सरिताको सधैं सन्किने स्वभाव

सरिताको सधैं सन्किने स्वभाव

शेरबहादुरले प्रधानमन्त्रीका प्रेस सल्लाहकार जेपी गुप्ता आनन्दलाई सरिताका लागि सञ्चारअन्तर्गत राम्रो काम मिलाइदिन अनुरोध गरे ।

एउटी समाचारवाचिकालाई महत्वाकांक्षाले राष्ट्रिय राजनीतिमा उकालो चढाउँदै लैजान्छ । र, प्रकारान्तरमा राष्ट्रिय स्वाधीनताको मुद्दामा उनी विभाजित हुन्छिन् । राष्ट्रिय राजनीति उनका कारण तरंगित हुन्छ ।

उनै सरिता गिरीको प्रसंग हो यो ।

बिहारको गोपालगञ्जमा जन्मिएकी उनलाई कसै–कसैले रामनगर स्टेटकी बासिन्दा पनि भन्छन् । तर, उनी अपमानजनक सुगौली सन्धि भएको ठाउँनजिकै रामनगर स्टेटकी नभएर बिहारको राजधानी पटनानजिक गोपालगञ्जस्थित एक शिक्षित परिवारकी छोरी हुन् । उनका बुबा बिहारको न्यायसेवामा कहलिएका विद्वान हुन् ।

नेपाली कांग्रेसका वैचारिक नेता तथा सांसद प्रदीप गिरीका भाइ लक्ष्मण गिरी सडक विभागमा सिनियर इञ्जिनियर थिए । सरिताले लक्ष्मणसँग विवाह गरेपछि बुहारी बनेर नेपाल भित्रिएकी हुन् । पति लक्ष्मणको केही वर्षअघि निधन भयो ।

राजनीतिसँग जोडिएको, आर्थिक हैसियत पनि राम्रै भएको परिवारमा भित्रिएकी सरिता आफ्नो ज्ञान र सीपलाई सार्वजनिक जीवनमा उपयोग गर्न पहिलादेखि नै लालायित थिइन् ।

त्यसैले ०४७ तिरै विभिन्न करिअर खोज्दै काठमाडौं छिरिन् ।

०४८ मा शेरबहादुर देउवा गृहमन्त्री भएपछि देउवासँग उनको राम्रो मित्रता थियो ।

नेपाली, हिन्दी र अंग्रेजी राम्रो बोल्थिन् ।

उनको बोलिमा शेरबहादुर साँच्चै नै लोभ्भिएका थिए ।

त्यसबेला सञ्चार मन्त्रालयका सचिव घनानाथ ओझा । चिरञ्जीवी वाग्ले सञ्चारमन्त्री । तर, शेरबहादुरले प्रधानमन्त्रीका प्रेस सल्लाहकार जेपी गुप्ता आनन्दलाई सरिताका लागि सञ्चारअन्तर्गत राम्रो काम मिलाइदिन अनुरोध गरे ।

अनुहारकी पनि राम्री । यसकारण नेपाल टेलिभिजनमा अंग्रेजी समाचार पढ्न सुहाउने खालकी छन् भन्ने शेरबहादुरको सिफारिस थियो । तर,राम्री हुँदैमा टेलिभिजन स्क्रिनमा कोही समाचारवाचिका बनिहाल्न सक्दैन ।

त्यसैले जेपीले सचिव घनानाथसँग सल्लाह गरे । हिन्दी राम्रो बोल्ने मान्छेको खाँचो थियो, रेडियो नेपालमा । किनभने, त्यसबेला विभिन्न भाषाभाषीका समाचार प्रशारण गर्ने तयारी भइरहेको थियो ।

यस प्रकार, रेडियो नेपालकी पहिलो हिन्दी समाचारवाचिकाको जागिरे भइन्, सरिता । ०५१ को चुनावमा रेडियोको जागिरबाट राजीनामा दिइन् । र, नेपाली कांग्रेस प्रवेश गरिन् ।

त्यसबेला मनमोहन भट्टराई, ढुण्डीराज शास्त्रीजस्ता रसिक नेताको वरिपरि भेटिन्थिइन्, सरिता । सरिताको इच्छा थियो, कांग्रेसले चुनाव उठ्नलाई टिकट दियोस् भन्ने । तर, जेठाजु प्रदीप गिरीले नै सिराहाबाट दोहोर्याएर टिकट पाए । जेठाजु र बुहारी एउटै जिल्लाका भएर पनि हुनसक्छ, सरिताको पालो आउन सजिलो थिएन ।

त्यसपछि नेपाल सद्भावना पार्टीमा प्रवेश गरिन् । गजेन्द्रनारायण सिंहले टिकट दिए । तर, पहिलो चुनावमा जमानत जफत भयो । त्यसपछि गजेन्द्रपत्नी आनन्दीदेवीसँग नजिक भइन् ।

संविधानसभाको दोस्रो चुनावमा पर्साबाट लड्दा करिव २ सय भोट ल्याइन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला समानुपातिकबाट संविधानसभामा थिइन् । सद्भावना (आनन्दीदेवी) की एक मात्र सदस्यको हैसियतमा । बाबुरामलाई प्रभावमा पारेर श्रममन्त्री बनिन् । तर, मान्छे विदेश पठाउने नियमावलीमा मतभिन्नता भयो ।

मतभिन्नता यति चर्को कि, उनले बाबुरामको आलोचना नै गरिन् । र, मन्त्रीबाट बर्खास्त भइन् ।

त्यसपछि अनिल झासँग तालमेल गरिन् । गजेन्द्रनारायण सिंहको चुनाव चिह्न पञ्जा उनीसँग । अनिल झासँग खटपट भएपछि त्यो विलय अवैधानिक हो भनेर निर्वाचन आयोगमा मुद्दा हालिन् । आयोगले अनिलको पक्षमा फैसला गरिदियो ।

दोस्रो संविधानसभा निर्वाचनमा सरिता अलग्गै पार्टी बनाएर, तर चुनाव चिह्न पञ्जामै सहभागी हुन खोजिन् । तर, निर्वाचन आयोगले उक्त चुनाव चिह्न अनिलकै पार्टीमा कायम हुने फैसला गरिदियो ।

०७४ मा उपेन्द्र यादवको पार्टीमा गइन् र समानुपातिक सांसद भइन् । उनै सरिता अहिले लिपुलेक भारतीय भूमि नै हो भन्दै वकालत गरिरहेकी छन् । नेपाली समुदायबीच आलोचनाको केन्द्र बनेकी छन् ।

संविधानको अनुसूचीमा नेपालको नक्सा अनुमोदन गराउन सरकारले पेश गरेको विधेयक प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुनुअघि विरोधको सूचना दर्ज गरिन् ।

तर, पार्टीले उक्त सूचना तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।

टिप्पणीहरू