पत्नीका निम्ति के हो र जेलको पर्खाल !

  • राजेन्द्र स्थापित

जोन पी. क्यारोलको जन्म अमेरिकाको बोस्टन शहरमा सन् १८८२ मा भयो । सानोतिनो चोरीमा मन रमेन, बैंक लुट्ने, ठूला व्यापारी र सम्पन्न व्यक्तिको घरमा डाँका डाल्ने, रेल रोकेर लुटपाट गर्नेजस्ता जघन्य अपराधमा संलग्न हुन थाले । दिउँसै व्यस्त शहरको घर र पसलमा लुटपाट गर्थे । प्रहरीले लखेटे पनि छलेर भाग्थे । जोनको यो अपराधमा पत्नी मेबल उर्फ एलिजाबेथ लेन पनि सामेल थिइन् । अत्यन्त तिक्ष्ण बुद्धि भएकी, चतुर र महŒवाकांक्षी थिइन् । दुवैको एउटै उद्देश्य थियो– अकूत सम्पत्ति थुपार्ने, धनी बन्ने । हुन पनि सन् १९२६ सम्ममा उनीहरुले लुटपाटबाटै अढाइलाख डलर थुपारिसकेका थिए । पत्रपत्रिकामा दिनहुँजसो उनीहरुबारे समाचार आइराख्थ्यो । पत्रकारको आँखामा उनीहरु ‘लखपति चोर’ थिए ।

पछिल्लो दिन नेमेसिमलाई ‘कार्यक्षेत्र’ बनाएर लुटपाटमा सक्रिय हुँदै थिए तर असावधानीवस पक्राउ परे । जोन अपराध स्वीकार गरेपछि नम्बर १ सुरक्षा बन्दोबस्त भएको मानिने कान्सास शहर (मिजौरी राज्य) को लिबनबेथ जेल चलान भए भने मेबल लिड्सस्थित महिला कारागार । वर्षौंदेखि ‘टाउको दुखाइ’ बन्दै आएको अपराधी दम्पतीलाई जेलमा कोच्न सफल भएकोमा प्रहरी दंग थियो । केही दिनपछि जोनले उकुसमुकुस महसुस गरे । तर जेलको पर्खाल यति अग्लो र पक्का थियो कि नाघेर भाग्न पूर्णतः असम्भव । त्यसमाथि जोन खतरनाक अपराधी भएकाले निगरानी कडा थियो । जुत्ता बनाउने उद्योगमा काम गर्न लगाइयो तर उनको दिमागमा भने भाग्नेबाहेक अरु सोच नै आएन । काम त गर्थे तर त्यहाँ कार्यरत अन्य कैदी र चौकीदारहरुबारे सूक्ष्म अध्ययन पनि गर्दै जान थाले ।

यसबीच ठूलो कडिकडाइको बाबजुद बाहिर रहेका मित्रहरुले पठाएको एउटा सन्देश हात पारे । सन्देशमा ‘पत्नी मेबल क्षयरोगले थला परेको र छिट्टै जेलबाट भगाउन नकिए जेलभित्रै मर्ने’ उल्लेख थियो ।

जोन मेबललाई औधी प्रेम गर्थे । पत्नीको खुशीका लागि जे गर्न पनि तयार हुन्थे । पत्नी संकटमा रहेको सन्देश पाएपछि मन बेचैन भयो । कुनै एक चौकीदारको सहयोग पाए भाग्न सकिनेमा ढुक्क भए । जुत्ता कारखानाका नाइके थम्पसन गृह प्रशासनदेखि असन्तुष्ट थिए । अधवैंसे उनी सधैं सरकारको आलोचना गरिराख्थे । साह्रै होशियार र अनुभवी अधिकृत भए पनि लोभी थिए । तलबले परिवार पाल्न धौधौ थियो । सबै कुरा थाहा पाएपछि जोनले उनैको योजनामा भाग्ने योजना बनाए । एकदिन सबै कामदार हिँडिसकेपछि कुरो गर्न चाहे तर थम्पसन पेस्तोल तानेर उभिए । जोन डराएनन् ।

सोधे, ‘यदि तिमीले सजिलै ३४ हजार डलर पाउने भयौ भने के गर्छौ ?’ तर थम्पसनले जोनको कुरामा न रुचि लिए न आश्चर्य नै प्रकट गरे । सोधे मात्र, ‘यसका लागि मैले गर्नुपर्ने के हो ?’

‘योजना म भन्छु, मलाई सहयोग गर्न तयार छौ ?’

‘के मैले ३४ हजार पाउँछु ?’

‘हो, पाउँछौ । म सत्य भन्दैछु ।’

‘त्यत्रो रकम पाउन ठूलै काम गर्नुपर्ने त होला नि !’

जोनले भने, ‘हेर, भेनिसमा मेरो ६८ हजार डलर छ । यदि भाग्न मद्दत ग¥यौ भने आधा तिमीलाई दिन्छु ।’ थम्पसनले टाउको कन्याउँदै जवाफ दिए, ‘यस्तो कुरो मसित नगर्नू । अरुकै सहयोग माग्न जानू ।’ तर भोलिपल्ट सबै कामदार हिँडिसकेपछि जोनलाई एकछिन बस्न इशारा गरे । अनि योजनाबारे सोधे । जोनले सहज जवाफ दिए, ‘योजना जटिल छैन । अलिकति सहयोगले मात्र पनि सफल हुने खालको छ ।’ उनले योजना बताए । जेल अधिकारीहरुले केही सामान बाहिर पठाउन लागेको र सोही मौकामा सामान राख्ने बक्सा बनाउने कुरा सुनाए । सामानको बक्सा जहाजसम्म बोकेर लग्ने समय आफूहरुले बनाउने बक्सा पनि मिसाउन र त्यसलाई आफ्नो घरमा लान सुझाए । थम्पसनले योजना कार्यान्वयनमा जटिलता देखेनन् । त्यसो गर्दा आफूमाथि कसैले शंका गर्न पनि नसक्ने भएकाले साथ दिन राजी भए । जोन साह्रै साहसी र धैर्यवान थिए । बक्सा बनाउन कुनै हतार गरेनन् । बक्सा तयार भइसकेपछि भाग्ने मौका पर्खेर बसे ।

पत्नीबारेको पत्र पाएको करिब पाँच महिनापछि सन् १९२७ को जुलाई १२ मा सामान भरिएका बक्साहरु जहाजतर्फ लान थालियो । थम्पसनको सहयोगमा जोन बक्साभित्र लुके । तर लानेले उक्त बक्सा उल्टो पारेर बोके । करिब एक घण्टा जोन बक्साभित्र टाउकोको बलमा बस्न बाध्य भए । एकछिन त बेहोससमेत भए ।

योजनाअनुरुप बक्सा थम्पसनको घरमा पुग्यो । जोन पुग्दा घर खाली थियो । सोफामा राखिएको लुगा लगाएर बाहिर निस्के । थोत्रो एउटा गाडी किने अनि सिधै मेबल राखिएको लिड्सस्थित जेलतर्फ लागे । जेलको मेट्रनसित भेटेर मित्रता गाँसे । आफू इञ्जिनियर भएको बताए । मेट्रनले उनीमाथि कुनै शंका गरेनन् । उनै मेट्रनको सहयोगमा जेलभित्रको सबै विवरण प्राप्त गरे । प्राप्त सूचनाको आधारमा जेलभित्र कता के छ र मेबललाई कुन ब्लकमा राखिएको छ, सबैको नक्सा तयार पारे । मेबल रहेको कोठाको नजिक–नजिक बस्ने कैदीहरुबारे समेत सूचना प्राप्त गरे । त्यति मात्र हैन, ती सबै महिला कैदीहरुको आचरण, गतिविधि नियाले र कतिपयसँग मित्रतासमेत जोडे । ती कैदीहरुमार्फत मेबलसँग सन्देश आदानप्रदान गरे ।

जुलाई २७ को राति मेबललाई भगाउने योजना बनाए । बाटोघाटो एकदम अँध्यारो र सुनसान थियो । जोनको गाडी जेलबाहिर रोकियो । गाडीमा पट्याउन मिल्ने फलामे भ¥याङ, फलाम काट्ने करौंती, एउटा लामो डोरी र एक टुक्रा साबुन र खुर्सानीको धुलो भरिएको डिब्बा थियो । जोनले जहाँ मेबलको कोठा थियो, त्यहींनिर भ¥याङ ठड्याए । त्यहाँ भएको सानो प्वालभित्र सानो ढुंगा खसाले । मेबलले भित्रबाट सोही ढुंगा बाहिर फ्याँकेर सही स्थानमा आइपुगेको गोप्य सूचना दिइन् । जोनले भ¥याङलाई अलि पर सारे र पर्खाल नाघेर भित्र छिरे । सुस्त पाइला चाल्दै मेबलको शयनकक्ष भएको ‘डि’ ब्लकतर्फ लागे । मेबल तेस्रो तलामा थिइन् । जोनले डोरी माथि फ्याँके । तेस्रोपटक मेबल डोरी समाउन सफल भइन् । डोरीलाई खम्बामा बाँधिन् । जोन त्यही डोरीको सहयोगमा माथि चढे । मेबल दंग परिन् । भनिन्, ‘तिमी अवश्य आउने छौ भन्ने पूर्ण विश्वास थियो ।’

जोन डोरी कम्मरमा बाँधेर झ्याल भएको स्थानमा झुण्डिए । जोनले करौंतीमा साबुन दले ताकि डण्डी काट्दा आवाज ननिस्कोस् । झ्यालको डण्डी काट्न थाले । अत्यन्त सावधानीपूर्वक डेढ घण्टामै सबै डण्डी काट्न भ्याए । त्यसपछि डोरी भित्र फ्याँके । मेबलले बलियोसित समातिसकेको संकेत गरेपछि डोरी तान्न थाले । क्षयरोगको कारण मेबल शक्तिहीन बनिसकेकी थिइन्, तैपनि डोरी बलियोसित समातेर माथि आउने कोशिश गरिन् । झ्यालसम्म पुग्नेबित्तिकै जोनले हात समाते र तानेर बाहिर निकाले । अनि दुवै भ¥याङबाट झर्न थाले । जोनले पहिल्यै खुर्सानीको धुलो भित्तामा दलिसकेका थिए । त्यसो नगरेको भए उनीहरु जेलबाहिर छोडिएका कुकुरको शिकार बन्न सक्थे । पिरो खुर्सानीको धुलोको गन्धकै कारण कुकुर त्यतातर्फ आएनन् ।

सुरक्षित तवरले दुवै तल पुगेपछि मेबलले जोनलाई अंगालो मारिन् । जोनको मुखबाट ‘मेबल’ मात्र निस्क्यो । मेबल साह्रै दुब्लाइसकेकी थिइन् । तल पुग्दा स्वाँस्वाँ गर्दै थिइन् । जोनले सोधे, ‘साह्रै कष्ट हुन्छ हो ?’ मेबलले भनिन्, ‘हो, बिरामी छु । मेरो बाँकी जीवन जेलको चिसो र गन्हाउने कोठामै सकिने भयो भनेर चिन्तित थिएँ ।’

जोनले फुसफुसाउँदै भने, ‘अब मर्ने कुरो नगर । म तिमीलाई राम्रो अस्पतालमा लगेर उपचार गराउँछु । हेर्नु, तिमी कति छिट्टै पहिलाजत्तिकै स्वस्थ र फूर्तिलो बन्ने छौ ।’ मेबलले केही भनिनन् । अब दुवै स्वतन्त्र भइसकेका थिए । भ¥याङलगायत सबै सामान गाडीमा राखेर त्यो अँध्यारोमा हराए । जेल तोडेर भागेको पाँच महिनामै मेबलको निधन भयो । अर्को ६ महिना नबित्दै जोन पुनः पक्राउ परे । लोभी थम्पसनले भने जोनलाई भगाएबापत पाउनुपर्ने ३४ हजार त के एक पैसासम्म हात पार्न सकेनन् । लखपति चोर जोन र मेबलको प्रेम कथा र जेलबाट भागेको साहसिक कथा पहिलोपटक बाल्टिमोर सन पत्रिकामा सन् १९२८ को जुन १९ मंगलबारको पृष्ठ ३० मा छापियो । यसपछि भने धेरैले उनीहरुबारे समाचार लेखे ।

टिप्पणीहरू