राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

भारतीय फिल्ममा झैं लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । मधेस आन्दाेलनबाट ७ बर्षयता राजनीतिमा उदाएका लुम्बिनी प्रदेश सभा सदस्य सन्ताेष पान्डे दिउँसाे १ बजेसम्म भैरहवाकाे हाेटल माैर्यामा जनता समाजवादी पार्टीका नेता सहसराम यादवसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुसँगै थिए ।

बैठकमा काँग्रेस नेता बालकृष्ण खाँणसहित प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने साँसदहरु, माओवादीका वर्षमान पुनसहित प्रदेशका सबै साँसद र जसपाका कल्पना पान्डेबाहेक सहभागी थिए ।

शीर्ष नेतृत्वकाे राेहबरमा लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा रहेका कांग्रेस,माओवादी र जसपाकाले मुख्यमन्त्री शंकर पाेखरेलकाे नेतृत्वमा रहेकाे सरकारबिरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्नेगरी हस्ताक्षर गरे ।

४१ जनाकाे हस्ताक्षरपश्चात सरकारमा सहभागी माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजिनामा दिए । दिउँसाे अविश्वासकाे प्रस्ताव दर्ता भयाे ।

भैरहवाकाे हाेटल माैर्यामा कांग्रेस, माअाेवादी र जसपाका नेताहरुले मन्त्रीकाे सूचि तयार गरे । जसअनुसार माओवादीले मुख्यमन्त्रीसहित सरकारकाे नेतृत्व गर्ने र कांग्रेसले ४ तथा जसपाले ३ मन्त्रालय र एक विकास समितिकाे सभापति पाउने सहमति भयाे ।

मन्त्री बन्ने सूचिमा जसपाबाट दलका नेता सहसराम यादव, सन्ताेष पान्डे र विजय यादव थिए । यसैगरी कल्पना पान्डे र सुमन रायमाझी मध्ये एकजना राज्यमन्त्री र अर्काे एकजना बिकास समिति सभापति बन्ने तय भयाे ।

हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्तासमेत भइसकेकाे अवस्थामा नयाँ सरकारकाे संरचना बनिरहेकाे बेला मुख्यमन्त्री शंकर पाेखरेल भने काठमाडौंमै थिए । बालुवाटारको बैठकमा सहभागी भइरहेका पाेखरेल सरकारबिरुद्ध प्रस्ताव दर्ताकाे खबरसँगै बैठक छाडेर काठमाडौंबाट हतारमा प्लेनमार्फत भैरहवा ओर्लिए ।

पाेखरेलले खबर पाउनासाथ बैठकमै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सूचना गरेका थिए ।

त्यसपछि प्रम ओलीले तुरुन्त जसपा अध्यक्ष महन्थ ठाकुरलाई फाेन गरी आफूहरुले रेशम चाैधरी लगायतलाई जेलमुक्त गर्ने प्रकिया अगाडि बढाएकाे,राजनीतिक समिकरण फेरबदल हुँदा तपाईलाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेकाे बेला लुम्बिनीमा साथ किन छाड्न खाेजेकाे भनेर कड्किनुभयो ।

आफ्नाे गुटमा रहेकी कल्पना पान्डेले हस्ताक्षर नगरेकाे तर उपेन्द्र यादव र बाबुराम भट्टराईका मान्छेले हस्ताक्षर गरेकाे महन्थले बताएपछि ओलीले नरम हुँदै सहयाेग गर्न अनुराेध गर्नुभयो । त्यसपछि शंकर पाेखरेल बालुवाटारकाे अनुमतिमा लुम्बिनी प्रदेश सरकार बचाउन बैठक छाडेर बुटवल फर्किनुभयो ।

दिउँसाे १ बजेर १५ मीनेटमा अविश्वास प्रस्ताव दर्तासंगै सरकार परिवर्तनसहित नयाँ मन्त्रीकाे सूचि तयार हुँदै गर्दा भैरहवाका स्थानीय बासिन्दा सन्ताेष पान्डे भने केहिबेर बाहिर काम छ भनेर निस्किए । सबै नेता आ-आफ्नाे धुनमा थिए । तर कांग्रेस, माओवादी र जसपा नेताहरु ३ बजे भने छाँगाबाट खसे झैँ भए ।

नयाँ मन्त्रीकाे सपथ ग्रहण ४ बजे प्रदेश प्रमुखले गराउने खबर फैलियाे । एकछिन हाेटल माैर्याकाे बैठक कक्षमा रहेका नेताहरु आश्चर्यमा परे । हल्ला हाे कि भन्ने भयाे, पछि बुझ्दा थाहा भयाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सचेतक सन्ताेष पान्डे, बिजय यादव, कल्पना पान्डे र सुमन रायमाझीले मुख्यमन्त्रीलाई भेटेर मन्त्री बन्ने निधाे गरेछन् । दलका नेता सहसराम यादव भने हाेटल माैर्यामा कांग्रेस, माओवादीका नेताहरुसंगै याेजना बनाइरहेका थिए । उनीहरु चारैजनाकाे माेबाईल अफ थियाे ।

केहिबेरमा पान्डेसहितका चार जनाले मन्त्रीकाे सपथ ग्रहण गरेकाे सहसरामले कांग्रेस,माओवादीका नेतासँगै बसेर हेरिरहे ।

हाेटलमा सन्नाटा छायाे । लाइन बिपरित गएकाे भन्दै उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र महताेले कारबाही गर्न र मन्त्रीबाट राजिनामा दिन २४ घन्टे अल्टिमेटम दिन निर्देशन दिए । साेहिअनुसार जसपा प्रदेश अध्यक्ष अशाेककुमार यादवले विज्ञप्ति निकाली तत्काल सरकार छाड्न निर्देशन दिए । २४ घन्टा नबित्दै जसपा रुपन्देहीबाट पार्टीनिर्णय बिपरित मन्त्री भएकाहरुलाई बहिस्कार गर्न भन्दै रामअवतार यादवले विज्ञप्ति निकाले ।

तर मन्त्रीकाे सपथ ग्रहणपश्चात कारबाही भाेग्ने तर मन्त्रीबाट राजिनामा नदिने मनसायका साथ सन्ताेष, बिजय, कल्पना र सुमन अगाडि बढेकाे देखिन्छ । स्राेतका अनुसार मन्त्रीकाेलागि २ महिनादेखि मुख्यमन्त्री पाेखरेलसँग बार्गेनिङ गरिरहेका सन्ताेषले हिजाे मात्रै रकम बुझेकाे र राेजेकाे मन्त्रालय पाउने शर्तमा पाेखरेललाई मुख्यमन्त्री टिकाउन सहयाेग गरेकाे चर्चा छ ।

स्राेत भन्छ, “सरकार ढल्ने भएपछि मुख्यमन्त्री पाेखरेलले पाैने दुई बजे सन्ताेषलाई भेटी तपाईलाई के के चाहिन्छ , कतिवटा मन्त्रालय चाहिन्छ भन्नुस् । म आजै मन्त्री बनाउँछु । उधाराे हाेइन नगदमा दिन्छु । कांग्रेस -माओवादीले तपाईलाई उधाराेमा सहमति गरेका छन् । भाेलि मन्त्री बनाउन पनि सक्छन् नबनाउन पनि सक्छन् भनेपछि सन्ताेषले आफ्नाे प्रस्ताव राखेका थिए ।” सन्ताेषकाे प्रस्तावअनुसार आफुलाई राेजेकाे भाैतिक पूर्वाधार तथा विकास मन्त्री र विजय यादव, कल्पना पान्डे र सुमन रायमाझीलाई मन्त्री बनाउने गाेप्य सहमति भएपछि मुख्यमन्त्री कार्यलयले ४ बजेकाेलागि सपथ ग्रहणकाे सूचना दिएकाे थियाे । मुख्यमन्त्रीबाहेक सबै मन्त्रालय समेत जसपालाई दिएर सरकार टिकाउन तयार भएका पाेखरेलले एमालेबाट मन्त्री बनेली आरति पाैडेल भन्दा मर्यादामा सन्ताेषलाई माथि राखेका छन् ।

पान्डेलाई सरकारबाट फिर्ता हुन पार्टीले दबाब दिएपनि उनी स्वतन्त्र बसेर मन्त्री भइराख्ने याेजनामा छन् । आगामी निर्वाचनमा एमालेले उनलाई भैरहवा क्षेत्रबाट प्रदेश सभामा टिकट दिने पनि लुम्बिनी प्रदेश ईन्चार्जसमेत रहेका पाेखरेलले आश्वासन दिएका छन् ।

जसपालाई छाति खाेलेर मन्त्रालय दिएका पाेखरेलले यसअघि सरकार टिकाउन सहयाेग गरेर मा‌ओवादी त्यागेका दधिराम न्याैपाने र दिनेश पन्थीलाई भने सहिद बनाइदिएका छन् । न्याैपाने र पन्थी दुबैजना मन्त्री बन्ने आशामा माओवादी छाडी एमाले प्रवेश गरेका थिए । यतिबेला उनीहरुकाे साँसद पदसमेत गुमेकाे छ ।

टिप्पणीहरू