राजनीति न हो, हिसाबकिताब फेरिइरहन्छ

राजनीति न हो, हिसाबकिताब फेरिइरहन्छ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सचिवालय तथा स्थायी समिति सदस्यहरूसँग हिजो गर्नुभएको छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेरै महाधिवेशनसम्म जाने निश्कर्ष निक्लिएको छ ।

मंसिरमा गर्ने भनिएपनि ढिलोमा फागुनसम्म महाधिवेशन हुने अनुमानको आधारमा उक्त निर्णय भएको बताइएको छ । दुईमध्ये एक पद छाड्न अनुरोध गरेपनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली टसमस नभएपछि महाधिवेशनमा गएर बैधानिक तवरले नै हिसाब किताब गर्ने पूर्व माओवादी खेमाको निचोड छ ।

किसिम किसिमको तुरूप फाल्न सिपालु बालुवाटारले महाधिवेशनको समयसम्ममा अनेकौं जोडघटाउ गर्नसक्नेतर्फ भने खुमलटारले खासै चासो दिएको छैन । प्रधानमन्त्री केन्द्रीय कमिटीको सम्भावित निर्णयसँग तर्किएपछि नयाँ बाटो अपनाउनुपरेको प्रचण्ड निकटहरू बताउँछन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच भएको कुराकानीमा उक्त विषयमा छलफल भएको बताइएको छ । दुई नेताबीचको छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्नुभएको ट्विटले पनि विवादको समाधान पार्टी महाधिवेशनबाट निकाल्नेतर्फ संकेत गरेको थियो ।

यसअघि पार्टीले आगामी महाधिवेशनमा प्रतिनिधि चयन सहमतिको आधारमा गर्ने निर्णय गरेको थियो । तर,दुई अध्यक्षबीचको पछिल्लो छलफलमा सहमतिको आधारमा प्रतिनिधि छनोट गर्दा कुनै असहज अवस्था आएमा निर्वाचन पद्धति अपनाउने विषयमा कुरो मिलेको बुझिएको छ । दुईजना अध्यक्षबीचको सहमतिलाई लिपिबद्ध गरी स्थायी समितिको बैठक हुँदै त्यसपछिको केन्द्रीय समिति बैठकबाट अनुमोदन गराइने योजना छ ।

खुमलटारको हिजोको भेलाको निश्कर्ष बालुवाटारको महाधिवेशन प्रस्तावलाई स्वीकार गर्दै वरिष्ठ नेता नेपालसँगको सहकार्यलाई महाधिवेशनसम्म लैजाने भन्ने हो । तर, विश्लेषकहरूका अनुसार साउने भेलझैँ गर्जेको पार्टीको अन्तरबिरोधमा पूर्व माओवादी समूहले गरेको दुईवटा डुंगामा खुट्टा राखेर अघि बढ्ने निर्णयलाई परिपक्व भने मानिएको छैन  । नेपाल र दाहाल दुबै पार्टी अध्यक्षको प्रवल दाबेदार रहेको सन्दर्भमा पूर्व माओवादीको उक्त निर्णयले अन्ततःउसैलाई घाटा पुग्ने सम्भावनासमेत देखिन्छ ।

दाहाल र नेपालले प्रतिनिधि चयनमा उल्लेख्य सफलता हात लगाएको अवस्थामा बाहेक महाधिवेशनमा दाहालले सोचेअनुरूपको नेतृत्व चयन हुनसक्ने सम्भावना कम हुनेछ । उक्त सहमति पार्टीको तल्लो तहसम्म पुग्यो भने अहिलेको अन्तरबिरोध पनि तलैसम्म पुग्ने खतरा छ । यतिखेर दाहाल पक्षले आफ्नो तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई अध्यक्ष बनाउने भनिएको छ । तर, ‘रात रहे अग्र्राख पलाउँछ’ भनेझैँ त्यसबीचमा बागमतीमा पनि धेरै पानी बगिसक्ने भएकाले सोचेअनुरूपको राजनीति अघि बढ्न पनि कठिन नै देखिन्छ ।

खुमलटारले उक्त योजना सफल भएमा प्रधानमन्त्री तथा अध्यक्ष र नेपालबीचको दूरी अझ बढ्ने निश्कर्ष निकालेको छ । यसो भएमा प्रचण्ड पूर्व एमालेभित्र पूर्ण रूपले विभाजन ल्याउन सफल हुनुहुनेछ । उहाँको लागि त्यो नै सबैभन्दा ठूलो राजनीतिक सफलता हुने पूर्व माओवादीहरू बताउँछन् । पूर्व एमालेभित्र माथिदेखि तलसम्म धाँजा फटाउन सकेमा आफू नेकपाभित्र कहिल्यै आइसोलेसनमा नपर्ने अध्यक्ष दाहालको पनि ठहर रहेको बताइन्छ । तर, तल्लो तहका कार्यकर्तासम्म पार्टीको शीर्ष नेतृत्वमा रहेको विवाद पुगेको अवस्थामा महाधिवेशनमा नेताहरूले सोचेको परिणाम नआउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

टिप्पणीहरू