‘बागमतीमा नयाँ मुख्यमन्त्री, फोहोर गरेपछि दैलो देख्नु सरह’

‘बागमतीमा नयाँ मुख्यमन्त्री, फोहोर गरेपछि दैलो देख्नु सरह’

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर हुँदै आएको रस्साकस्सी केही मत्थर हुने संकेत देखिएको छ । आज उक्त अध्यादेश जारी भएको सूचना सार्वजनिक भएलगत्तै मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री पौडेलको राजिनामापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बन्ने निश्चित छ । जबकि शाक्य वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट भनेर चिनिँदै आउनुभएको थियो ।

पौडेलको राजीनामापछि नेकपा एमालेको उपाध्यक्ष समेत रहनुभएकी शाक्यलाई एमाले बागमती प्रदेश संसदीय दलको नेतामा चयन गरिएको छ । प्रदेश राजधानी हेटौंडामा आज दिउँसो बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको हो ।

शाक्यलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । शाक्यलाई नियुक्ति गर्नैका लागि मुख्यमन्त्री डोरमणिले पदबाट राजीनामा दिएर ठाउँ खाली गरेको स्पष्ट भएको छ । पौडेल र अध्यक्ष केपी शर्मा ओलीको फेस सेभिङका लागि मात्र अध्यादेशको आवरण कुरिएको पनि जगजाहेर छ ।

आखिर यी सबै हर्कत केका लागि गरिएको थियो ? भन्ने चर्चा एमाले वृत्तमा हुन थालेको छ । साढे तीन वर्षअघि वरिष्ठताको आधारमा शाक्यलाई मुख्यमन्त्री बनाउन गरिएको आग्रहलाई अध्यक्ष ओलीले जानाजान लत्याउनुभएको बागमती प्रदेशसभाका एक जना माननीयले बताउनुभएको छ ।

उहाँका अनुसार गत फागुनदेखि नेता नेपाल निकट समूहले उनै शाक्यलाई मुख्यमन्त्री बनाउन गरेको अनुरोधलाई समेत अध्यक्षले एउटा कानले सुनेर अर्को कानले उडाइदिनुभएको थियो । उनी भन्छन्, ‘त्यसैले फोहोर गरिसकेपछि दैलो देख्नुको के अर्थ भयो र ?’

टिप्पणीहरू