रुकुममा महिलामाथि नगर प्रहरीको लाठी, नेपाल प्रहरी साक्षी

रुकुममा महिलामाथि नगर प्रहरीको लाठी, नेपाल प्रहरी साक्षी

जेठ १ गते बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कार्यालय परिसर भित्र एक महिला निर्धात कुटिएको तथ्य करिब २ महिना पछि खुल्न आएको छ । सामाजिक संजालमा मंगलबार रातिबाट भाईरल भएको उक्त भिडियोले नगर प्रहरीको दादागिरी र नगर प्रहरी सामु नेपाल प्रहरीको निहिकता उजागर गरेको छ ।

घटनाको वास्तविकता यस्तो हो- आठबिसकोट नगरपालिका वडा नं. ९ घर भएकि र कुटपिटमा परेकि २१ बर्षिय निज नेहा बिष्टको घर ईलाका प्रहरी कार्यालय आठबिसकोटको मुन्तिर बगरछेउमा रहेको छ । बेला बेला मादक पदार्थ खाएर अश्लिल बोल्ने र छाडा व्यबहार प्रदर्शन गर्ने उनको शैलीले स्थानीय र प्रहरी समेत आजित भएका थिए । निज महिलाको घर नजिकै भेरि नदि रहेको छ र त्यहाँ जाजरकोटतर्फ जानलाई झोलुंगे पुल रहेको छ । पुल नजिकमा नगरपालिकाले कोरोना भाईरस परिक्षण, संक्रमण तथा नियन्त्रणका लागि हेल्थ डेस्क संचालन गरेको थियो । डेस्कमा केहि स्वास्थ्यकर्मी र नेपाल प्रहरी खटिएका थिए ।

मादक पदार्थ सेवन गरेर पुल पारीबाट आएकि नेहाले तथानाम अश्लिल शब्द बोल्दै गालीगलौज गरिरहेकि थिईन् । डेस्कमा रहेकि स्वास्थ्यकर्मी डोल्मा मल्ललाई गालिन्, त्यहाँका प्रहरीमाथी ढुंगामुढा गरिन । उनको यस्तो बानीबारे जानकार रहेको प्रहरीले उनलाई छोपेर नियन्त्रणमा लिने र रक्सिले छोडेपछि आवश्यक कारबाहि गर्नेगरी तयारी गरेको थियो । त्यहाँ रहेको नेपाल प्रहरीसँग महिला प्रहरी थिएनन् । नगरप्रहरीमा एक जना महिला प्रहरी जवान थिईन्, निर्मला बि.क. । उनैलाई बोलाएर ईलाका प्रहरी कार्यालयबाट ५ जना थप प्रहरी लिएर हेल्प डेस्क भएको स्थानमा प्रहरी गएको थियो । त्यहाँबाट नगर अस्पतालमा लिई स्वास्थ्य परिक्षण गरेपछि नगरपालिकामा लगिएको थियो ।

स्वास्थ्य परिक्षणपछि निर्धात कुटियो

हेल्प डेस्क रहेको स्थानबाट नगर अस्पतालसम्म बल्लतल्ल नगर प्रहरी र नेपाल प्रहरीले उनलाई लगेको थियो । बाटोमा रहेको बिच बजारमा उनले बोलेका अश्लिल शब्द, गालीगलौज, कपडा च्यात्ने सम्मका हर्कत असामान्य थिए । नगरपालिकामा रहेको नगरप्रहरी उपशाखामा समेत उनले त्यस्तै हर्कत गरेपछि निर्घात कुटपिटमा परेकि हुन् । उनलाई निर्धात कुटिएको भिडियोबाटै प्रष्ट हुन्छ । कुट्दै गर्दा नगरका एक जना प्रहरी जवानले समेत उक्त भिडियो मोबाईलमा कैद गरेका थिए ।

स्वाथ्यकर्मी र प्रहरीलाई दुव्र्यहार गरेको आरोप लागेकि महिलामाथि नगरपालिका भित्रै निर्घात कुटपिट भएपछि त्यसको चौतर्फि बिरोध भएको छ । बिरोधपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र आठबिसकोट नगरपालिले छुट्टाछुट्टै बिज्ञप्ती निकालेर घटनाको छानबिन सुरु गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीका अनुसार, प्रहरीले आन्तरिक कारबाहि सुरु गरेको छ । घटनाको सत्थ तथ्य बुझ्न समिति गठन गरेर कारबाहि अगाडि बढाईएको र घटनामा संलग्न नगर प्रहरी निर्मला बि.क.लाई निलम्बन गरिएको डिएसपी केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कविराज रोकायको नेतृत्वमा सत्य तथ्य बुझ्न एक समिति गठन गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी हवल्दार पृथ्वी आग्री अहिले नेपालगंजमा उपचारत छन् । उनी मोटरसाईकल दुर्घटनामा परेका थिए ।
आठबिसकोट नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ध्रुव प्रसाद लम्सालले नियन्त्रणमा लिने क्रममा गलत कार्य भएको स्विकार गरेका छन् । उनले बिज्ञप्तीमा असामान्य अवस्था नियन्त्रणमा लिने क्रममा गलत कार्य भएकोले उक्त घटना उपर अनुसन्धान थालिएको बताएका छन् ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ । पिट्ने क्रममा नेपाल प्रहरीले समात्ने, महिलाको शरिरमा पानी खन्याउने, अपशब्द बोल्ने लगायतका कार्य गरेको देखिन्छ । निर्मलाले नेहा माथी लाठि बर्षाउदै गर्दा नेपाल प्रहरीका हवल्दार पृथ्वी आग्री र प्रहरी जवान शक्ति परियारले पानी खन्याएको, बिचमा हानेको, समातेर कुट्न सहयोग गरेको देखिन्छ ।

टिप्पणीहरू