केन्द्रीय कारागारका डिएसपी पण्डित कैदीसँग घुस माग्दै

केन्द्रीय कारागारका डिएसपी पण्डित कैदीसँग घुस माग्दै

काठमाण्डौको सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश पण्डितले कैदी बन्दीसँग घुस लिने गरेको आरोप छ ।

पछिल्लो समय कुख्यात अपराधी चार्ल्स शोभराजको अन्तरवार्ता बेलायती अखबारमा छ्याप्छ्याप्ती छापिएको खबर सेलाउन नपाउँदै अहिले सुरक्षा इन्चार्ज पण्डितले कैदीबन्दीसँग घुस लिने गरेको समाचार बाहिरिएको हो । दुई दशकदेखि जेल जीवन बिताइरहेका शोभराजको अन्तरवार्ता कसरी बेलायती सञ्चारमाध्यममा पुग्यो भन्ने खबरले कारागार प्रशासनसमेत चकित परेको छ । बेलायतको डेलीमेल र सन्डे मिररमा ‘शोभराज छिट्टै कैद मुक्त’ हुने शीर्षकमा खबर छापिएको थियो ।

डिएसपी पण्डित माघ ६ गते महानगरीय अनाश्रित सशस्त्र प्रहरी गुल्मको प्रमुख भएर हेडक्वार्टरबाट केन्द्रीय कारागार आएका हुन् । उनी आएपछि जेलका कैदीबन्दीहरूसँग अनुचित रकमको माग गर्ने र नदिए दुर्गम जिल्ला पठाइदिने धम्की दिएको कैदीहरूले जानकारी गराएका छन् । जबकि सेन्ट्रल,भद्र र महिला कारागारमा रहेका कैदी बन्दीलाई आफन्तजनसँग चाडबाडमा जेलमै भेट गर्न दिने नियम छ ।
भेटघाटको लागि तय भएको नाम पहिले नै तालिकामा उल्लेख हुन्छ ।

त्यसरी तय भएकाहरूसँग डिएसपीले परिवारको सदस्य आउनुअघि व्यक्तिगत रुपमा भेट्दै रकम माग्ने गरेको र नदिनेलाई भेटघाट गर्न नदिने गरेको घटना बढेपछि कैदीबन्दीहरू मानसिक तनावमा देखिएको बताइन्छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका एक कैदीले नाम नबताउने शर्तमा जनआस्थालाई लेखेका छन् ‘हाम्रा नाइकेहरूसँग सोझै पैसा माग्छन् । नदिए अन्य दुर्गम स्थानका कारागार फालिदिने धम्की दिन्छन् । हामीलाई रकम नदिएसम्म भेटघाट गर्न दिँदैनन् ।’

जेल सुरक्षार्थ खटिएका कतिपय प्रहरी जवानलाई समेत उनले भैपरी आउने बिदा तथा सुविधा कटौती गरेको गुनासो प्राप्त भएको छ । आफ्नै मातहतका प्रहरी कर्मचारी रुष्ट हुन थालेको माहौल कैदीबन्दीहरूले समेत थाहा पाएका छन् । ती कैदीबन्दीले भनेका छन् ‘आफूलाई आवश्यक सामान ल्याउन लगाउने,सीधै रकम माग्ने गरेकाले हामीलाई निकै समस्या परेको छ हजुर । यसअघिका डिएसपीहरूले भने यो हदसम्म गरेका थिएनन् ।’ हाल केन्द्रीय कारागारमा महिला तथा पुरुष गरेर ३ हजार २ सय जना कैदीबन्दी छन् ।

टिप्पणीहरू