चुनाव पत्रकारको : राजनीति अनेकको

चुनाव पत्रकारको : राजनीति अनेकको

-नारायण नेपाल

राजनीति र पत्रकारिताको यात्रामा म क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय समितिबाट बिदाई भएको पाँच वर्षअघि हेटौँडा सम्मेलनबाट हो । त्यो बेला पत्रकारका नेताहरूको टकरावलाई केही अंशमा नापेको थिएँ मैले । पछिल्लो समय प्रभात चलाउनेको पत्रकार महासंघमा उपस्थिति रहुञ्जेल हामी ‘प्रभातका मान्छे हुन्’ भन्ने गन्तीमा रहेछौँ ।

पार्टीको विभाजन र विद्यार्थीभित्रको किचलोमा मलाई फेरि पत्रकार संगठनको नेतृत्वमा प्रस्ताव गरेका थिए नेता मोहन कार्की ‘जिवन्त’ले । मैले उतिसारो उनको कुरा पत्यार मानिनँ र सुने नसुनेकोझैं गरेर टारिदिएँ । पत्रकारको ‘आस्था एक संगठन अनेक’ को स्थिति पैदा भयो । क्रान्तिकारी पत्रकार र जनपत्रकारको महाभारत लडाइँ जारी छ । त्यो ‘गर्नेभन्दा गराउनेहरू हराम हुन्’ भन्ने ठहरले मलाई पत्रकार संगठनतिर उभिएर बोल्न उति चासो लाग्दैनथ्यो । त्यो निवार्चन तिर उती जाँगर थिएन । साथिहरूको सुझाव थियो, ‘एक्लै वा स्वतन्त्र त हुन्न, प्यानलमा जताबाट भए पनि निवार्चनमा सहभागी भए हुन्छ ।’

अकस्मात एकजना मित्रको फोन आयो । हार्दिक होटलको भेटवार्ताबाट म प्रेस चौतारीका एक मित्रको प्रस्तावक भएर निर्वाचन समितितिर गएँ । मेरो मनमा केही प्रश्न घुमिरहेका थिए । जनपत्रकार संगठनका नेताहरू घरी यता, घरी उता कुदाकुद किन भयो ? म जिल्ल परेको थिएँ । अघिल्लो दिन माओवादी केन्द्र र काँग्रेस गठबन्धनसँग गरेको सहमतिको मसी सुक्न नपाउँदै भोलिपल्ट सत्ताधारी चौतारीसँग मोर्चाबन्दी गरिएको थियो ।

काँग्रेस माओवादी गठबन्धनले ओली प्रतिगमन विरोधीको राजनीतिक नारा लगाए तर हामीले न त समाजवादी राजनीतिक नारा दिन सक्यौँ, न त रणनीतिक संयुक्त मोर्चाको रूपमा मोर्चाबद्ध संगठनको अस्तित्व देखाउन वा बचाउन सक्यौँ, वा सत्ताविरोधी गठबन्धनको नारामा उभिन सक्यौँ । किन यस्तो किंर्कतव्यविमुख अवस्थाको सिर्जना हुन पुग्यो गतिशील क्रान्तिकारी पार्टीमा ? हो त्यही अकर्मण्डयताको शिकार हुन संगठन पुग्यो । तर, यो बहस गर्ने अवस्था थिएन । यो कुरा कतै सुनुवाई नै हुन सक्ने अवस्था त झनै थिएन ।

यस्तो अवस्थामा मैदानमा उभिन मैले यो वा त्यो दलको मात्रै छाता ओढेर उम्मेद्धारी दिएको थिइनँ । मैले त समस्त श्रमजीवीहरू जो स्थानीय पत्रकारितामा छन्, जो–जसको आवाज दबाइएको छ, जो उत्पीडित छन्, ती सबैको नेतृत्वको लागि मैदानमा उभिएको थिएँ । उभिइरहने छु ! तर हरेक खेलको आफ्नै विधी विधान हुन्छ । मैदानमा उभिएपछि हारजित स्वीकार गर्नुपर्छ तर जब खेलमा झेल हुन्छ तब हिसाब र निसाफ खोज्नु जरुरी हुन्छ । हामी सत्य र न्यायको पक्षमा थियौँ, छौँ र रहिरहने छौँ । नेतृत्व हुनुको नाताले आफ्नो अभिमत, जनमत र सद्भावना सबैको रक्षा गर्नु मेरो जिम्मेवारी हो ।

यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत,
अभ्युथानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् !
परित्राणाय साधुनाम विनाशाय चः दुष्कृताम,
धर्मं संस्थापनार्थाय सम्भावामी युगे युगे !

महाभारतमा वर्णित यो श्लोकको भावना जस्तै यो लडाईं झुट र लुटविरुद्धको थियो । यो न्यायको पक्ष र अन्यायविरुद्धको थियो । पत्रकारिताको धर्म, मर्म र अर्धम तथा कुकर्मबिचको थियो । त्यो लडाईंको ईमान–जमानमा बेइमानी गरेको छैन र गर्ने पनि छैन । त्यसैले साथीहरू पुन हातेमालो गरौँ ! पुनः विचार गरौँ ! आउनुहोस्, गलत प्रवृत्तिविरुद्ध हातेमालो गरौँ ! यो एक चुनाव त एकबारको हो तर पत्रकार अनि पत्रकार महासंघ र यसको गलत कर्म अनि असल र सही कर्मको पक्षधरहरू बिच कित्ताबन्दी हुन जरुरी छ ।

प्रजातान्त्रिक मित्रहरू पनि आउनुहोस् बहस गरौँ ! बामपन्थी मित्रहरू पनि आउनुहोस् छलफल गरौँ । समाजवादी मित्रहरू पनि आउनुहोस् विश्लेषण गरौँ । स्वतन्त्र मित्रहरू पनि आउनुहोस् निष्कर्ष निकालौँ ! यो पत्रकार र पत्रकारिताको नाममा मौलाएको गलत कर्मविरुद्ध सही र असल कर्मको पक्षमा जुटौँ ! एउटा नयाँ मोर्चा खडा गरौँ । अरुलाई क्यामेरा देखाएर तर्साउने पत्रकारलाई तर्साउने कस्ले ? अरुलाई प्रश्न गरेर हैरान गर्ने पत्रकारलाई प्रश्न गर्ने कस्ले ?

आज नेपाली सञ्चारकर्मीको एकिन तथ्याङ्कको ठेगान छैन तर १३ हजार सदस्य रहेको महासंघले तिनलाई आधिकारिक मतदाता मानेको रहेछ । के महासंघले सञ्चारगृहका मालिकले पत्रकारलाई दिएको नियुक्तिपत्र, त्यो पत्रमा उल्लेख गरेको तलब, पत्रकारलाई तलब खुवाएको रकम, आम्दानी रकमको कर र पत्रकारको प्यान कार्ड अनिवार्य गर्न सक्छ ? एकै व्यक्ति विद्यालयको स्थायी शिक्षक र पत्रिकाको सम्पादक हुनसक्छ ? अर्थात एक व्यक्ति दुई संस्थाको पूर्णकालिन जागिरे हुनसक्छ ?

बन्द भएको सञ्चारमाध्यमको नाममा पत्रकार बनेका साथिहरूको नियत के होला ? यो पत्रकार महासंघ मजदुरको हो कि मालिकहरूको हो ? एनजिओ हो कि ट्रेड युनियन हो ? त्यसको भेद नछुट्टिएसम्म ‘सबै कुरा गफै त हो सम्धी, ५ लाखको चिया खाइयो’ भनेझैँ हो महासंघको सुद्धिकरण ।

मतदाता नामावलीमा मिति, संस्था, नाम, ठेगानाजस्ता विवरणहरु लुकाइयो । यसरी विवरणबाटै सुरु भएको जालझेलमा टेकेर जस्ले सक्छ उसले धाँधली गर्ने भन्ने भद्र सहमति केन्द्रबाटै भयो । त्यसैको शिकार अरु सबै शाखा, संगठन र उम्मेद्धारहरू हुन पुगे ।

निर्वाचनको मैदानमा मत प्राप्त गर्न र विजय हुनको लागि साथीहरूले नुवाकोटमा के–कति हर्कत गर्नुभयो भन्ने सचित्र व्याख्या निर्वाचन समितिका सदस्यले नै आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका थिए । अब हामीले ऊनीहरू इमानदार छन् भन्ने विस्वास गर्ने आधार छैन । भित्रभित्र ऊनीहरूले बेइमानीको सहारा लिएर मत परिणाम आफ्नो पक्षमा पार्न लागेका रहेछन् भन्ने प्रमाण योभन्दा अरु हुन सक्दैन । त्यसको साक्षी निर्वाचित केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायतका टिम पनि भए ।

हाम्रो माग थियो पुनः हुने निर्वाचन, धाँधलीविरुद्ध, स्वच्छताको होस् ! बेइमानीविरुद्ध इमानदारीताको होस ! त्यही भएर हामीले पुनः हातेमालो गरेका थियौँ । हुन त तुर्को रक्सी सित्तैमा खान पोखरादेखी नुवाकोट पुग्नेहरूको हैसियत अरु त के नै हुन्छ र हामीले अपेक्षा गर्नु ? तातो गठबन्धनको लाज छोप्न जरुरी थियोे उनीहरूलाई तर मसँग हजारौँ तथ्य र तर्क छ तर मेरो हातमा र साथमा सत्ता थिएन त्यही भएर सत्य छोपियो र आज झुटले शासन गरेको छ ।

१ सय ७४ जना मतदातामा यत्रो धाँधली र तिकडम हुँदो रहेछ भने अरु चुनाव के होला ? निर्वाचनमा मत माग्न सँगसँगै एकै मञ्चमा उभिने अनि हारजित स्वीकार गर्दै हार्नेले जित्नेलाई अबिर माला लगाउने संस्कार बसालौँ भन्ने मेरो तर्क थियो ! तर साथिहरूले एक पक्षीय रूपमा ‘फलानो तिलानो पार्टीको भाग हो’ भन्दै किन गल्तीहरू छोप्न लागे ? तिम्रो कोटरीले टिकाटालो गरेर दिएको भए देऊ न सिधैँ टिका लगाएर । किन चुनावको नाटक गर्ने ? किन धन, बल, छलको प्रयोग किन गर्ने ?

पहिलो चुनावमा उम्मेद्धारको घेरा थियो पछिल्लो चुनावको नौटंकीमा त एक बुथमा आधा दर्जन प्रहरी सुरक्षामा रहेको तस्बिर सामाजिक सञ्जालतिर आएको थियो ! नेता र प्रशासक को होला जो पत्रकारको फोन आएपछि कट्टुमा पिसाब फेर्छन् । कुरा प्रष्ट छ, ती भ्रष्ट र बेइमानहरु हुन ! असारमा उम्रिने च्याउसरी बस्ती बस्तीमा खडा भएको टावरहरु किन र के का लागि सञ्चालित होलान् ति कस्ले ठडाएका छन् त्यसो टावरहरू ? त्यसको पर्दा पछाडिको लगानीकर्ताहरू को–को हुन् ? तिनको दबाब र प्रभावमा नेता र प्रशासकहरू किन पर्छन् ? भन्ने तथ्य र सत्य नियालेपछि प्रष्ट हुन्छ यो जालझेलको हिसाब ।

त्यसैले मैले त आवेगले होइन विवेकले निर्णय गरौँ भनेर अनुरोध गरेको हो साथिहरूलाई । तर कलम र क्यामेरा बोक्ने पत्रकारबिच कुटाकुटा गर्ने, बङ्गारा झार्ने, करङ भाँच्नेजस्ता नजिर नुवाकोट जिल्लामा नभएको होइन तर हामीले पत्रकार र पत्रकारिताको मर्यादाले त्यसो गर्न दिँदैन भनेर नीति र विधीमा भएको त्रुटि औल्याउँदै नियतको खोट प्रमाणित गरेका छौँ । कलम र क्यामेरा बोक्नेहरूविरुद्ध अन्य शस्त्र–अस्त्रको प्रयोग नगर्ने सोच हो, प्रतिज्ञा हो मेरो । अरुलाई हजारौँ प्रश्न सोधेर उछितो काढेर लेख्ने पत्रकारको समाचार कस्ले लेख्ने ? पत्रकारलाई प्रश्न सोधेर र्‍याखर्‍याख्ती पार्ने/सोध्ने कस्को ल्याकत छ यो देशमा ? म त न्याय लुटिएको मान्छे हो निसाफ खोज्दा हिसाब देखाए त मैले के बिराए ?

प्रतिगमन विरोधिहरूको नाराले देशभर बढारिएको ओली समुह छेउ न टुप्पोको पद पाएर के जित्न मोर्चाको त्यान्द्रो छिनालेर गयो होला नुवाकोटमा ? हुन त नुवाकोट एमाले त्यही पार्टी हो, जसको संगठित सदस्यको २०% मत लिन नसक्ने विरासत थियो । त्यही ठानेर होला कि ज्यान ओलीतिर, मन झेलीतिर किन भयो होला पत्रकार कामरेडहरूको ? नेपाली समाजमा एक उखान प्रचलित छ, ‘सेती गाई पानी खान गाई, पानी खाएर आउँदा रातै भइ’ भनेजस्तो भो मलाई पनि । पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा जाँदा लागेको प्रतिगमनको कालो दाग निर्वाचन सकिँदा मेटिएको छ ! यो चुनाव बुझेर बुझ्न नसकिने रहेछ ।

चुनाव कविताको एक अंशः
एकबारे जिन्दगीमा
चुनाव खेलियो
झेलियो
नेताहरुको
पार्टीहरुको
सबै सबैको चुनाव
उस्तै उस्तै त रैछ नि साइला !!
आखिर पत्रकारको चुनाव पनि
खेलियो
झेलियो ।

टिप्पणीहरू