विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की : छिटो गर्नाेस्, नत्र राम्रो हुन्न !

विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की : छिटो गर्नाेस्, नत्र राम्रो हुन्न !

कालिका गापा–२ (साविक धैबुङ–६) स्थायी निवासी २०६४ को संविधानसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित तथा ०७४ सालमा प्रदेश सभातर्फ निर्वाचित रसुवाली सांसद प्रेम तामाङले आफ्नै पूर्वव्यवसायी इन्द्र सापकोटालाई आफू विप्लव नेतृत्वको उपत्यका इञ्चार्ज चिरन पुन हुँ भन्दै रकम मागेको र सो रकम नदिए जे पनि हुने भन्दै धम्की दिएको (अडियो) फोन रेकर्ड प्राप्त भएको छ । सापकोटा, रसुवाको उत्तरगया–२ (साविक डाँडागाउँ–१) का निर्माण व्यवसायी हुन् । उनको स्वामित्वमा रहेको एलआईके कम्पनी हाल प्रेम तामाङकी श्रीमती दावा मेन्दो तामाङको नाममा खरिद भएको थियो । २ अगस्त २०२० (१७ साउन) को उक्त अडियोको मूल अंश यस्तो छ :

सापकोटा : मैले कोई माइकालाललाई तिर्नु छैन । कसैसँग हिसाब टुंग्याउनलाई के म पैसा लगेर बाटोमा फालम्…

चिरन पुन (नक्कली) : तपाईं त्यसो भन्नुहुन्छ भने हामीलाई केही छैन…

सापकोटा : तिर्नुपर्ने छैन । तपाईंको कुरा यहींनेर चित्त नबुझ्दो के सर, मलाई सबै कुरा थाहा छ । राजनीतिक कुरा पनि थाहा छ । मैले पनि २(४ वर्ष, ५÷१० वर्ष राजनीति गरेकै हुँ, सबै थाहा छ ।

पुन : तपाईंले कस्तो राजनीति गर्नुहुन्छ भन्ने पनि हामीलाई थाहा छ, हो कि हैन ? तपाईं कस्तो राजनीतिज्ञ हो, कस्तो व्यवहार गर्नुहुन्छ, त्यो पनि थाहा छ । तपाईंलाई बहुविवाहको मुद्दा कसले हाल्यो ?

सापकोटा : खै, मेरै श्रीमतीले हाल्नुपरे हालेकी होलिन् ।

पुन : प्रेम तामाङलाई फोन गर्न लगाउँछु, ऊ रसुवाको सांसद हो ।

सापकोटा : गर्न लगाउनुस् त, हो हो उहाँ ठूलो मान्छे हो नि त !

 

 

पुन : प्रेम तामाङलाई हामीले चिन्दैन ? प्रेम तामाङसँग मात्र हिसाबकिताब छ भने उसैसँग टुंग्याउनुस् न त कुरा सकिएन ? धेरै कुरा गरिराख्नुहुन्छ ? सर, राम्रो कुरालाई नराम्रोतिर नलग्नुस् है, तपाईंलाई मैले सिधै कुरा गरेको । हाम्रो पार्टी हो, संस्था हो । तपाईंको झूठा मुद्दा आइपुगेको छ । छिटोभन्दा छिटो टुंग्याउनुहोस् । म पुलिसको नजिक छु, यिनीहरूले केही गर्न सक्दैनन् भनेर नसोच्नुस् । तपाईंको रक्षा पुलिसले गर्न सक्दैन । पुलिसले यो देशको प्रधानमन्त्रीको त रक्षा गर्न सकेको छैन भने तपाईंको… । तपाईंको को–कोसँग लेनदेन छ, चाँडो प्रेम तामाङसँगै होस् या कोही ? होइन भने राम्रो हुन्न । मैले भनिसकेको छु, म तपाईंसँग धेरै लामो बकबक गर्दिन । तपाईंले फोन गरेरै यो केस मिलाउनुभएन भने हामी भेट्छौं । त्यसपछि कुरा हुन्छ, तपाईंसँग धेरै कुरा के गर्नु… ।’

सापकोटा : ठीक छ, तपाईं भन्नुस् न म अहिल्यै भेट्छु तपाईंलाई । गाह्रो कुरै होइन किनभने मैले कसैलाई चेक काटेर दिएको पनि छैन ।

पुन : तपाईंले ठेक्कापट्टा गर्दा को–कोसँग पैसा लिएर गर्नुभएको थियो, हिसाब क्लियर गर्नुस् । चाहे तामाङ होस्, चाहे जोसुकै होस् । तपाईंले मैले प्रष्ट भन्देको छु कि तपाईंसँग को-कसको लेनदेन छ, त्यसको सबै हिसाबकिताब गरेर त्यसको फस्र्योट गर्नुस्, होइन भने राम्रो हुन्न । म धेरै कुरा गर्दिनँ । धेरै कुरा गर्न हाम्रो फुर्सद पनि छैन । हेर्नुस्, मेरो नाम चिरन पुन हो । भ्याली इञ्चार्ज हो । कुरो बुझ्नुभयो नि !

हामीलाई प्राप्त अडियोअनुसार पटक–पटक आफ्ना अज्ञात सहयोगीमार्फत सापकोटालाई प्रेम तामाङसँगको हिसाब मिलान गर्न दबाब दिनु, यसपूर्व पनि एक्लै पारेर गुण्डा लगाई रकम असुल गर्नु र पूर्वपार्टनरसमेत रहेका उनीहरूबीच लेनदेन विवाद रहनुले प्रेम तामाङले नै विप्लव नेतृत्वको पार्टीको नाममा ठगीधन्दा चलाइरहेको आशंका हुन्छ ।

टिप्पणीहरू