यस्तो थियो अनुमान, अब यस्तो हुनेछ

यस्तो थियो अनुमान, अब यस्तो हुनेछ

स्वास्थ्य मन्त्रालय कूल जनसंख्याको ०.०५ प्रतिशत अर्थात् एक लाख पचास हजारको पीसीआर परीक्षण गर्नुपर्ने निश्कर्ष निकाल्दै थियो ।

लकडाउन शुरुताका सरकारले कोरोना संक्रमितमध्ये बढीमा पन्ध्रसय मानिस सिकिस्त हुनसक्ने अनुमान गरेको थियो । पछिल्लो दिनमा नेपाली सेना र सीसीएमसीले कम्तिमा पाँच हजार मानिस सिकिस्त हुनसक्ने आँकलन गरेको छ ।

स्वास्थ्य मन्त्रालय कूल जनसंख्याको ०.०५ प्रतिशत अर्थात् एकलाख पचास हजारको पीसीआर परीक्षण गर्नुपर्ने निश्कर्ष निकाल्दै थियो । तर, प्रधानमन्त्रीको सोमबारको सम्बोधनमा २ प्रतिशत जनसंख्याको परीक्षण गर्ने उल्लेख भएपछि मन्त्रालय अलमलमा परेको छ । अब छ लाख नेपालीको पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।

सरकारले छ लाखको परीक्षण गर्ने भनेको हो, उपचार गर्ने भनेको होइन । संक्रमितको संख्या ह्वात्तै बढेर एकाध हजार पुग्यो भने, सरकारले सिकिस्त बिरामी बाहेकलाई घरमै आरामको लागि आह्वान गर्नसक्ने स्रोतले बताएको छ ।

जनस्वास्थ्यविद्हरुका अनुसार नेपालका अधिकांश संक्रमितमा विश्वका अन्य मुलुकका बिरामीमा झैं कुनैपनि लक्षण देखिएको छैन । परीक्षण गर्दा मात्र पोजिटिभ देखिएको हो । रुघा,खोकी,उच्चज्वरो नदेखिएकाले  दैनिकीमा पनि परिवर्तन आएको छैन । मृत्यु भएका चारजनाको मेडिकल हिस्ट्रीले अन्य रोगले गाँजेका र कमजोर स्वास्थ्य भएकालाई मात्र च्याप्ने पुष्टि भएको छ ।

सरकारले आवश्यक सबै स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताएको छ । थपका लागि खरिद प्रक्रिया पनि अघि बढाएको छ । यतिखेर सरकारसँग ७० हजार थान पीसीआर परीक्षण किट छ । संक्रमितको संख्या दुईहजार नपुगुञ्जेल अहिलेको भौतिक व्यवस्थापनले थेग्ने आँकलन गरिएको छ । त्यो भन्दा बढ्यो भने सिकिस्तलाई अस्पताल र सामान्य संक्रमितलाई घरमै सुरक्षितसँग बस्ने प्रबन्धको तयारी गरिएको छ ।

संक्रमण रोग विज्ञहरुका अनुसार कुनैपनि संक्रामक रोगको बिस्तार एउटा चरणमा उपल्लो तहमा पुग्छ । कोरोनाको बिस्तारले मुलुकमा अहिले लिएको पनि त्यहि रुप हो । समाजमा अत्यधिक संक्रमण भएपछि स्वतः रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने उनीहरु बताउँछन् । युरोप, अमेरिकालगायतका मुलकमा अत्यधिक संक्रमितपछि देखिएको घट्दो अवस्था त्यसैको परिणाम हो ।

विज्ञहरुसँगको छलफलपछि हाम्रो सन्दर्भमा पनि उक्त चरण देखिन लागेकोले उच्चजोखिम बाहेकका क्षेत्रमा बिस्तारै जनजीवन सामान्य बनाइने बताइएको छ । सम्भवतः आगामी बुधबारदेखि लकडाउनको स्वरुपमा सामान्य खुकुलोपन देखिने छ ।

काठमाडौं उपत्यकालगायत ठूला शहर र क्षेत्रका सार्वजनिक यातायात र भीड हुने स्थानमा केही समय रोक लगाइने छ । विद्यालय, कलेज, ठूला सपिङ्ग मल, होटल,सिनेमा, रेष्टुराँ, व्यायामशाला भने संक्रमणको जोखिम कम भएपछि मात्र खुल्नेछन् । आगामी बुधबारदेखि सामाजिक दूरी कायम गरेर साना पसल,सरकारी तथा निजी कार्यालय र साना सवारी साधनलाई आंशिक मात्रामा खुलाउने सम्भावना देखिएको छ ।

हुन पनि बोर्डर ह्वाङ्गै खोलेर राजधानीलाई मात्रै टाइट गर्नुको पनि खासै अर्थ नहुने बताइन्छ !

सरकारले छ लाखको परीक्षण गर्ने भनेको हो, उपचार गर्ने भनेको होइन ।

टिप्पणीहरू