मायालु पत्नीको निम्ति पनि नपग्लिएको मन « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

मायालु पत्नीको निम्ति पनि नपग्लिएको मन

प्रकाशित मिति :  १५ पुष २०७३, शुक्रबार ०८:११


  • राजेन्द्र स्थापित

हो त्चु छेन उर्फ हे छिछेनको जन्म जियाङ्सी प्रान्तको योङशिनमा भयो । बाबु फुजियान जिल्लाका न्यायाधीश थिए तर पछि जागिरबाट निकालिएपछि केही समय सम्पत्ति बेचेर गुजारा चलाए पनि अन्ततः आर्थिक संकटकै कारण शहरमा टिक्न सकेनन् र काँठक्षेत्र योङशिनतिर लागे । १६ वर्षीया हेले स्कुलमा पढ्दै कम्युनिष्ट युथ लिगको सदस्यता लिइन्, अर्को वर्ष सन् १९२६ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता । योङशिनको महिला विभाग सम्हालिन् ।

सन् १९२७ मा नानचाङ विद्रोह सफल भएपछि कम्युनिष्ट पार्टीले कोमिन्ताङविरुद्ध देशभरि संघर्ष छेड्यो । तर, पछिल्लो संघर्ष असफल भएपछि साथीहरुसँगै हे पनि चिङकाङसानतर्फ भागिन् । लगत्तै त्यहाँ माओ पुगे । संघर्ष समितिका स्थानीय अध्यक्ष थिए– हेका दाजु युवान वेन्साइ । उनैमार्फत हे र माओको पहिलो भेट भयो । सानै उमेरमा पार्टीको स्थानीय नेतृत्व सम्हाल्न पुगेको जानकारीपछि माओ हेबाट प्रभावित बने । शुरुमा हेले माओलाई परिपक्व नेताको रुपमा लिने गरे पनि पछि उमेरमा दोब्बर (३४ वर्ष) का हृष्टपुष्ट र अग्ला व्यक्तिलाई दिलैदेखि मन पराउन थालिन् । क्रान्तिकारी काम गर्ने क्रममा नजिकिँदै गएपछि एकदिन माओले भने, ‘तिमी असल कमरेड हौ, एउटी असल केटी । मलाई तिमी मन पर्छ ।’ साथै माओले परिवार र याङ काङहुइसितको वैवाहिक जीवनबारे सबै कुरा बताए । याङ काङहुइको तर्फबाट तीन छोरा भएको तर लामो समयदेखि पत्नी र छोराहरुसँग सम्पर्कविहीन हुनुपरेको जानकारी दिए । हेले पनि आफ्नो पारिवारिक पृष्ठभूमि सबै बताइन् ।

चिङकाङसानमा त्यतिबेला जोडतोडका साथ सुधारको कार्यक्रम चल्दै थियो । माओले हातमा कोदालो र हँसिया लिएर हेसँग खेतमा काम गर्न थाले । माओ किसान परिवारमै जन्मेकाले खेतीपातीमा सिपालु थिए तर हे सम्पन्न परिवारकी थिइन्, त्यसैले ठीकसित हँसिया चलाउन जानिरहेकी थिइनन् । माओले हेको क्रियाकलाप नियालिरहेका थिए । हँसिया चलाउने तरिका सिकाइदिए । फसल सुधार अभियानको समय ताङसियानचुनको एउटा गरिब किसानको घरमा बस्थे । संयोगवश हे पनि त्यही घरमा बस्थिन् । त्यहाँ बस्दा माओ आफैं पानी ल्याइदिने र कुचो लाइदिने गर्थे । हे कृषकका साना नातिनीलाई खेलाउने र भान्छाको काममा सघाउँथिन् । माओको नेतृत्वमा ताङसियानचुनमा इनार खन्ने र बाटो फराकिलो पार्ने काम थालियो । हे पनि श्रमदानमा होमिइन् ।

पहाड फोर्न, ढुंगा बोक्न थालिन् । सँगसँगै काम गर्ने क्रममा दुवै झन् नजिकिए । त्यसबेला माओकी दोस्री पत्नी याङ काइहुइ पक्राउसम्म परेकी थिइनन् । तर पनि हेले अघि सारेको बिहेको प्रस्ताव माओले अस्वीकार गरेनन् । सन् १९२८ मा पार्टीको अनुमति लिएर दुवैले विना भोजभतेर र समारोह सोही घरमा बिहे गरे । सन् १९२९ को मार्चमा हेले छोरी जन्माइन्– माओ जिन्ह्वा । तर, संघर्ष चर्किरहेको समय क्रान्तिकारीहरुले भर्खरै जन्माएका आफ्ना सन्तान आफूसँग राख्न नपाउने, शिशुलाई कुनै एक किसान परिवारको जिम्मामा छोड्नुपर्ने लालसेनाको नियम माओ र हेमाथि पनि लागू भयो । क्रान्तिको सफलताको निम्ति दुवैले चित्त बुझाए । लगत्तै माओले लोङयानगाउँ छोड्नुपर्ने भयो । छुट्टिने बेलामा सक्कली परिचय नखुलाई कुनै किसान परिवारमा बस्न हेलाई सुझाए । छोरी हुर्काउने जिम्मा पाएकोमा खुशी हुँदै हे किसान परिवारमा बस्न गइन् । तर, एक महिना नबित्दै लालसेनामा सम्मिलित हुने आदेश आयो । छोरीको स्याहार सुसारको लागि १५ वटा चाँदीका सिक्का किसानलाई बुझाएर हेले लोङयान छाडिन् । किसान परिवारले शिशुको नाउँ फेरेर याङ युह्वा राख्यो ।

केही समयपछि लालसेनाले योङयानमाथि पुनः कब्जा जमायो । माओ केही समय त्यहीं रहे तर त्यसबेलासम्ममा किसान परिवार छोरीलाई लिएर अन्तै बसाईं सरिसकेको थियो । यसैबीच माओ र हेले छोरीको दुखान्त भएको खबर पाए । संघर्ष चर्कंदै थियो, माओ घरी फुजियान त घरी जियाङशी र ग्वाङडोङ गइराख्थे । एकदिन हेलाई भने, ‘तिमी मसँग कति ओहोरदोहोर गरिरहन्छ्यौ ? केही समय पढ्न बस, मसित नहिँड ।’ यसपछि हे पुनः स्कुल जान थालिन् । तर, पढाइमा मन लागेन । पुनः पार्टीको जिम्मा लिएर माओसित काम गर्न थालिन् । यसबीच सन् १९३० मा दोस्रो सन्तान जन्माइन् । तर, बालकको मृत्यु केही समयमै भयो ।

त्यसबेला कम्युनिष्ट पार्टीको नेतृत्व वाङमिङको हातमा थियो । उनले माओलाई ‘उग्र र कट्टरपन्थी’ तथा केन्द्रीय कमिटीविरोधी भन्दै पेल्न थाले । माओ क्षेत्रीय सचिवबाट पनि बर्खास्त भए । वाङमिङको पेलानबाट माओ एकदम दुःखी बने तर हेले उचित समयमा पार्टीले उचित मूल्यांकन गर्ने नै छ भन्दै सान्त्वना दिइन् । उता माओपत्नी याङ काइहुइ सन् १९३० को अक्टोबरमा पक्राउ परिन् र नोभेम्बरमा फाँसीको सजाय पाइन् । सन् १९३२ मा हे फेरि आमा बनिन् तर केही समयमै शिशुको मृत्यु भयो । सन्तानको निधनमा दुःखी माओलाई त्यसैबेला फेरि लालसेनाको त्यस्तो डफ्फामा पठाइयो, जहाँ महिला र केटाकेटी लानै पाइँदैनथ्यो । त्यसैले दुवै पार्टीको आदेश मानेर छुटे । तर, केही समयपछि नै हे केटीहरुको डफ्फामा सम्मिलित भई माओ भएकै ठाउँमा काम गर्न पुगिन् ।

सन् १९३४ को अक्टोबरमा कम्युनिष्ट पार्टीले लामो अभियान (लङ मार्च) शुरु ग¥यो । केही समयपछि नै हेलाई पनि सोही अभियानमा सामेल हुने आदेश पार्टीले दियो । माओ त्यसबेला कमाण्डको प्लाटुन नं. ३ मा थिए भने हे स्वास्थ्य इकाइमा । यसकारण लडाइँकै बेलामा पनि दुईजनाको भेटघाट भइरह्यो । एकदिन मध्याह्नको समय हेको पेट दुख्यो । त्यसबेला उनीहरु पाइसानको पहाडी इलाकामा थिए । साँझ ४ बजेसम्म सबै त्यहाँबाट नहिँडे कोमिन्ताङको आक्रमणमा पर्नसक्ने सूचना प्लाटुन कमाण्डरले ल्याए । कमजोर स्वास्थ्यका कारण हेको अनुहार नीलो पर्न थालिसकेको थियो । हिँड्न नसक्ने भइसक्दा पनि आफूलाई विशेष हेरचाह नगर्न भन्दै थिइन् । उनको स्वास्थ्य स्थितिलाई लिएर सबै चिन्तित हुँदाहुँदै पनि कमाण्डरको आदेशमा सबैले गाउँ छाडे ।

हेरचाहका लागि छाडेर गएका पाँच–छ जना छापामारले बडो कष्टका साथ हेलाई स्ट्रेचरमा राखेर गाउँको एउटा सुरक्षित घरभित्र लगे तर स्ट्रेचरबाट झर्न नपाउँदै हेले चौथो सन्तान (सन् १९३५ मा) जन्माइन् । पार्टीको नियमानुसार नवजात छोरीलाई साथमा राख्न पाइनन् । किसान परिवारलाई जिम्मा लगाउने हेतुले माओका भाइ माओ जेमिनकी पत्नीले नवजात शिशुलाई नरम कपडामा बेरेर हेलाई दिइन् । हेले लगाइराखेको कोटको खल्तीमा हात छिराइन् । चाँदीका चारवटा सिक्का निस्क्यो । सिक्का शिशुको जिउमा राखिदिइन् । र, गाउँलेकहाँ छोडेर आउन भाइबुहारीलाई छोरी दिइन् । बुहारीले पछि चिन्न सजिलै होस् भनी बच्चीको नाउँ राखिदिन आग्रह गरिन् तर हेले आँखाबाट बलिन्द्रधारा आँशु झार्दै भनिन्, ‘भो, यसो गर्नु जरुरी छैन । भविष्यमा मेरी छोरीले क्रान्तिमा भाग लिइन् भने अवश्य हाम्रो भेट हुनेछ ।’ त्यति भनी सन्तानलाई एकचोटि पनि नहेरीकनै रगतको दाग लागेको स्ट्रेचर बोकी साथीहरुसँगै माओहरु रहेको क्षेत्रतिर लम्किइन् । माओसित भेट भएपछि छोरी जन्मेको खबर सुनाइन्, माओले धन्यवाद भने ।

सन् १९३५ को जनवरीमा चुन्यीमा सम्पन्न पार्टी सम्मेलनले माओको नेतृत्व स्वीका¥यो । लगत्तै फेबु्रअरी २० मा लालसेनाले दोस्रोपटक रातो नदी पार ग¥यो । ठूलो सफलता हासिल ग¥यो । एक दिन लालसेनाको जत्था युन्नान छाडी सिचाङ जाँदै थियो । जिन्सा नदी तर्दै गर्दा एकाएक कोमिन्ताङको विमानले बम बर्साउन थाल्यो । लालसेना तितरबितर भयो । धेरैजसो नजिकको खाल्डामा लुक्न गए । त्यसबेला हे रहेको स्थानमा ओढार थिएन । त्यसकारण बमबारी हुँदा पनि भागिनन् । हातमा स्ट्रेचर थियो । घाइते साथीलाई स्ट्रेचरमा हालेर सुरक्षित स्थानमा लान तान्दै गर्दा फेरि अर्को बमवर्षा भयो । मेशिनगनबाट गोली प्रहार भयो । घाइते साथीहरुलाई नलागोस् भनी छेकेर बस्ने क्रममा गोलीको छर्रा उनको शरीरभित्र पस्यो । उनी असह्य पीडाले छट्पटाइन् र बेहोस भइन् । खाल्डोमा लुकेर बसेका लडाकु बाहिर निस्केर उनी भएतिर दौडे । हेको शरीर रक्ताम्य भइसकेको थियो । मेडिकल टोलीले आकस्मिक उपचार शुरु ग¥यो । बाँच्ने आश सबैले छाडे । स्थिति प्रतिकूल बन्दै गएपछि माओलाई बोलाउन पठाइयो । माओ त्यहाँ पुग्नसक्ने स्थितिमा थिएनन् तर हे बाँचिन् । तीन दिनपछि माओ पुगे । पत्नीलाई अंगालो हालेर ब्याण्डेज बाँधिएको ठाउँहरु एकएक गरी हेरे । हेको एउटा हातलाई दुवै हातले समातेर बसे । कम्युनिष्ट पार्टीले सान्सी प्रान्तको व्यापारिक नगरमा मुख्यालय सारेपछि हे पुनः पार्टी काममा सक्रिय बनिन् ।

माओ कम्युनिष्ट पार्टीको अध्यक्ष बनिसकेका थिए । हेसँगै पाओआनस्थित एउटा गुफामा बस्थे । त्यहीं सन् १९३६ मा हे फेरि सुत्केरी भइन् । हेले छोरी जन्माएको थाहा पाएपछि नजिकै बस्दै आएका चाओ एनलाइ र उनकी पत्नी देङ यिङचाओ गुफाभित्र पसे । देङले बच्चीलाई काखमा लिएर मायालु पारामा बोलाइन्, ‘जियाओ जियाओ’ अर्थात् सुन्दरी । ली मिनको नाउँले पछि चिनिन थालेकी जियाओ जियाओलाई पनि चार महिनापछि एउटा किसान परिवारले जिम्मा लियो । हे पुनः पार्टी काममा खटिइन् । संगठन विभागको आग्रहमा जापानविरोधी सैनिक तथा राजनीतिक कलेज का¨डामा भर्ना भइन् । छात्रावासमै बस्न थालिन् । शुरुशुरुमा हप्ताको अन्त्यतिर गुफातिर जान्थिन् र छोरीलाई पनि भेटेर फर्किन्थिन् तर विस्तारै यो क्रम पातलिँदै गयो । अध्ययनमा ध्यान दिन थालेदेखि नै हेको स्वास्थ्य खस्किन थालेको थियो । शरीरभित्र पसेका बमका टुक्राहरुले शरीर दुख्न शुरु ग¥यो । मानसिक व्यथाबाट पनि छट्पटाउन थालिन् । छात्रावासमा लुगा धोइरहेको बेला बेहोससमेत भइन् । चिकित्सकहरुले अत्यधिक रक्तअल्पता रोगबाट ग्रस्त भएको रिपोर्ट दिए । पूर्णतः आराम गर्न सुझाव दिए । रोगी भएकै कारण कलेजले पनि छुट्टी दियो । उनी निराश भई घर फर्किइन् । यो घटनापछि एकाएक दाम्पत्य जीवनमा तिक्तता आयो । माओको हेरचाहमा खटिएकी नर्स गु पाइको विषयमा दुवैबीच चर्काचर्की नै भयो । माओलाई खाँदा हरियो खुर्सानी नभइ हुन्नथ्यो । तर, डाक्टरले नखुवाउनु भनेकाले एकदिन हेले हरियो खुर्सानी झ्यालबाट फ्याँकिदिइन् । माओ हेदेखि निकै रिसाए । ठूलै ठाकठुक प¥यो । यसबाहेक माओ र एकजना अंग्रेजी दोभाषेको सम्बन्धले पनि दुवैबीच तिक्तता बढायो । माओ र पेकिङ ओपेराका नर्तकी लान पिङ (पछि चियाङ चिङको नाउँले प्रख्यात) बीचको नजिकपनाबाट पनि हे निकै विचलित बनिन् ।

अन्त्यमा सन् १९३७ को डिसेम्बरमा हे एक वर्षको छोरी (ली मिन) लाई लिएर सियानमा बस्न गइन् । उनी त्यतिखेर दुई जिउकी थिइन् । माओले हेलाई लिन पठाए । देङ चिङ चाओको हातमा हेलाई दिनू भनी एउटा बक्सा पठाए । हेले बक्सा खोलेर हेरिन् । भित्र एउटा काइँयो, सियो र धागो, एउटा रुमाल र सानो चक्कु थियो । त्यो त्यही चक्कु हो, जसले ताछेर हेले माओलाई फलफूल ख्वाउने गर्थिन् । हे त्यो चक्कु हेरेर एकछिन भावुक भइन् तर माओदेखि छुट्टिएर बस्ने आफ्नो अडान कमजोर हुन दिइनन् । सन् १९३८ मा माओलाई सदाका लागि छाडेर रुसतर्फ लागिन् । मस्को बसाइमै अन्तिम सन्तानको रुपमा छोरा जन्माइन् । पछि माओले अध्ययनका लागि पठाएका आफ्ना छोराहरु (याङ काइहुइतर्फका) माओ आन्यिङ र माओ आन्छिङको हेरविचार हेले त्यहीं बसेर गरिन् । यसबीच माओले हेलाई थुप्रैपटक पत्र लेखे । हेले माओप्रति प्रेम भने दर्शाइ नै रहिन् तर जन्मेको १० महिनामै छोरो मरेपछि मानसिक रुपमा चोट पुग्यो र अस्पतालमै भर्ना हुनुप¥यो ।
उता हे मस्को गएपछि माओ र चियाङ चिङको सम्बन्ध प्रगाढ बन्दै गयो । हेले चीन नफर्कने अडान राखेपछि माओले चियाङ चिङसित बिहे गर्न पाऊँ भनी पार्टीको राजनीतिक विभागमा निवेदन हाले । एकजना तटस्थ र एकजना अनुपस्थित सदस्यबीच सम्पन्न केन्द्रीय कमिटी बैठकले माओको निवेदनलाई स्वीकृति प्रदान ग¥यो । माओले सन् १९३८ को नोभेम्बरमा चियाङ चिङसित बिहे गरे ।

यो खबरले हेको दिमागी असन्तुलन झन् बढायो । विक्षिप्त भई बर्बराउन थालिन् । पागलजस्तै बनेपछि केही महिना मस्कोस्थित मानसिक अस्पतालमा बसिन् । यसका बाबजुद इन्टरनेशनल चिल्ड्रेन्स स्कुलमा चिनियाँ भाषा पढाउने शिक्षिका नियुक्त भइन् । ठीक त्यसैबेला जर्मनीले सोभियत संघमाथि हमला ग¥यो । सरकारी कार्यालयहरू साइबेरियाको इभानोभोमा सरेका कारण त्यतै लागिन् । साइबेरिया निकै चिसो ठाउँ । चिसोकै कारण छोरी लि मिन बिरामी परिन् । त्यहाँ हे घरमै स्विटर बुनेर बस्न थालिन् । एकदिन प्रिन्सिपलले स्कुलमा बोलाएर ‘तिमी बहुला हौ, मानसिक स्कुल पठाउँछु’ भनी जबर्जस्ती गर्न थालेपछि रोइन्, कराइन् । तर, केही लागेन । मानसिक अस्पताल लगियो । पछि सन् १९४७ मा मस्को भ्रमणमा गएका चिनियाँ नेता वाङ जियासियाङ र उनकी पत्नी झू झोङ्ली हेसँग भेट्न अस्पताल गए । उनीहरुले  मानसिकरुपमा स्वस्थ भएको सिफारिस गरेपछि बल्ल अस्पतालबाट डिस्चार्ज भइन् । चीन फर्कन इच्छुक रहेको बताइन् । वाङले माओलाई पत्र लेखेर जानकारी गराए । माओले जवाफ पठाए, ‘चीनमा उनलाई स्वागत छ ।’

हे छोरीलाई लिएर हार्बिन फर्किन् । त्यहाँबाट उनी र छोरी लि मिनले माओलाई बेग्लाबेग्लै पत्र पठाए तर जवाफ लि मिनको पत्रको मात्र आयो । पछि माओले छोरी लि मिनलाई बेइजिङ बोलाए । एक्ली हेले माओको स्वास्थ्यको कामना गरेर पत्र पठाइन् तर योपटक पनि जवाफ पाइनन् । यसपछि सन् १९५९ मा एकदिन संयोगवश दुवैको भेट भयो । करिब अढाई घण्टा दुवैले आ–आफ्नो व्यथा पोखे । अन्त्यमा भोलि भेट्छु भन्दै माओ फर्के । हेले धेरै दिन पर्खिन् तर माओको ‘भोलि’ कहिल्यै आएन । माओ त्यो ठाउँ छाडेर हिँडिसकेको थाहा पाएपछि धेरै मर्माहत बनिन् । बिरामी नै परिन् । कम्युनिष्ट पार्टीले उपचारार्थ हेलाई पुनः मस्को पठायो । हे पछि त्यहीं बसिन्, चीन फर्किनन् । चार पत्नीमध्ये माओलाई सबैभन्दा बढी माया गर्ने तेस्री पत्नी हेको निधन सन् १९८४ को अप्रिल १९ मा ७५ वर्षको उमेरमा त्यहीं भयो ।

हेकी एकमात्र जीवित छोरी लि मिनले सन् १९५९ मा कोङ लिङह्वासँग बिहे गरिन् र एक छोरा र एक छोरीको आमा बनिन् । उनकी छोरी कोङ डोङमेइ पनि तीन सन्तानको आमा बनिन्, जो ६२ करोड युरोको मालिक्नी छन् । लि मिन र माओकी अर्की छोरी लि ना (चियाङ चिङतर्फकी) दुवै सन् २००३ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय परामर्श समितिमा सदस्य चुनिएका थिए ।


प्रतिक्रिया दिनुहोस !