सी चामल प्रख्यात भएको हो ।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा पनि अध्यक्ष प्रचण्ड र श्रेष्ठले सँगै बसेर खाना खाँदै गरेको फोटो पनि गत वर्ष निकै चर्चामा आयो । कम्युनिष्ट नेताहरूको पछिल्लो जीवन शैलीले निमुखा गरिब जनतालाई गिज्याउनु स्वाभाविक हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पनि विगतमा यस्तै विवादास्पद फोटो सार्वजनिक भएका थिए । सार्वजनिक पद धारण गरेकाहरूको अस्वाभाविक लाग्ने यस्ता कैयौँ फोटो र भिडियोहरू ट्रोल बनेका छन् । ती ट्रोलले व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा चर्का कमेन्ट पाएका छन् ।

टिप्पणीहरू