नेपाल हुँदै उता जाँदाको नालीबेली

  • राजेन्द्र स्थापित

भारतको बंगालमा त्यसबेला गुप्तवंशको शासन थियो । पछि सोही वंशका पराक्रमी राजकुमार नरेन्द्र गुप्त शशांकले त्यसलाई स्वतन्त्र बनाए । महाराजाधिराज बने । उनको मृत्युपछि अराजकता फैलियो । मत्स्यन्याय चल्यो । व्यवस्थित राजतन्त्रको लोप भयो । शक्तिशाली व्यक्तिहरू स–साना क्षेत्रमा आफैं राजा घोषित भए । निर्बल सताइए । यो अराजकता समाप्त पार्न जनताले ‘गोपाल’ नामक एक वीर पुरुषलाई सन् ७६५ मा राजा निर्वाचित गरे । उनले बंगाल र बिहार (मगध) मा पुनः वैद्य शासन स्थापना गरे । गोपालपछि उनैका छोरा धर्मपाल राजा बने । सन् ७७० देखि ८१० सम्म शासन गरेका उनकी पत्नी रन्नादेवी बौद्ध धर्मावलम्बी थिइन् । बिहेपछि धर्मपालले बौद्धधर्म अपनाए । त्यो बेला त्यहाँका जनता संस्कृत, प्राकृत र पाली भाषा बोल्थे । राज्यमा बौद्ध, शैव र हिन्दु धर्म मान्नेहरु थिए । उनै धर्मपालले बिहारको नालन्दामा नालन्दा बिहार र भागलपुरमा विक्रमशिला बिहार बनाउन लगाए । विक्रमशीला बिहारमा बौद्ध साहित्य, वैदिक साहित्य र अन्य ज्ञान–विज्ञान पढाइन्थ्यो । जहाँ पछि अतिश दिपंकर सिर्जनाना जस्ता १ सयभन्दा बढी विद्वान र शिक्षक क्रियाशील रहे । अतिश बंगाली थिए, जसले ११ औं शताब्दीमा बौद्ध धर्मको महायान र बज्रयानलाई तिब्बतदेखि सुमात्रा (वर्तमान इण्डोनेशिया) सम्म फैलाए । 

अतिशको जन्म दक्षिणपूर्वी बंगालको मुन्सीगञ्ज (अहिलेको बंगलादेशमा पर्छ) मा भएको थियो । राजा कल्याणश्री र रानी प्रभावतीका पुत्र । जन्मको नाउँ चन्द्र्रगर्भ । पश्चिम तिब्बतको राज्य गुगे जाँदा त्यहाँका राजा जाङचोपले अतिश नाउँ राखिदिए । २८ वर्षको उमेरमा वंश परम्पराअनुरुप मठाधीश सिलारक्षिताले बौद्ध र अन्य दर्शनको दिक्षा प्रदान गरे । वैष्णव, शैव, हिन्दु तन्त्रसमेत । उनै महन्तबाट ६४ प्रकारको चित्रकला, संगीत, तर्कशास्त्र सिके । यसबाहेक करिब १ सय ५० जना शिक्षकबाट विविध शास्त्रमा ज्ञान सिके । तीमध्येका प्रमुख गुरु थिए– धर्मकीर्तिश्री । तिब्बतबाट फर्केपछि धेरै भिक्षुसँग बौद्ध दर्शनबारे छलफल तथा बहस गरे । धर्मशालामा आयोजित बहसमा लगातार तीनपटक विजयी बनेपछि विक्रमशिला बिहारको प्रमुख प्राचार्य बने । ठूला विद्वान कहलिए । राज्यमा बौद्ध संस्कृति र धर्म फैलाउन लागिपरे । महायानी भए पनि हीनयान, महायान र बज्रयानमा प्रवीणता हासिल गरे । 

सन् १०३९ को एक साँझ तिब्बती यात्रुहरुको सो टोली विक्रमशीला बिहार पुग्यो । सूर्यास्त भइसकेकाले द्वार बन्द थियो । द्वारपालले सूर्योदय नहोउञ्जेलसम्मका लागि बाहिर रहेको धर्मशालामा बस्न सुझाए । द्वारपालले बोली सुनेरै उनीहरु तिब्बती छन् भनी ठम्याइसकेका थिए किनभने बिहारमा एक तिब्बती ग्यात्सो सेंगे पनि अध्ययनरत थिए, जसको पोशाक आगन्तुकहरुकै जस्तै थियो र बोली पनि उस्तै बोल्थे । भोलिपल्ट सबेरै यात्री दल बिहारमा पस्यो । र, भित्र भेटेजति मान्छेसँग ग्यात्सोबारे सोध्दै गयो । साथै आचार्य दिपंकर अतिशलाई तिब्बत लान लिन आएको बतायो । एकजना वृद्धले आचार्य अतिशलाई लिन आएको कुरो सबैलाई भन्न नहुने भएकाले गोप्य राखिराख्न सुझाए । यहाँका मानिस अतिशलाई अत्यन्त श्रद्धा गर्ने भएकाले उनीहरुलाई यो कुरा राम्रो लाग्दैन भने । एकछिनपछि उनीहरु ग्यात्सोको कोठा पुगे । ग्यात्सोको प्रभाव देखाएर अतिशसँग भेट्ने योजना बनाउन थाले । टोली नेता थिए नागत्सो, जो संस्कृतका दोभाषे र भारतमै बसेर विनय शिक्षा लिएका थिए । भोलिपल्ट टोलीले अतिशलाई भेट्यो । नागत्सो उनको सौम्य व्यक्तित्व र विनयशीलताबाट प्रभावित बने । अतिशले पनि तिब्बतप्रति राम्रो सद्भाव देखाएपछि ‘मिशन’ सफल हुनेमा टोली ढुक्क बन्यो । यसअघि पनि अतिशलाई तिब्बत लाने योजना असफल भइसकेको थियो । यो योजनाका लागि तिब्बती राजाले थुप्रै सुनका मुद्रा खर्चिसकेका थिए । एकदिन कुराकानीकै क्रममा ग्यात्सो र नागत्सोले सँगै तिब्बत लिएर जाने कुरा सुनाए । अतिशले फेरि पनि भारत छाडेर तिब्बत जान अस्वीकार गरे । यसपछि नागत्सोले अतिशलाई तिब्बत ल्याउने प्रयासकै क्रममा त्यहाँका राजा येशे ओद उर्फ जाङचोब येशे ओद (धर्मराजा) ले बलिदान दिएको कथा सुनाए । 

केही समयअघिसम्म तिब्बतमा येशे ओद शासन गर्थे । बौद्ध धर्मको प्रवल समर्थक । तिब्बतमा बौद्ध धर्मभित्र रहेको विकृति हटाउन चाहन्थे । यसका लागि उपलब्ध ग्रन्थहरु तिब्बती भाषामा अनुवाद गर्न लगाउने उद्देश्यले संस्कृत र पाली भाषा जानेका विद्वानहरुलाई पठाए तर भारतको जलवायुमा टिक्न सकेनन् र धेरै त्यतै मरे । यसपछि राजाले भारतीय विद्वानलाई नै तिब्बत ल्याउन पाए उत्तम हुने ठाने । त्यसबेलासम्ममा अतिशको ख्याति तिब्बतसम्म फैलिइसकेको थियो । त्यसैले अतिशलाई निमन्त्रणा दिन अनुवादक र विद्वानको टोली भारत पठाए । चाहन्थे, अतिशजस्ता श्रेष्ठ विद्वान तिब्बत आएर बौद्ध धर्मलाई शुद्ध र सुदृढ पारुन् । राजा येशे ओदले संस्कृत जान्ने दुईजना अनुवादकलाई थुप्रै स्वर्ण मुद्रा र सहायकहरु दिई भारत पठाए । महिनौं दिनको कष्टदायी यात्रापछि टोली भागलपुरस्थित विक्रमशीला बिहार पुग्यो । राजाबाट पठाइएका सुन तथा अन्य उपहार बुझाए तर अतिशले लिन अस्वीकार गरे । तिब्बत गई बौद्ध धर्मको प्रचार गर्नमा पनि रुचि लिएनन् । निराश भई दल तिब्बत फक्र्यो तर राजा येशे ओद निरास भएनन् । जसरी पनि अतिशजस्ता ठूला विद्वानलाई तिब्बत ल्याएर बौद्ध धर्मलाई सही रुप दिन दृढ संकल्प थिए । त्यसैले दोस्रोपटक प्रयास थाले । यसको निम्ति सुन संकलन गर्न थाले तर पर्याप्त सुन संकलन भएन ।

यसबीच राज्यको सीमानाभन्दा बाहिरको ठाउँ (मानसरोवर तालको उत्तरमा पर्ने) गरटोगमा सुन खानी रहेको समाचार प्राप्त गरे । राजा आफैं सैनिकलाई लिएर त्यहाँ पुगे । गरटोगका राजाले येशे ओदको उक्त अभियानबारे थाहा पाए । येशेलाई समातेर कैद गरे । समाचार सुनेर येशेका भतिज चानचोब, जो भिक्षु थिए काकालाई भेट्न गरटोग गए । त्यहाँका राजासँग भेटे । राजाले येशेलाई छाड्न शर्त तेस्र्याए– तिब्बतका राजा येशेले आफ्नो धर्म छाडेर गरटोग राजाको धर्म (बोन) स्वीकार्नुपर्ने वा येशेको कद जतिको सुनको प्रतिमा बनाएर उपहार चढाउनुपर्ने । चानचोब दोस्रो शर्त मान्न तयार भए । तिब्बत फर्केर सुन जम्मा पार्न थाले । र, येशे ओदको कदजतिको ठूलो प्रतिमा बनाउन लगाए । तर, मूर्तिको टाउको बनाउन बाँकी हुँदै सुन सकियो । मूर्ति नबनेपछि गरटोगका राजाले येशेलाई पुनः जेलचलान गरे । 

चानचोब काकासँग भेट्न जेल पुगे । येशेले भतिजलाई आफूलाई जेलबाट छुटाउने प्रयास नगर्न भने । बरु भिक्षुत्व त्यागेर र तिब्बतको राजा बनेर बौद्ध धर्मको सुधारक बन्न आदेश दिए । साथै सके अतिशलाई तिब्बत ल्याउन सन्देशवाहक पठाउन र सन्देशमा येशे ओदको जीवनको एकमात्र लक्ष्य उनीमार्फत तिब्बतमा बौद्ध धर्ममा सुधार चाहेको कुरा उल्लेख गर्न भने । यसका लागि प्राण दिन तयार रहेको समेत बताए । चानचोब तिब्बत फर्के । भिक्षुत्व त्यागेर राजा बने । उता, केही समयपछि नै येशे ओदको निधन जेलमै भयो । राजा बनेपछि चानचोबले फेरि सुन जम्मा पार्न थाले । पर्याप्त सुन जम्मा भएपछि भारतबाटै बौद्ध दिक्षा प्राप्त गरेका आफ्नो नेतृत्वमा एउटा टोली भारत पठाएको नागत्सोले सुनाए । राजा येशे ओदको त्यागको कथा सुनेर अतिश निकै प्रभावित बने । तिब्बत जान तयार भए । भने, ‘तिब्बतका राजा बोधिसत्व (बुद्ध बन्ने अधिकारी भइसकेका) छन् ।’

अतिश तिब्बत जान तयार भएपछि नागत्सोहरु सन्तुष्ट बने । निश्चिन्त बनी अध्ययनमा लागे । अतिशलाई थाहा थियो, तिब्बत जाने अनुमति सजिलै पाइने छैन । त्यसैले बिहारका प्रमुख रत्नाकर शान्तिलाई भेटेर नेपाल जान अनुमति मागे । रत्नाकरले भने, ‘तपाईं हाम्रो नेत्र हुनुहुन्छ । त्यसैले तपाईं जानुभो भने हाम्रो धर्म र दर्शनलाई अँध्यारोले ढाक्नेछ ।’ तथापि अतिशको मनोभाव र तिब्बती राजाको संकल्पको कुरा सुनिसकेका उनले तीन वर्षका लागि तिब्बत जान अनुमति दिए । अनुमति पाएपछि सन् १०४० मा ५८ वर्षीय अतिश तिब्बत जान नेपाल पसे । उनको दलमा १२ सदस्य थिए । दोभाषेको जिम्मा विक्रम सिंहले उठाए । उनी तिब्बतमा बस्थे । विद्याध्ययनका लागि भारत पुगेका थिए । भारत र तिब्बतका भाषा दुवै राम्ररी बोल्थे । यहाँ त्यसबेला ठकुरी राजा गुणकामदेवको शासन थियो । उनले अतिशप्रति अगाध स्नेह र सम्मान प्रकट गरे । नेपालमै बस्न आग्रह गरे । अतिशले गुणकामदेवको आग्रह अस्वीकार्न सकेनन् । एक वर्षपछि पुनः तिब्बत जान अग्रसर भए तर बाटोमा विक्रम सिंह बिरामी परे । अतिशले बचाउन सकेनन् । अत्यन्त दुःखी बनेर तिब्बतको यात्रा त्याग्ने मनस्थिति बनाए । दोभाषेको अभावमा तिब्बत जान आनाकानी गरेको थाहा पाएपछि टोलीमा संलग्न अन्य दोभाषेहरुले अघि बढ्न आग्रह गरे । अतिश सन् १०४२ मा मनाह–रिस पुगे, जहाँ तिब्बती राजा स्वयंले उनको स्वागत गरे । र, थुन बिहार लगे । सो बिहार राजा येशे ओदले निर्माण गर्न लगाएका थिए । त्यहाँ अतिश नौ महिना बसे । धर्म–उपदेश दिए । प्रशिद्ध पुस्तक ‘बोधिपथ प्रदीप’ लगायत थुप्रै रचना गरे । तिब्बती भाषामा अनुदित उक्त पुस्तक अहिले पनि त्यता पाइन्छ । 

अतिश तिब्बतमा १३ वर्ष बसे । एउटा प्रदेशबाट अर्को प्रदेशको यात्रा गरी धर्म प्रचारमा लागे । धर्ममा भित्रिएको विकृतिलाई हटाउँदै गए । चार वर्ष मध्यतिब्बत, ६ वर्ष ने–थान क्षेत्र  र तीन वर्ष मानसरोवरमा बिताए । सन् १०५० मा येर–वा बिहारमा बसे । यो स्थान ल्हासाको उत्तरपूर्वमा पर्छ । त्यहाँ बसेर धेरै पुस्तक लेखे । पछि हिँडेर आधा दिनमा पुगिने ने–थान बिहारमा बस्न गए । जहाँ उनको निधन सन् १०५४ मा भयो । उनी ७२ वर्षका थिए । अतिशलाई तिब्बतमा आज पनि आदर गरिन्छ । जहाँ–जहाँ उनी घुमे, त्यताका तिब्बतीहरुले उनको चित्र (पौभाः अर्थात् थान्का) बनाएर भित्तामा झुण्ड्याउने गरेका छन् । आफू महायानी भए पनि हीनयान, महायान र बज्रयान बौद्ध धर्मका तीनै शाखाबीच उनले यस्तो समन्वय स्थापित गरे कि तिब्बत र उत्तरी एशियामा बौद्ध धर्मले नयाँ दिशा प्राप्त गर्न सक्यो । तिब्बतीहरुका बौद्ध धर्मको वर्तमान स्वरुप यही हो । भारतीय विद्वान राहुल सांकृत्यायनले अतिशको वर्णन गरेका छन् । उनको भनाइमा गौतम बुद्धभन्दा पहिलाका एक बुद्धको नाउँ पनि दिपंकर भएकाले बौद्ध धर्मावलम्बीहरुले आचार्य दिपंकर अतिशलाई ठूलो महत्व दिने गरेका छन् । राहुलले अतिशको पाण्डित्य (विद्वता) र तीक्ष्ण बुद्धिको प्रशंसा गरेका छन् ।

टिप्पणीहरू