भारतीय राजदूत दोहा हुँदै अमेरिकातिर

भारतीय राजदूत दोहा हुँदै अमेरिकातिर

नेपालको राजनीतिक वातावरण संसदबाट शीतल निवास हुँदै अदालतमा केन्द्रित छ । र, यही मेसोमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौंबाट अस्ति बिहान ११ः०५ को निम्ति निर्धारित तर २ बजे बल्ल उडेको कतार एयरको क्यूआर ६४९ उडानबाट २४१ यात्रुसहित दोहा हुँदै अफिसियल भिजिटका लागि अमेरिका निस्कनुभएको छ ।

निजी सचिव, पोलिटिकल सेक्शनका प्रथम सचिव र भीसा हेर्ने (‘र’ सम्बद्ध) तेस्रो वरियताका कन्सुलर अफिसरसहित राजदूतको चार सदस्यीय टोली अमेरिका उड्नु अघिल्लो रात क्षेत्रपाटीस्थित एक चार तारे होटलमा रात्रिकालीन जमघट चलेको थियो । नेपालमा विकसित राजनीतिक परिस्थितिसँग अमेरिका प्रस्थानको घटनाले सम्बन्ध राख्ने देखिन्छ ।

यो टोली आगामी जुलाई १ तारिख, अर्थात् असार १७ गते अमेरिकाबाट दिल्ली ओर्लिंदैछ । र, त्यहाँ चार दिन बसेर ५ तारिख, अर्थात् २१ गते काठमाडौं फर्किने तयारी छ । जबकि, सर्वोच्च अदालतमा संसद विघटन र धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिबारेको मुद्दामा यही महिनाभित्रै फैसला आउँदैछ । सर्वोच्चले वादी, प्रतिवादी र एमिकश क्युरीका लागि बहस गर्न निश्चित समय तोकेर मुद्दालाई छिटोभन्दा छिटो किनारा लगाउने मनशाय देखाएको छ ।

तर, भारतीय राजदूतचाहिँ यी सबै काम सकिएपछि फर्किने गरी अमेरिकातिर लाग्नुभएको छ । नेपालको राजनीतिक तरलतामाथि हामीले कुनै प्रत्यक्ष चासो, सरोकार राखेका वा हस्तक्षेप गरेका छैनौं भन्ने आभाष दिलाउनु यो यात्राको अर्को उद्देश्य हुनसक्छ । नेपाल मामिलामा भारत र अमेरिकाको चासो मिल्दै आएको सन्दर्भमा काठमाडांंै बस्ने भारतीय राजदूत अफिसियल काम भन्दै दिल्ली नगई वासिङटनतिर हान्निनुको अरु कारण खुलिसकेको छैन ।

राजदूतको टोली अमेरिका प्रस्थान गर्नुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का केही मान्छे काठमाडौं ओर्लिएको र म्यारियट होटलमा बसेको तर उनीहरुले को–कोसँग भेटे, के–के कुरा गरे भन्ने विवरण आइनसकेको चर्चा छ ।

टिप्पणीहरू