सेनापति स्वयंका पछाडि सुराकी

सेनापति स्वयंका पछाडि सुराकी

गुप्तचरीबाट अरु बच्ने कुरा त भएन तर स्वयं सुरक्षा निकायको प्रमुखचाहिँ बच्लान् भन्ने विश्वास गरिन्छ । अब यस्तो विश्वास नगर्दा हुने भयो । किनभने, प्रधानसेनापतिमाथि सुराकी गर्दा दुई गुप्तचरले सैनिक प्रहरीको हिरासतमा रात काट्नुपरेको छ ।

अमेरिका जानुअघि सेनापति प्रभुराम शर्मा कहाँ–कहाँ जान्छन्, उनलाई क–कसले भेट्छन् भन्ने कुराको सूचना संकलन गर्ने क्रममा सेना र अनुसन्धान विभागका एक–एकजना हवल्दारले हिरासत जानु परेको हो । प्रभुराम जेठ ३१ गते साँझ ८ बजे झम्सिखेलस्थित सरकारी आवास शशीभवनमा फर्किने क्रममा गुप्तचरको फेला परेका थिए ।

उनी बिना बर्दी र बिना सरकारी प्लेटको गाडीमा कोटेश्वर पुगी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर फर्किंदै थिए । गुप्तचरहरू साँझ ५ बजेदेखि नै कोटेश्वरमा तैनाथ रहेछन् । साँझ ८ बजे उनी पुल्चोकबाट झम्सिखेलतिर लाग्दै गर्दा सुरक्षार्थ साथमै रहने अगुवा–पछुवा टोलीलाई शंका लाग्यो, ‘यिनी को हुन् ?’ भनेर ।

जो भए पनि तीन घण्टादेखि प्रधानसेनापतिको पछि लाग्ने मान्छे सही नियतका पक्कै हैनन् भन्ने निचोडमा अंगरक्षकहरू पुगिसकेका थिए । त्यसैले प्रभुराम सवार गाडीको ५० मीटर पछाडिबाट सादा पोशाक र गाडीमा पछि लाग्ने टोलीले ती दुई व्यक्तिलाई नियन्त्रणमा लियो ।

उनीहरू बिनासोधपुछ सीधै सैनिक प्रहरीमा बुझाइए । त्यसपछि सोधपुछ हुँदा खुल्यो– एकजना थिए, राजेन्द्र श्रेष्ठ । उनी नेपाली सेनाकै गुप्तचरी विभाग (डिएमआई) का हवल्दार रहेछन् ।

अर्का थिए, छत्रबहादुर खड्का । अछामको मेल्लेख गाउँपालिका– ५ का छत्रबहादुर राष्ट्रिय अनुसन्धान विभागका सूचक (हवल्दार सरह) का कर्मचारी हुन् । उनको बसाइ ललितपुर, महालक्ष्मी मन्दिरनजिकै हुनाले उनलाई अफिसले त्यो काममा खटाएको रहेछ । भीम रावल गृहमन्त्री हुँदा ०६६ सालमा जागिरे भएका रहेछन् । सैनिक प्रहरीले नियन्त्रणमा लिएर रातभरि राख्ने क्रममा विभिन्न कोणबाट सोधपुछ गरेको थियो ।

उनीहरू अफिसले खटाएरै पछि लागेका हुन् वा कसैको उक्साहटमा ? भन्ने कुराको छानबिन गर्दा दुबै ड्युटीकै क्रममा रहेको बुझेपछि बिहान बल्ल छुटेका थिए । यसअघिका सेनापति पूर्णचन्द्र थापाले त झन् आफ्नै जर्नेलहरूको निगरानीका निम्ति प्रशस्तै जासुस छाडेको जंगी अड्डाका सबै उच्च ओहोदालाई थाहा छ ।

विभिन्न ओहोदावाल व्यक्तिको संवेदनशीलतालाई दृष्टिगत गर्दै राज्यका विभिन्न निकायले त्यस्ता व्यक्तिबारेको सूचना संकलन नियमित रुपमा गर्दछन् । ‘अण्डर कभर ड्युटी’, अर्थात् अदृश्य ढंगले परिचालित हुने यस्ता कर्मचारीलाई सुरक्षा निकायकै अर्काथरि कर्मचारीले पक्राउ र छानबिन गर्दा उनीहरू निरुत्साहित हुने अनुसन्धान विभागका एक हाकिमले बताएका छन् ।

‘उनीहरूलाई ठाउँको ठाउँ नै सोधेर, शंका निवारण भएपछि छाडेको भए हुन्थ्यो’, ती हाकिमले भने, ‘यसरी समातेर थुन्न थालेपछि भोलि अरु कर्मचारी कसरी ड्युटीमा जालान् ?’ यसबारे बुझ्न खोज्दा राअबि प्रमुख यदुलाल खरेलले विस्तृतमा सोधखोज गरेर जवाफ दिने बताए ।

टिप्पणीहरू