जुन दिन अमेरिकाको सूचना जोगिएन « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

जुन दिन अमेरिकाको सूचना जोगिएन



दोस्रो विश्वयुद्धमा एकपछि अर्को पराजय भोग्नुपरेपछि सन् १९४५ को अप्रिल ३० मा तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरे । एक हप्तापछि मे ७ मा जर्मनीले आत्मसमर्पण ग¥यो । तर, जर्मनीको पक्षमा युद्ध लडेको जापान हार स्वीकार्न तयार थिएन । यसबीच ब्रिटेन र क्यानाडाको सहयोगमा अमेरिकाले अणुबम बनाइसकेको थियो । अमेरिकाले पहिलो अणुबम ‘सानो बच्चा’ अगस्त ६ मा जापानको शहर हिरोसिमामा खसाल्यो भने अर्को ‘मोटो मान्छे’ अगस्त ९ मा नागासाकीमा । दुईवटा बमबाट दुई लाख जापानी मारिए । दुईवटा शहर तहसनहस भए । शहर ध्वस्त भएर लाखौं जापानी मारिएपछि अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रयुमेनले खुशी हुँदै प्रतिक्रिया दिए, ‘यो बम इतिहासकै महान्भन्दा महान वस्तु हो ।’

अणुबमको प्रहारबाट जापान कमजोर बन्यो तैपनि दम्भ देखाइरह्यो । बल्ल सेप्टेम्बर २ मा पराजय स्वीका¥यो ।

सन् १९४९ को जाडोयाम । न्युयोर्कस्थित संघीय अनुसन्धान ब्युरो (एफबीआई) को मुख्यालयमा कालो रंगको शानदार लिमोजिन कार प्रवेश ग¥यो । गाडीबाट अग्लो, गोरो व्यक्ति उत्रिए । सधैं हँसिलो देखिने उनी त्यसदिन गम्भीर थिए । एफबिआईका प्रमुख यी एडगर होवर उनै हुन्, जसले लगातार ४८ वर्ष एफबिआइको नेतृत्व सम्हाले । आठ जना राष्ट्रपतिको मातहत काम गरे– सन् १९७२ मा निधन नहुँदासम्म । समलिंगी थिए तर आफ्नो यौन जीवनलाई लिएर टिकाटिप्पणी गर्ने कसैलाई छाड्दैनथे ।

उनले त्यो दिन ह्वाइट हाउसमा राष्ट्रपति ट्रयुमनसँग बसेर नास्ता लिएका थिए । राष्ट्रपतिले उनलाई बोलाउनुमा विशेष कारण थियो । उनले रुसले अमेरिकाभन्दा धेरै शक्तिशाली बम बनाइरहेको खबर प्राप्त गरेका थिए । छलफलको क्रममा होवरले खबर सत्य भएको बताए । अझ उनले आश्चर्यजनक सूचना दिए कि रुसले अमेरिकी फर्मुला चोरेर बनाउँदैछ । यथार्थमा अमेरिकाले अणुबम म्यानहटन योजनाअन्तर्गत बनाएको थियो । यो योजना सन् १९३९ मा शुरु गरिएको भए पनि सन् १९४१ देखि मात्र बम बनाउन थालियो । त्यसबेला त्यहाँ एक लाख ३० हजार कर्मचारी कार्यरत थिए । बम निर्माण अमेरिकी सेनाको प्रत्यक्ष निगरानीमा गरिएको थियो । तत्कालीन अवस्थामा दुई अर्ब डलर यसमा खर्च भयो । यहाँबाट निर्मित बम दोस्रो विश्वयुद्धताका मित्रराष्ट्रका सेनाले इटली, फ्रान्स, जर्मनी, जापान आदि देशमा प्रयोग गरेका थिए ।

राष्ट्रपति ह्यारी एस. ट्रयुमन र होवरको चिन्ताको मुख्य विषय थियो परमाणु बम (एटम बम) चोर्ने आफ्नै भित्रको मान्छे को हो ? टोलीभित्रको ‘ब्वाँसो’ पत्ता लगाउने जिम्मा राष्ट्रपतिले होवरलाई नै दिए । होवर त्यहींबाट सीधा अफिस पुगेका हुन् । होवर एफबिआइको प्रमुख हुँदा संस्था पतनोन्मुख अवस्थामा थियो । उनैले त्यो संस्थालाई पुनः गतिशील बनाए । त्यसपछि अमेरिकी जासुसहरुले एकपछि अर्को सफलता हासिल गर्न थाले । यस्तो परिस्थितिमा अणुबमको फर्मुला चोरी भएपछि उनी तनावमा रहनु स्वभाविकै हो ।

कार्यालय पुग्नेबित्तिकै विश्वासपात्र एजेन्ट विलियम स्कारडनलाई कार्यकक्षमा बोलाए । विलियम अमेरिकी अनुसन्धान केन्द्रमा कार्यरत वैज्ञानिकहरुको सूचना जम्मा गर्न खटिएका थिए । उनले कोठामा प्रवेश गर्नेबित्तिकै संकलित सूचनाको फाइल टेबुलमा राखिदिए । अनि भने, ‘मलाई लाग्छ, हामी गद्दारको नजिकै पुगिसकेका छौं । लास एलामोसको परमाणु अनुसन्धान केन्द्रमा क्लाउस फुच्स नामका एकजना वैज्ञानिक कार्यरत छन् । उनी कम्युनिष्ट पार्टीको सदस्य रहेछन् । ब्रिटिश नागरिक तर जर्मनीका ।’

एफबिआइले क्लाउसबारे थप सूचना संकलन ग¥यो । त्यतिखेर उनी जर्मनीको विश्वविद्यालयमा कार्यरत थिए । उनलाई जर्मन सरकारले विशेष सेवा प्रदान गरेको थियो । होवरले ब्रिटिश गुप्तचरलाई उनीमाथिको निगरानी बढाउन आदेश दिए किनभने क्लाउस बेलायती हार्वल केन्द्रमा रिसर्च वैज्ञानिक पनि थिए । आदेश पाएको केही समयमै ब्रिटिश गुप्तचर संस्था एमआइ–५ ले क्लाउसलाई गिरफ्तार ग¥यो । शुरुमा क्लाउसले चर्को विरोध गरे तर पछि रहस्य खोले ।

क्लाउस सन् १९११ मा जर्मनीको फ्रांकफर्टमा जन्मेका थिए । प्रथम विश्वयुद्धमा जर्मनी पराजित भएपछि ठूलो आर्थिक समस्या प¥यो । अन्य जनतासरह क्लाउसको बाल्यकाल अभावमै बित्यो । त्यसबेला जर्मनहरु दुईवटा नश्लमा विभाजित थिए । एउटा हिटलरको नाजी, अर्को कम्युनिष्ट । त्यो बेला त्यहाँ कम्युनिष्ट पार्टीको स्थापना भइसकेको थियो । क्लाउस पार्टीको सदस्य बने । नाजीहरुको चर्को दमन खप्न नसकेर ब्रिटेनतर्फ भागे र एडिनबर्ग विश्वविद्यालयमा भर्ना भए ।

आणविक भौतिक शास्त्र पढे । वैज्ञानिक बनेलगत्तै दोस्रो विश्वयुद्ध शुरु भयो । बेलायतले त्यहाँस्थित सबै जर्मन नागरिकलाई क्यानाडा पठाइदियो । क्लाउस पनि क्यानाडास्थित युद्धबन्दी क्याम्पमा बसे । पछि ब्रिटिश गुप्तचरहरुले छानबिन गर्दा उनी नाजी नभएको प्रमाणित भयो । उनले बेलायतको नागरिकता पाए । यसबीच अमेरिकामा म्यानहटन योजना चालु भयो । त्यहाँ अणुबम बनाउन लागिएको खबर पाए । अणुबम बनाएपछि अमेरिका निकै शक्तिशाली बन्ने र उसले साम्यवादी मुलुकहरुलाई सखाप पार्न त्यो बम प्रयोग गर्नसक्ने निश्कर्ष निकाले ।

त्यो बेला अमेरिकामा अनातोली यात्स्कोभ रुसी जासुसहरुका प्रमुख थिए । क्लाउसले उनीसित मिलेर आणविक बमको फर्मुला रुसलाई उपलब्ध गराउने निर्णय गरे । र, उनीहरुको पहिलो भेटघाट सन् १९४४ को जनवरीमा भयो । अनातोलीले फिलाडेल्फियामा कार्यरत रसायनशास्त्री ह्यारीगोल्डसँग परिचय गराइदिए । ह्यारीगोल्ड पहिल्यैदेखि गुप्त सूचना रुसलाई दिँदै आइरहेका थिए । ह्यारी स्विट्जरल्याण्डमा जन्मेका भए पनि उनको परिवार रुसी थिए । पढाइ सकेपछि अमेरिका पुगे । पेन्सिलभानियाको चिनी कारखानामा काम गर्न थाले, जहाँ उनको परिचय रुसी जासुस पाल स्मिथसँग भयो । ह्यारीलाई पालले रुसी खर्चमा जेभियर विश्वविद्यालयमा भर्ना हुन सुझाए । ह्यारी विश्वविद्यालयको पढाइपछि फिलाडेल्फियास्थित हार्ट रिसर्च सेन्टरको जैविक विभागमा काम गर्न थाले । पछि सो विभागको प्रमुख बने । यसैबेला क्लाउससँग मिलेर आणविक रहस्य रुसलाई सुम्पने जिम्मा पाए । ह्यारीसँग भेटेको केही समयपछि नै क्लाउसलाई लास एलाभोसस्थित परमाणु केन्द्रमा खटाइयो । यसरी ह्यारीसँग उनको एक वर्ष भेट भएन तर यसबीच उनले महत्वपूर्ण सूचना संकलन गरे र पत्र लेखेर ह्यारीसँग भेट्ने समय र स्थान तय गरे ।

सन् १९४५ जनवरीको पहिलो आइतबार गोप्य रुपमा क्लाउस र ह्यारीले भेटे । संकलित सम्पूर्ण सूचना ह्यारीलाई सुम्पिए । यो पनि जानकारी दिए कि लास एलाभोसमा कामको प्रगति द्रूतगतिमा भइरहेको छ तर पनि कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ । तर क्लाउसको अनुमान गलत सावित भयो । अणुबम चाँडै निर्माण भयो र अमेरिकाले अगस्त ६ मा हिरोसिमा र अगस्त ९ मा नागासाकीमा हानिहाल्यो । यसपछि सेप्टेम्बर ९ मा क्लाउस र ह्यारीले पुनः भेटे । योपटक क्लाउसले ह्यारीलाई एउटा अर्को प्याकेट हस्तान्तरण गरे र भने, ‘जतिसक्दो चाँडो रुस पुग्नु ।’ क्लाउसले ह्यारीलाई दिएको उक्त प्याकेटमा आणविक बमसम्बन्धी सबै सूचना थियो । यिनै सूचनाको आधारमा रुसले एटम बम बनाउन शुरु ग¥यो– सन् १९४६ देखि । २० जना भौतिक शास्त्रीहरु रातदिन यसमा जुटे र १९४९ मा तयार पारे । विश्वमा यसरी सोभियत संघ दोस्रो राष्ट्र बन्यो, आणविक बम बनाउने । उसले सन् १९४९ को अगस्त २९ मा आरडिएस–१ (पहिलो चट्यांग) सफलतापूर्वक परीक्षण ग¥यो ।

ब्रिटेनमा पक्राउ परेका क्लाउसले जेलमा ९ वर्ष बिताए । रिहापछि पूर्वजर्मनी गए । भौतिक शास्त्रीको रुपमा काम गरे । वैज्ञानिकहरुको नेतृत्व गरे । उनको निधन ७६ वर्षको उमेरमा सन् १९८८ मा भयो । अनातोली यात्स्कोभको निधन रुसमा सन् १९९३ मा भयो भने ह्यारीले १५ वर्ष जेल सजायँ भोगे ।

सोभियत संघको विघटनपछि रुस र अमेरिकाबीचको टक्कर स्वतः कम भएको छ । विघटनलगत्तै रुसमा बोरिस येल्तसिनको उदय भयो । येल्तसिन त्यसै पनि पश्चिमीहरुको सहयोगमा त्यहाँसम्म पुगेका थिए, त्यसैले पनि उनको कार्यकालमा अमेरिकासितको सम्बन्ध सुमधुर नै रह्यो । येल्तसिनपछि भ्लादिमिर पुटिनको उदय भयो । शुरुमै अमेरिकाले पुटिन गुप्तचर संस्था केजिबीको प्रमुख रहिसकेका व्यक्ति भनेर आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रन थाल्यो । सन् २०१५ को सेप्टेम्बरमा रुसी सेनाले सिरियामा हस्तक्षेप गरेपछि दुई देशबीच तनाव नै सिर्जना भयो । तर, एकाएक सन् २०१६ मा सम्पन्न अमेरिकी निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन रुस आफैं लाग्यो ।

क्डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको कम्प्युटर ह्याक गरेर अप्रत्यक्ष रुपमा ट्रम्पलाई सघाएपछि दुई देशका राजनेताहरुको सम्बन्ध राम्रो बन्यो तर सिरिया र अफगानिस्तानलगायतका मुद्दालाई लिएर तनाव भने यथावत रहिरह्यो । यहाँसम्म कि अफगानिस्तानमा युद्धरत तालिवान समूहलाई त्यहाँ खटिएका आफ्ना सैनिक मार्न रुसले आर्थिक सहयोग दिएको आरोप अमेरिकाले लगायो । ट्रम्पको विरोधको बाबजुद अमेरिकी कंग्रेसले रुसमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । रुसले पनि अमेरिकी दूतावासमा कार्यरत ७५५ जना कर्मचारीलाई देश छाडेर जान आदेश दियो । अमेरिकाले २९ वर्षीया मारिया बुटिनालाई पक्राउ ग¥यो र रुसी जासुस भएको आरोप लगायो । समष्टिमा भन्दा वर्तमान समयमा दुई देशका राष्ट्रप्रमुखबीचको व्यक्तिगत सम्बन्ध राम्रै छ । तर दुई देशबीचको सम्बन्ध भने खराब छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अन्ततिर कम्युनिष्ट यस्तरी ओरालो
संसारभर चिनिन कहाँ सजिलो छ र ?
अपहृत मधेशी साथीहरू सम्पर्कमा हुनुहुन्छ
भारतमा मुसा बनेर कसरी पसे विदेशी